जम्मा १६ किलोमिटर दुरी तय गरेर बेलारुसको सीमाबाट युक्रेन भित्रिएसँगै रसियाली सैनिकहरुले २४ फेब्रुअरीको मध्यान्नमा चेर्नोवेलमा बख्तरबन्द गाडी सहित घेरा हालिहाले। चेर्नोवेलको आणविक भट्टीमा त्यहाँ सुरक्षा दिइरहेका १ सय ७० युक्रेनियन नेसनल गार्डलाई बेसमेन्टमा लगियो र बन्दी बनाइयो। त्यसपछि रसियाली सेनाले खोजतलास थाल्य - कतै हतियार र विस्फोटक त छैन।
इन्जिनियर, सुपरभाइजर र प्राविधिकतर्फका कर्मचारीलाई काममा यथावत लगाइयो। दुई दिनपछि रसियाली आणविक ऊर्जा एजेन्सीका रोस्टमका अधिकारीहरुलाई भित्र ल्याइयो।
चेर्नोवेलका कामदारलाई लगातार रुपमा भट्टी व्यवस्थापनमा लगातार खटाइयो। यहाँ कुनै ऊर्जा उत्पादनको काम हुन्थेन। केही थियो त यसको एउटा कुनामा फालिएका 'रेडियो एक्टिभ' फोहरवस्तुहरु जुन विश्वकै खराबमध्येको एउटा आणविक दुर्घटनाबाट उब्जिएको थियो। सन् १९८६ यता अर्बौं डलर यहाँ खर्च भइसकेको छ, सम्भावित जोखिम नियन्त्रणका नाममा र यसलाई सफा राख्नका लागि। यदि कसैले मेहनत गरेर खोज्यो भने यहाँ कतै जोखिमपूर्ण आणविक सामग्रीसम्म भेट्ला।
'उनीहरु यहाँको व्यवस्थापन कसरी भइरहेको छ बुझ्न चाहन्थे।ती सबै जानकारी जस्तो कि यसको प्रक्रिया, कागजी व्यवस्थापन र सञ्चालनबारे। उनीहरु तिनै कुरा बारम्बार सोधिरहन्थे। कहिलेकाहीँ जबरजस्ती पनि गर्थे,' भट्टीमा कार्यरत रेडियो सेफ्टी सुपरभाइजर ओलेकजेन्डर लोबाडाले भने।
मुख्य भवनको सबैभन्दा माथिल्लो तलामा लामो प्यासेजका दुवैतिर कोठाहरु छन् जहाँबाट सबैकुरा नियन्त्रण गरिन्छ। केही कोठाहरु पूरै बन्द छन्। ती कोठाका साँचो जब रसियन सैनिकहरुले भेट्नन्, साँचो-ताल्चा अडिने भाग नै काटेर कोठा ह्वाङ्ग पारिदिए।
'हामीले लगातार उनीहरुसँग सम्झौता गर्नुपर्थ्यो। उनीहरुसँग कडा प्रतिकार गर्न मिल्थेन ता कि हामीलाई त्यहाँ सहजै टिक्न सकौं र त्यसलाई व्यवस्थित रुपमा चलाउन सकौं,' इन्जिनयर भेलेरी सिमनोभले भने।
जब तीन दिनसम्म बिजुली प्रवाह बन्द भयो भेरेलीले हत्त न पत्त जेनेरेटरबाट विद्युत प्रवाह गराए। उनीहरुले जेनेरेटरका लागि चाहिने केही इन्धन त रसियाली सैनिककै चोरेका थिए।
'हामीले बिजुली गुमाएको भए त्यसले ठूलो असफलता निम्त्याउँथ्यो,' अलेक्जेन्डरले भने, 'रेडियोधर्मी वस्तुहरु चुहिन सक्थ्यो। त्यसले पार्न सक्ने प्रभावलाई तपाईँले आँकलन गर्न सक्नुहुन्छ। यो मेरो जीवनकै सबैभन्दा त्रासदीपूर्ण क्षण थियो। भट्टीको राम्रोसँग अनुगमन गर्न नसकेको भए के हुन्थ्यो होला भन्ने त्रास थियो। मानवताका लागि यो ठूलो त्रासपूर्ण घटना बन्न सक्थ्यो।'
आणविक भट्टीको पछाडितिर जंगल छ जसलाई 'रेड फरेस्ट' भनिन्छ। यो पृथ्वीको सबैभन्दा धेरै रेडियोधर्मी क्षेत्र हो। युक्रेनी सैनिकहरुले जारी गरेको ड्रोन फुटेजमा त्यही ठाउँमा रसियाली सैनिकहरुले खाडल पारेर सुरक्षित हुन बसेको देखिन्छ। यसबाट पनि थाहा हुन्छ - रसियाली सैनिकहरु आणविक सुरक्षाका विषयमा कति कमजोर छन् भन्ने।
युक्रेनको सरकारले संचालन गरेको आणविक ऊर्जा एजेन्सीले रसियन सैनिकहरुमा रेडिएसनको केही मात्रा प्रवाह नै भएको समेत दावी गरेको छ।
ढुंगाले बनाइएको कब्रस्तानले आणविक रेक्टरलाई नियन्त्रण गर्छ त्यसकै छेउमा रसियाली सेनाले बोरामा बालुवा भरेका थिए। केही गरी आक्रमण भएमा बालुवा भरिएको बोरा पछाडि लुक्नका लागि ठाउँ बनाएका थिए उनीहरुले।
मुख्य भवनको बेसमेन्टमा डर्मिटरी शैलीमा कोठाहरु छन् जसलाई तहस नहस बनाइएको छ। भुइभरी सामान छरपस्ट छ - रग, म्याट्रेस, लुगा, जुत्ता र युक्रेनियन नेसनल गार्डका सामानहरु। चेर्नोवेलका कर्मचारीहरु रसियन सैनिकले त्यहाँ मिलेसम्मका वस्तु लुटेर लगेको बताउँछन्। र, जे जति छाडे - ती सबै छरिएका छन् भुइमा। केही युक्रेनी सुरक्षाकर्मीलाई समेत उनीहरुले लिएर गएका छन्।
'हामीले यो क्षेत्र सुरक्षित राख्न सक्यौं। तर दु:खद् कुरा उनीहरुले हाम्रा १ सय ६९ सुरक्षाकर्मीलाई लिएर गए,' भेलोरियाले भने। उनीहरुलाई कहाँ लगियो त? कसैलाई थाहा छैन। यहाँ काम गर्नेहरुलाई लाग्छ - रसिया नै पुर्याए होलान्।
युक्रेनका पूर्व राष्ट्रपति पेट्रो पोरोसेन्को शुक्रवार चोर्नोवेल क्षेत्रमा पुगे खाद्यान्न र अन्य सामग्री लिएर। त्यहाँसम्म पुग्न कच्चीबाटोमात्र उपलब्ध थियो। रसियन सेनाले बाटोमा पर्ने पुल विस्फोट गरेर उडाइदिएका छन्।
यहाँ पुगेर पूर्व राष्ट्रपति पोरोसेन्कोले विश्वलाई नै चेतावनी दिएका छन्।
'के भोलि फेरि रसियाली सेना यहाँ आउँदैन भन्नेमा हामी ढुक्क हुन पाउँछौं? मेरो जवाफ हुने छ - अहँ! पुटिन कुनै पनि हिसाबले अनुमान गर्न सकिने मानिस होइनन्। र, आणविक ग्यास कुनै सीमाले रोकिएर रोकिन्न। यो पूर्वी युरोप, मध्य युरोपमात्र होइन, बेलायतसम्म पुग्न सक्छ। रसियाले युद्ध जारी राखेसम्म आणविक चुहावटको त्रास युरोपभरि उच्च दरमा कायमै रहन्छ।'
बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद।