PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

कर्णाली प्रदेशमा अघिल्लो स्थानीय तहको निर्वाचनमा कुन दल कति शक्तिशाली?



पी बी खड्का

कर्णाली प्रदेशमा अघिल्लो स्थानीय तहको निर्वाचनमा कुन दल कति शक्तिशाली?

सुर्खेत : कर्णालीमा क्रियाशिल राजनीतिक दलहरु आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत बनेका छन्। सरकारले निर्वाचनको तयारीलाई तीव्रता दिएसँगै राजनीतिक दलहरु पनि सक्रिय बनेका हुन्।

आगामी निर्वाचनमा पहिलो दल बन्ने प्रमुख चार राजनीतिक शक्तिहरुको आ-आफ्नै दावी छ। राजनीतिक दलहरु जनतालाई आफ्नो पक्षमा तान्न घरदैलोमा छन् भने पार्टी प्रवेश गराउने लहर पनि बढ्दो छ।

अघिल्लो स्थानीय तहको निर्वाचनलाई हेर्दा पहिलो शक्ति बनेको एमाले आगामी बैशाख ३० गते हुने निर्वाचनमा कुन बरियता ओगट्ला? पहिलो शक्तिमै कायम रहला या ओरालो लाग्ने हो भन्ने सबैको चासोको विषय बनेको छ।

पार्टी टुक्रिएपछि एमालेलाई ठूलो धक्का लागेको छ। संघ र प्रदेश सरकारको नेतृत्वबाट क्लिनस्वीप भएको एमाले स्थानीय तहमा कुन हैसियत रहला भन्ने विषय अहिले चर्चामा छ।

अहिले कर्णालीमा विशेषगरी सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गर्ने चर्चा भइरहेको छ भने सुर्खेतसहित कतिपय जिल्लामा गठबन्धन गर्ने निर्णय समेत गरिसकेका छन्।

निर्वाचनमा टिकट पाउने प्रलोभनमा अहिले प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रका नेता तथा जनप्रतिनिधिहरु नै दल फेरबदल गर्ने होडमा छन्।

अघिल्लो निर्वाचनमा कुन दल बलियो?

यसअघि २०७४ मा भएको स्थानीय तहको निर्वाचन फर्केर हेर्दा कर्णालीमा एमालेको दबदवा देखिन्छ। कर्णालीमा ७९ स्थानीय तहमध्ये एमालेले २७ वटा पालिका प्रमुख र ३१ उपप्रमुखसहित एक हजार चार सय तीन पदमा जितसहित पहिलो शक्तिका रुपमा देखा परेको थियो।

यता माओवादी केन्द्र पनि दोस्रो दलको बरियतामा थियो। माओवादीले २५ पालिकाको प्रमुख र २६ उपप्रमुखसहित एक हजार एक सय ४४ पदमा जितेको थियो।

कांग्रेस भने कर्णालीमा तेस्रो बरियतामा चित्त बुझाउनु परेको थियो। कांग्रेसले २५ पालिकाको प्रमुख र १६ उपप्रमुखसहित एक हजार २० पद जित हात पारेको थियो।

पार्टी फुटेसँगै सल्यान, दैलेख, सुर्खेत, कालिकोट, जुम्ला र डोल्पामा एमालेलाई आशंकित बनाएको छ। सोही अनुसार एमालेले आन्तरिक गृहकार्य गरिरहेको छ भने, कांग्रेस, माओवादी र एकीकृत समाजवादी भने गठबन्धनको गाँठो कस्ने दाउमा छन्।

यसअघिको चुनावको यस्तो छ मतपरिणाम

प्रदेशको राजधानी भएकाले पनि सुर्खेतमा सबैको ध्यान केन्द्रीत छ। २०७४ मा भएको निर्वाचनमा सुर्खेतमा नेपाली कांग्रेसको दबदवा रह्यो। सुर्खेतका नौ स्थानीय तहमध्ये कांग्रेस एक्लैले ६ वटा स्थानीय तहको प्रमुख र पाँच स्थानीय तहमा उप्रमुख जित हात पारेको थियो।

यता, एमालेले तीन स्थानीय तहमा प्रमुख र चार स्थानीय तहमा उपप्रमुखमा चित्त बुझाएको थियो। माओवादी केन्द्रले भने कुनै पनि स्थानीय तहको प्रमुख एवं उपप्रमुखमा जित हात पार्न सकेन।

त्यस्तै, अघिल्लो निर्वाचनमा सल्यानका दश वटा स्थानीय तहमध्ये माओवादीले तीन पालिकाको प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्षसहित एक सय ८३ पद आफ्नो पोल्टा पार्दै पहिलो बनेको थियो।

एमालेले चार पालिका प्रमुख, तीन उपप्रमुख र २७ वडाध्यक्षसहित एक सय ५१ पद जितेको थियो। कांग्रेसले तीन पालिका प्रमुख, तीन उपप्रमुख र २३ वडाध्यक्ष सहित एक सय १२ पद जितेको थियो।

सात स्थानीय तह रहेको जाजरकोटमा एमालेले तीन पालिका प्रमुख, तीन उपप्रमुख र २९ वडाध्यक्षसहित एक सय ५० पद जितेको थियो। कांग्रेसले दुई पालिकाको प्रमुख, एक उपप्रमुख र २५ वडाध्यक्षसहित एक सय २६ पद जितेको थियो। माओवादी केन्द्रले दुई पालिका प्रमुख, तीन उपप्रमुख र २३ वडाध्यक्षसहित एक सय ३९ पदमा चित्त बझाएको थियो।

त्यसैगरी, ६ वटा स्थानीय तह रहेको रुकुमपश्चिममा माओवादीले क्लिनस्वीप गरेको थियो। ६ वटै पालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस र एमालेले एउटा पद पनि जित्न सकेन। माओवादी केन्द्रको पकेट क्षेत्र मानिएको रुकुमपश्चिममा यसपटक पनि क्लिनस्वीप गर्ने माओवादी केन्द्रको दावी छ।

यता, ११ वटा स्थानीय तह रहेको दैलेखमा अघिल्लो निर्वाचनमा एमाले पहिलो शक्ति बनेको थियो। एमालेले सात पालिकाको प्रमुख/उपप्रमुखसहित ५२ वडाध्यक्ष जितेको थियो भने दुई सय ९० पदमा जित हासिल गरेको थियो।

अन्य चार पालिकाको प्रमुख/उपप्रमुख र ३३ वडाध्यक्षसहित कांग्रेसले एक सय ८४ पदमा जित हासिल गरेको थियो भने माओवादी केन्द्रले एउटा वडासदस्यमा चित्त बुझाएको थियो।

माओवादी केन्द्रको अर्को आधार इलाका हो कालिकोट। अघिल्लो निर्वाचनमा पनि कालिकाटका नौ स्थानीय तहमध्ये पाँच पालिका प्रमुख र ६ उपप्रमुख तथा ३४ वडाध्यक्षसहित एक सय ९२ पद जितेर पहिलो दलको बरियताबाट कांग्रेस र एमालेलाई पाखा लगाएको थियो। एमालेले तीन पालिकाको प्रमुख/उपप्रमुख र २५ वडाध्यक्षसहित एक सय ४४ पद जितेको थियो। कांग्रेसले भने एउटा पालिका प्रमुख र १६ वडाध्यक्षसहित ८० पदमा चित्त बुझाएको थियो।

जुम्लामा पनि माओवादी केन्द्र पहिलो शक्तिका रुपमा थियो। आठ स्थानीय तह रहेको जुम्लामा तीन पालिका प्रमुख र चार उपप्रमुख तथा २५ वडाध्यक्षसहित एक सय २१ पद जितेको थियो। कांग्रेसले चार पालिकाको प्रमुख, दुई उपप्रमुख र १५ वडाध्यक्षसहित ७६ पदमा जितेको थियो। एमालेले एक पालिकाको प्रमुख/उपप्रमुख र १७ वडाध्यक्षसहित ९५ पदमा चित्त बुझाएको थियो।

त्यस्तै, चार स्थानीय तह रहेको मुगुमा कांग्रेसले तीन पालिकाको प्रमुख र १६ वडाध्यक्षसहित ७५ पद जितेको थियो। एमालेले एक पालिका प्रमुख, चार उपप्रमुख र २१ वडाध्यक्षसहित एक सय २४ पद जितेको हो। माओवादी केन्द्रले सात वडाअध्यसहित ३६ पदमा चित्त बुझाएको थियो।

उता, सात स्थानीय तह रहेको हुम्लामा पनि माओेवादीले चार पालिकाको अध्यक्ष, एक उपप्रमुख र १८ वडाध्यक्षसहित एक सय पदमा जित हात पारेको थियो। कांग्रेसले दुई पालिका प्रमुख, एक उपप्रमुख र ११ वडाध्यक्षसहित ७६ पद जितेको थियो। एमालेले एक पालिकाको अध्यक्ष, तीन उपाध्यक्ष र १० वडाध्यक्षसहित ५० पदमा चित्त बुझाएको थियो।

डोल्पामा भने एमालेले चार पालिकाको प्रमुख, तीन उपप्रमुख र ४३ वडाध्यक्षसहित दुई सय १३ पद जित्दै पहिलो शक्ति बनेको थियो। माओवादी केन्द्रले दुई पालिकाको प्रमुख, एक उपप्रमुख र ११ वडाध्यक्षसहित ५९ पद जितेको थियो भने कांग्रेसले पाँच वडाध्यक्षसहित २२ पदमा चित्त बुझायो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई पालिकाको उपप्रमुखसहित २० पद जित्यो भने दुई पालिकाको प्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेद्वारले जित हात पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell