PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

घोपा बचाउ अभियान : काठमाडौंमा पनि सुरु भयो प्रदर्शन

घोपा बचाउ अभियान : काठमाडौंमा पनि सुरु भयो प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको बेथितीको विरुद्धमा प्रदर्शन गरिएको छ। यसअघि धरानमा सीमित विरोध प्रदर्शन आजदेखि काठमाडौंमा पनि सुरु भएको हो।

हामी नेपाल संस्थाको अगुवाईमा घोपा बचाउ अभियानको घोषणा गरी युवाले दिउँसो १ बजेदेखि माइतीघरमा विभिन्न मागहरु राख्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा बिरामीले बेड नपाएर भुईँमा उपचार भइरहेको तथा अपरेसनका लागि बिरामीले महिनौँ कुर्नुपर्ने र कुर्दाकुर्दै बिरामीको ज्यान नै खतरामा पर्ने अवस्था आएको आरोप लगाएका छन्।

त्यस्तै, सीटी स्क्यान, ल्याब टेस्ट गर्न अनावश्यक ढिलो समय दिइ रिपोर्टको लागि हप्तौँ कुर्नु परिरहेको, अव्यवस्थित व्यवस्थापनले गर्दा जता पनि लाइन बस्नु पर्ने बाध्यता रहेको, कमिसनको चक्करमा गुणस्तरहीन सामान खरिद गरी जनताको जीवन धरापमा पार्ने काम गरिएको बताइएको छ।

यसैगरी, एमआरआई जस्तो अत्यावश्यक मेसिन नहुँदा विराटनगर लगायत अन्यत्रको अस्पताल धाउनु परि बिरामीको समय र पैसा अनावश्यक खर्च भएको, प्रशासन तहदेखि माथिल्लो तहसम्मको भ्रष्टाचार र राजनीतिकरण भएको, उचित फोहोर विसर्जन प्रणाली नभएको कारणले समग्र धरानवासीको स्वास्थ्यमा खेलवाड गरेको, अस्पतालको फार्मेसीमा औषधि नहुँदा बिरामीहरु बाहिरबाट महँगो शुल्कमा औषधि किन्नुपर्ने बाध्यता रहेको प्रदर्शनकारीहरुको गुनासो छ।

आइसीयू बेड नपाउँदा धेरैले आफ्नो परिवारका सदस्य गुमाउनु पर्ने अवस्था रहेको तथा कर्मचारी तहदेखि उच्च कार्यकारी निकायसम्म भर्ती गर्दा उचित दिशानिर्देशहरु पालना नगरेको र अति राजनीति घुसाएको प्रदर्शनरत युवाको आरोप छ।

उनीहरुले समस्याहरु समाधान गर्नको लागि आवश्यक सम्बोधन तुरुन्त गर्न माग गरेको छन्।

विगत लामो समयदेखि भइरहेको बेथिती बारेमा उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषी कर्मचारी तथा पदाधिकारीहरुमाथि कारबाही गर्नुपर्ने, वैकुण्ठ अर्यालको नेतृत्वमा तयार गरिएको समस्या पहिचान तथा छानबिन कार्यदलको प्रतिवेदन तुरुन्त लागू गर्नुपर्ने, खरिद तथा टेन्डर प्रक्रिया पारदर्शी ढंगले गरी सम्पूर्ण विवरण वेबसाइटमा राख्ने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।

अन्यथा जिम्मेवारी लिएर बसेका पदाधिकारीहरुले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनीहरुले बताएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell