पाकिस्तानी प्रधानमन्त्री इमरान खानमाथिको अविश्वासको प्रस्तावमाथि आज त्यहाँको संसदमा छलफल हुँदैछ। यसअघि उपसभामुखले अविश्वासको प्रस्तावलाई खारेज गरिदिएका थिए। राष्ट्रियसभाबाट उनीविरुद्धको अविश्वासको प्रस्ताव खारेज भएपछि खानको प्रस्तावमा राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरेका थिए। तर, बिहीवार भने सर्वोच्चले संसद पुनर्स्थापना गर्दै अविश्वासको प्रस्ताव अघि बढाउन भनेको थियो।
शुक्रवार खानले जनताको नाममा सम्बोधन गर्दै आफू विदेशी शक्तिसँग नझुक्ने बताएका थिए। खानले आफ्नो सरकार ढाल्न विदेशी शक्ति लागिरहेको आरोप लगाउँदै आएका छन्। यस्तै सम्बोधनका क्रममा खानले भारतको तारिफ गरेका थिए। खानले भारतको विदेश नीति स्वतन्त्र रहेको र इन्धन संकटबाट बच्न रसियासँग तेल लिइरहेको बताएका थिए। उनले भारतलाई ‘इमान्दार’ देश समेत भनेका थिए।
युक्रेन रसिया युद्धमा भारत रसियाको पक्षमा छ। खुलेर रसियाको समर्थन नगरे पनि भारतले संयुक्त राष्ट्र संघमा रसियाको पक्ष लिइरहेको छ। यस्तै, पाकिस्तान पनि रसियाकै साथमा छ।
प्रधानमन्त्रीको सम्बोधनपछि पाकिस्तान मुस्लिम लिग नवाजकी नेतृ मरियम नवाव सरिफले खानको आलोचना गरिन्। उनले खानले जुन भारतको तारिफ गरिरहेका छन् त्यहाँ पनि प्रधानमन्त्रीविरुद्ध प्रस्ताव ल्याउन प्रचलन रहेको बताएकी छिन्। अटल बिहारी बाचपाय हारेर घर फर्किएको तर खानले देश, संविधान र जनतालाई बन्धक बनाएको उनले आरोप लगाएकी छिन्।
मरियमले खानलाई भारत त्यति धेरै मन परेको भए त्यहीँ गएर बस्न र पाकिस्तानलाई मुक्ति दिन समेत भनिन्। मरियम पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाव शरिफकी छोरी हुन्।
पूर्व क्रिकेटर समेत रहेका प्रधानमन्त्री खानले भने आफू अन्तिम बलसम्म देशका लागि लड्ने बताएका छन्।
‘म अन्तिम बलसम्म पाकिस्तानका लागि संघर्ष गरिरहन्छु,’ उनले भनेका छन्।