PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

भरतपुरमा साइक्लिङ म्याराथनको उद्घाटन गर्दै प्रचण्डले भने : पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी



रासस

भरतपुरमा साइक्लिङ म्याराथनको उद्घाटन गर्दै प्रचण्डले भने : पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी
फोटोहरु : रत्न श्रेष्ठ/रासस

चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताएका छन्। प्रज्ञा-स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशले आज यहाँ आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै उपयोगी भएको चर्चा गरेका हुन्।

यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, ‘देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ। पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ।’

खेलकुदमन्त्रीको समेत उपस्थिति रहेको कार्यक्रमले आधिकारिकता र वैधानिकता पनि स्थापित गरेको भन्दै उनले सहभागी सबैलाई शुभकामना व्यक्त गरे। अध्यक्ष दाहालले आज बिहान नारायणी किनारमा म्याराथन शुभारम्भ गरेका हुन्।

प्रतियोगिता संयोजक शन्तकुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको बताए। इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन्।
 
प्रथम हुने १९ वर्षमाथिका महिला तथा पुरुषलाई ४५ हजार रुपैयाँका दरले, ३० वर्षमाथिको विधामा २५ हजार रुपैयाँ, ५० वर्षमाथिको विधामा २० हजार रुपैयाँ र चितवन स्पेशल विधामा महिला तथा पुरुषलाई २०/२० हजार रुपैयाँका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ। प्रतियोगितामा १०औँ स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ।

भरतपुर महानगरमा निर्माणाधीन रिङरोडसहित सडक आयोजना  साइकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमासमेत टेवा पुर्‍याउने उद्देश्यले साइकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ थियो।

करिब दुई घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दुरी पार गर्नुपर्ने व्यवस्था गरिएको छ। नारायणी नदी तिरबाट सुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, र्‍यालीसहित पुनः नारायणी तिरमा आइ समापन हुनेछ। क्यान्सर पीडितलाई सहयोग गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विजेता खेलाडीलाई नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र वितरण गरिनेछ। विभिन्न व्यक्तिलाई सम्मान पनि गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा काठमाडौंसहित हेडौँटा, पोखरा, बारा, पर्सा, एपीएफको  समेत सहभागिता रहेको छ। अध्यक्ष प्रचण्डकी छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधनपछि उनीहरुको स्मृतिमा प्रतिष्ठान बनाइएको महानगर प्रमुख रेनु दाहालले बताइन्।

शोकलाई शक्तिमा बदल्दै समाजसेवामा लगाउन प्रतिष्ठान स्थापना भएको र यो पहिलो औपचारिक कार्यक्रम भएकोसमेत उनको भनाइ थियो। भरतपुरको रिङरोड अहिले ६६ किमी रहे पनि चाँडै ८८ किमी रिङरोडमा म्याराथन हुने महानगर प्रमुख दाहालले बताइन्। खेल पर्यटन विकासका लागि म्याराथन आयोजना गरिएको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell