PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

जहाँ छन् लाखदेखि करोडौंसम्मका खानेपानी योजना, त्यहीँ छ पानीको दु:ख !



रिना थापा

जहाँ छन् लाखदेखि करोडौंसम्मका खानेपानी योजना, त्यहीँ छ पानीको दु:ख !
फोटो : श्याम राना मगर

पोखरा : सबेरै पानी बोक्न आधा घण्टा बढी उकालो र ओरालो गर्नुपर्ने। एक ग्रागी पिउने पानी भर्न घण्टौं लाइन बस्नुपर्ने बाध्यता। तत्कालीन माझठाना गाविस र कालिका गाविसका वासिन्दालाई पिउने पानीको हाहाकार थियो। पछि दुवै गाविस पोखरा महानगरपालिकामा गाभिए। गाउँका नागरिकलाई महानगरपालिकामा गाभिँदा घरमै सिंहदरबार आउँछ भन्ने आशा पलायो पनि। गाउँमा सिंहदरबारको रुपमा वडा कार्यालय पनि आयो। तत्कालीन गाविसले पोखरा महानगर वडा नम्बर २८ को रुपमा नयाँ परिचय पायो। तत्कालीन कालिका गाविसका वासिन्दा मानबहादुर जिसीले पोखरा महानगरपालिकाको नेतृत्व हाँक्ने भए। गाउँले सबै पायो तर, पिउने पानी पाएन।

एका बिहानै ग्रागी बोकेर गोमा तिमिल्सना घरबाट २० मिनेट तल ओर्लिछिन्। पानी लिन जति ढिलो पुग्यो त्यति लामो लाइनमा बस्नुपर्छ उनले। दैनिक घण्टौं लाइनमा बसेर उनले १०–१२ ग्रागी पानी बोक्छिन्। बोकेको पानी पनि अपुग। गोमासँगै पोखरा महानगरपालिका वडा २८ का वासिन्दाको साझा समस्या हो यो।

पिउनका लागि मात्र होइन, खाना बनाउन, सरसफाई लगायत अन्य प्रयोजनका लागि वडावासीले घण्टौं लाइन बसेर पानी बोक्नुपर्ने बाध्यता छ। वडा २८ को ओख्ले, आरुपाटा, डाँडा गाउँ, देउमाडी, माझठाना लगायतका अधिकांश भेगमा पानीको हाहाकार यस्तै छ।

घरबाट आधादेखि एकघण्टा दूरीसम्म रहेको मुल, कुवा र पानी ट्यांकी नै पानीको स्रोत हो उनीहरुका लागि। हिउँदको सुख्खा समयमा झन् हाहाकार हुन्छ पानीको। ‘पानीको साह्रै दु:ख छ। पिउने पानी पनि २० मिनेट तलबाट बोकेर ल्याउनुपर्छ,’ गोमाले भनिन्, ‘लुगा धुन नुहाउनको लागि गाह्रोको कुरै नगरौं।’

ओख्लेकी उनलाई एक ग्रागी पानी लिन २० मिनेट तल पर्ने पानी ट्यांकीमा झर्नुपर्छ। सो पानी ट्यांकीमा माझठाना, मैदानदेखि पानी लिनलाई आइपुग्छन् अरु पनि। पानी भर्ने लाइन उस्तै। गोमालाई माझठाना र मैदानका वासिन्दाको लेखाजोखामा पानी लिन छोटो समय लाग्छ। मैदानबाट पानी लिन झर्ने बासिन्दालाई आधा घण्टाभन्दा बढी समय लाग्छ।

पिउने पानीको अभाव भोगेका वासिन्दाले अन्य प्रयोजनका लागि पनि पानी पाउन उस्तै सकस छ। गाउँमा कतिले पानीको अभावकै कारण कुखुरा पालन व्यवसाय छाडे। गोमाले पनि केहीसमय अघिसम्म फार्ममा दुई हजार वटासम्म कुखुरा पालेकी थिइन्। अहिले पानी अभावले फार्ममा पाँच सयमात्र कुखुरा छन्।

‘मान्छेलाई पिउने पानी छैन, कुखुरा पालेकाले नि छाडिदिए। गाउँमा मैले नि अहिले घटाएर पाँच सयमात्र राखी छु,’ उनले सुनाइन्। ओख्लेमा करिब ६० बढी घरधुरी छन्। त्यी सबैको पानीको स्रोत एकै मुहान हो।

लक्ष्मी बास्तोला पनि घरबाट आधा घण्टा तल रहेको कुवामा पानी लिन झर्छिन्। ‘आधा घण्टा जति समय लाग्छ त्यहीँ पनि पानीको लाइनमा दुईघण्टा बढीसम्म लाइन बस्नुपर्छ,’ उनले सुनाइन्, ‘यता पानीको एकदम दु:ख छ। सकेकाले बोरिङको पानी प्रयोग गर्छन् तर सबैले किन्न सक्नुपर्‍यो।’अझ, अन्य समयभन्दा शनिबारको दिन पानीको मुहानमा बढी भिड हुन्छ। कहिलेकाहीँ त कपडा धुनका लागि पालो नै नआउने लक्ष्मी सुनाउँछिन्।

पानीको समस्या भोगिरहेको वडा २८ मा थाक खानेपानी योजना पुगेको थियो। योजनाले वडाको केही भेगमा पानीको त्यती हाहाकार थिएन। गाउँमा सडक पुग्यो। पुगेको सडकलाई फराकिलो बनाउने योजना दुईवर्ष अघि सरेको थियो। सडकको योजनाले थाक खानेपानीको पाइपमा क्षति पुर्‍यायो। थाकको पानीमा निर्भर भएका वासिन्दालाई क्षतिले मर्कामा पार्‍यो। वडामा थाक खोला पानीको योजना भए पनि त्यसबाट सबै भेगका वासिन्दा लाभाविन्त भने भएका थिएनन्। दुई वर्ष अघि नै पुगेको पानीको पाइपको क्षति मर्मत भने अहिलेसम्म भएको छैन।

आरुपाटाका स्थानीय श्रवण कुमार अधिकारी गुनासो गर्छन्, ‘ताल हेर्न डाँडामा भ्यू टावर बनाउँछन्। पानी ल्याउन सक्दैनन्। पानीको त विजोग छ नि हाम्रो वडामा। कुवामा लिन जान्छौं पानीको पाइप पनि लथालिंग छ।’

वडाको लाम्चे, सौर्य लगायत अन्य भेगमा पनि पानीको उस्तै समस्या छ। वडा २८ मै पर्ने कँडेल गाउँमा भने पानीको केही सुविधा पुगेको छ। केही व्यक्तिले पोखरा बजारबाट बोरिङको पानी मगाएर उपयोग गर्छन्। सम्भव नहुनेले घण्टौं लाइनमा बस्नुको विकल्प छैन।

पानीको हाहाकार भएको वडामा आठ खानेपानी योजना

वडामा खानेपानीको हाहाकार भएपनि खानेपानीको योजना भने प्रशस्त छन्। खानेपानी तथा सरसफाई इकाइ कार्यालय कास्कीले दिएको जानकारी अनुसार वडा २८ मा आठ खानेपानीको योजना छन्। जसमध्ये प्रादेशिक आयोजना अन्तर्गत लेखनाथ साना शहरी खानेपानी योजनाले वडा २८ र २६ लाई समेटेको छ। यसका लागि चालिस लाख रुपैयाँ बजेट छुट्टाइएको छ। यसबाहेक मर्मत गर्न रहेको थाक खानेपानी योजना बेग्लै हो। थाक खानेपानी योजना संघीय खानेपानी इकाइ अन्तर्गत पर्छ।

यस्तै, प्रादेशिक नयाँ योजना अन्तर्गत चार वटा योजना यसै वडामा पर्छन्। दश लाख लागत लाग्ने कोमलकट्टे खराने खानेपानी आयोजनाले वडा २८ लाई पनि समेटेको छ। यसबाहेक यो योजनाले वडा २६, २७ लाई समेटेको छ। इकाइ कार्यालय कास्कीका अनुसार यो योजनामा सर्भे सकिएको छ।

यस्तै, वडा २८ भित्र मात्र सुरु भएको अर्को आयोजना हो रोलाको खोला काफलघारी खानेपानी आयोजना। पाँच लाख रुपैयाँको योजना रहेको यसको मर्मत कार्य बाँकी रहेको कार्यालयले जानकारी दिएको छ। त्यस्तै, वडा २८ मै पाँच लाख रुपैँयामा भालुखोला लामिछाने गाउँ खानेपानी योजनाको सर्भे भएको छ।

रन्तशोभा खानेपानी योजना पनि छ यहीँ वडामा। जसको लागत दश लाख रुपैँया छ। इकाइ कार्यालय कास्कीका इन्जिनियर सञ्जय कोइरालाका अनुसार यस खानेपानी योजनामा पाइप बिछ्याउने काम सुरु भइसकेको छ।

वडाभित्र प्रशस्त खानेपानी योजना भए पनि स्थानीय वासिन्दालाई सुविधा मिलेको छैन। खानेपानीको योजना मात्र अघि सरेको हो। काम भने प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन। बजेट अभावका कारण योजनाका काम राम्रोसँग अगाडि बढ्न नसकेको इन्जिनियर कोइराला बताउँछन्। आठवटा खानेपानी योजना बाहेक पनि वडाबाट समेत विभिन्न योजना अघि सरेको छ।

‘पानीको स्रोतलाई व्यवस्थापन गरेका छौं’

तत्कालीन गाविस हुँदाको समयमा गाउँमा संघीय खानेपानी अन्तर्गत थाक खानेपानी योजना पुगेको थियो। वडा २८ का लागि पानीको दिगो स्रोत नै यहीँ योजना हो। तर, खानेपानीको पाइपमा क्षति पुगेपछि मर्मत कार्य भने अघि सर्न सकेको छैन। वडा २८ का वडाध्यक्ष निर्मल दियालीका अनुसार थाक खानेपानी मर्मतका लागि टेण्डर प्रक्रिया अघि सरिसकेको छ। उनका अनुसार १ करोड ५ लाख २० हजार ४ सय १४ रुपैँयाको टेण्डर प्रक्रिया अघि बढेको हो।

यसबाहेक स्थानीय तहबाट पनि अन्य योजना अघि सरेको छ। भौगोलिक विकटता र पिउने पानीको मुख्य स्रोत नभएका कारण थाक खानेपानी नै वडा २८ को मुख्य विकल्प हो। अन्य मूलको पानी खडेरी पर्ने समयमा सुक्छन्।

वडा अध्यक्ष निर्मल वडामा पानीको दिगो स्रोत नभएका कारण पनि पानी अभाव भएको बताउँछन्। यसबाहेक भौगोलिक विकटताले पनि योजनामा असर गरेको उनको भनाइ छ।

‘गविसबाट महानगरमा सिधैं जम्प भएको हिसाबले भौगोलिक विकटता आफनो ठाउँमा छ। स्थानीय स्रोतलाई व्यवस्थापन गरेका छौं,’ वडाध्यक्ष निर्मलले भने, ‘थाक खानेपानी योजना तत्कालीन गाविसको समयमा आएको योजना हो। यो नै वडा २८ को पानीको मुख्य र दिगो स्रोत हो। भुगोल नमिलेको हुनाले पानीको स्रोत छैन।’ बजेट व्यवस्थापनमा समस्या भएका कारण पनि टेण्डर प्रक्रियमा अघि बढ्न ढिलाई भएको उनको भनाइ छ।

यसबाहेक स्थानीयले गुनासो गरे जसरी वडामा पानीको अभाव नरहेको उनको दाबी छ। वडामा पानीको समस्या समाधानका लागि वडाले काम गरिरहेको उनले सुनाए।

‘जे पनि भन्ने? खानेपानी व्यवस्थापन हुँदैछ। हामी पाँच वर्षमा काम गरेको नदेख्‍ने अहिले आएर खानेपानीको समस्या भनेर हुन्छ?,’ आक्रोश पोख्दै वडाध्यक्षले भने, ‘बजेट यथावत् छ खानेपानी व्यवस्थापनको काम हुँदैछ।’

थाक खानेपानी मर्मत गर्नका लागि आफूले तथरुकता साथ गरिरहेको पनि उनको दाबी छ। ‘नागरिक र राजनितिक दललाई सबैलाई थाहा भएको हो। मान्छेले यसलाई के–के गरे पाँच वर्षसम्म काम गरेछु। थाकलाई अघि बढाउन कतिपटक प्राविधि सहित पुगेको छु,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell