PahiloPost

Jun 1, 2024 | १९ जेठ २०८१

हुलाक टिकट बटुल्दै सुरु भएको शंकर श्रेष्ठको यात्रा, मल्लकालीन मुद्रा संकलित किताब लोकार्पण



पहिलोपोस्ट

हुलाक टिकट बटुल्दै सुरु भएको शंकर श्रेष्ठको यात्रा, मल्लकालीन मुद्रा संकलित किताब लोकार्पण

काठमाडौं : सानो छँदा नै शंकर श्रेष्ठलाई हुलाक टिकट संकलन गर्ने सोख थियो। जैशीदेवलमा घर भएका उनले आफ्नो रुची अनुसार नै हुलाक टिकट बटुल्न थाले। हुलाकमा रहेका तस्विरले उनलाई आकर्षित गर्थ्यो। यस्तै यसको प्रयोग किन हुन्छ भनेर जान्ने कौतुहल्ता बेग्लै। मार्गदर्शन गर्ने कोही थिएन। आफै जानीनजानी हुलाक टिकट संकलन गर्न थाले।

पछि यही संकलन कार्यलाई उनले निरन्तरता दिए। आफ्नो संकलनलाई हुलाक टिकटमा मात्रै निर्भर गराएनन् उनले। नेपालका प्राचीन मुद्राहरुका बारेमा पनि सोधखोज गर्न थाले। अनुसन्धनकै क्रममा उनी हुलाक टिकट र मुद्रा संकलन संघको सदस्य पनि बने।

दुई वर्ष अघि। कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्ने भन्दै सरकारले लकडाउन घोषणा गर्‍यो। करोडौं नागरिकसँगै श्रेष्ठ पनि घरमै थुनिए। यही समयलाई भने उनले आफ्नो सोखलाई निखार्ने अवसर बनाए। नेपालका मल्लकालीन मुद्राहरुका बारेमा अध्ययन थाले। मुद्रा संकलकहरु भवनेश कुमार प्रधान, दिनेबहादुर सिंह लगायतसँग भएका मल्लकालीन मुद्राहरुको तस्विर झिकाए। द क्वाइनेज अफ नेपाल नामक किताब लगायतका स्रोतबाट पनि उनले मुद्राको अध्ययन गरे। त्यसको टिपोट गर्न थाले। यस्तै, लकडाउन खुकुलो भएसँगै उनी छाउनीमा रहेको राष्ट्रिय मुद्रा संग्रहालय पनि पुगे। त्यहाँ रहेका मल्लकालनी मुद्राहरुको तस्विर उतारेर अध्ययन थाले।

कोरोनाकालमा आफूले गरेको अध्ययनलाई श्रेष्ठले किताबको रुप दिएका छन्। शनिवार कमल पोखरीस्थित अग्रवाल भवनमा आयोजित एक कार्यक्रममा लेखक तथा संकलक शंकर श्रेष्ठको किताब ‘नेपालका मल्लकालीन मुद्राहरु’ लोकार्पण गरियो।

श्रेष्ठ आफ्नो किताबमा करिब रत्‍न मल्लको समय देखि प्रचलनमा आएको मुद्राको इतिहास समेटिएको बताउँछन्। मल्ल राजाहरुको संक्षिप्त घटनावलीदेखि तत्कालीन भादगाउँ (भक्तपुर), पाटन र कान्तिपुर (काठमाडौं) का मल्ल राजाको चिनारी र उनीहरुका पालामा निष्काशन गरिएको मुद्राहरुको चित्र सहित विस्तृत विवरण किताबमा समावेश गरिएको छ।

श्रेष्ठका अनुसार मल्लकालमा रत्नमल्लले पहिलोपटक तामाको मुद्रा चलनचल्तीमा ल्याएका थिए। त्यसपछि आएका सबे मुद्राहरु चाँदीका थिए। श्रेष्ठ मल्लकालामा निष्कासन भएका मुद्राहरुमा विभिन्न कलाकृति, सांस्कृतिक धार्मिक वस्तु, लिपि, यन्त्रहरु प्रयोग भएको बताउँछन्। यी सबै कुराहरुलाई समेटेर उनले किताब निकालेका हुन्। मल्लकालीन मुद्राबारे अन्य किताबहरु रहे पनि यसरी विवेचना सहितको पुस्तक भने पहिलो भएको श्रेष्ठको दाबी छ।

श्रेष्ठ मल्लकालीन मुद्राहरु आफैमा सुन्दर रहेको बताउँछन्। हाल प्रचलित मुद्राहरु भन्दा मल्लाकालीन मुद्राहरु सुन्दर रहेको उनले बताए। मल्लकालका अहिलेको जस्तो प्रविधिको विकास नभए पनि त्यस्ता सिक्का निस्कनु अहिले हेर्दा असम्भव जस्तो देखिने उनी बताउँछन्।

‘प्रविधिको विकास नहुँदा पनि त्यसबेला जसप्रकारका सिक्काहरु चलनचल्तीमा आए ती सबै मन लोभ्याउने खालका छन्। अहिले प्रविधिको विकास भएको छ तर मुद्राहरु त्यो बेलाको भन्दा राम्रो हुन पर्ने तर अहिलेको सिक्का र हेरौं त,' उनले भने, 'बाहिरका सिक्का राम्रो छन्। तर हाम्रो देशका रहेका सिक्का अहिले त्यति राम्रो छैन। त्यसैले मल्लकालमा निस्किएका सिक्काको अध्ययन गर्दा त्यो बेला यस्तो सिक्का कसरी निस्किए, असम्भव नै थियो कि भन्ने लाग्दो रहेछ।’

श्रेष्ठले आफ्नो पुस्तक मुद्रा संकलक र इतिहासमा रुची राख्‍नेका लागि निकै उपयोगी हुने समेत बताए।

‘नव संकलनकर्ता र जो कोहिलाई केहि मार्गदर्शन होस भन्ने उद्धेश्यले पुस्तक प्रकाशन गरेका हौं। यो पुस्तक पहिलो हो जसले मुद्रा सम्बन्धि ज्ञानलाई थप फराकिलो बनाउनेछ। इतिहास र मुद्रामा चासो राख्नेका लागि यो पुस्तक थप रुचिकर हुनसक्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell