काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको आरोप लगाएका छन्। शनिवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले गभर्नर अधिकारीलाई निलम्बन गरिएकोमा आपत्ति व्यक्त गरेका हुन्।
ओलीले अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै भने, ‘हिजो थुतुनाभरी रौं भएको मुसाले धान खायो। एउटै रौं नभएको भ्यागुतोलाई कारबाही गर्यो। तपाईँहरुले थाहा पाउनु भयोहोला - धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन नि। त्यसमा पनि अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पार्यो। ध्वस्त पार्यो देशको अर्थतन्त्र। अनि एउटा सोझो भ्यागुतोलाई लगेर कारबाही गर्ने उखान जस्तै गरेर राष्ट्र बैंकको गभर्नरलाई हिजो कारबाही गर्यो।’
उनले अर्थतन्त्र बुझेको र अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नर निलम्बन गरेर बलिको बोको बनाउने काम भएको आरोप समेत लगाए।
‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ। जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थियो, उसलाई हिजो एउटा बर्खास्त गर्यो। देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्र सेवक, एउटा अर्थविद्, अर्थशास्त्री, राष्ट्र बैंकबाटै डेपुटी गभर्नर समेत भएर हटेका र अर्थतन्त्र बुझेका मान्छेलाई बनाइयो बलिको बोको। उनलाई निलम्बन गरियो,’ ओलीले भने।
सरकारले नेकपा माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा अधिकारीमाथि छानविन समिति बनाएकोमा पनि ओलीले आपत्ति जनाए। सरकारले सर्वोच्चका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल छन्। यस समितिले अधिकारीमाथि लागेको आरोपको छानविन गरेर एक महिनामा प्रतिवेदन दिने कार्यादेश पाएको छ।
साथै, ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरुलाई अनादर र उपेक्षा गरेको आरोप लगाएका छन्। प्रचण्डका भाई नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्य बनाउने काम गरेर सत्ता गठबन्धनले नातावाद र कृपावादको चरम नमुना प्रस्तुत गरेको उनको दाबी छ।
‘नातावाद, कृपावाद चलेको छ। क्रान्तिकारी हुँ भन्ने मान्छेले आफ्नो बाहेकलाई नियुक्ती गर्दैनन् भन्न थियो। हिजो पुष्पकमल दाहालका भाइ नारायणकमल दाहाललाई राष्ट्रिय सभामा लगियो,’ ओलीले प्रचण्डको आलोचना गर्दै भने।
ओलीले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई थर्काएको आरोप समेत लगाए। सत्ता पक्षसँग मात्रै परामर्श गरेर जारी गरिएको निर्वाचन आचार संहिता हस्ताक्षर गर्ने बेला आयोगले आफ्नो पार्टीका प्रतिनिधिलाई हस्ताक्षर नगरे नगर्नुस् भनेर थर्काएको बताएका हुन्।
'आचार संहिता नमान्ने जो सुकैलाई कारबाही गरिन्छ भनेर थर्कायो त निर्वाचन आयोगले। निर्वाचन आयोग निर्वाचन गराउने चिज हो। थर्काउने चिज त होइन तर थर्कायो। किनभने उसले सत्ता बाहिरका राजनीतिक दलहरुसँग परामर्श गरेन । र, देशको प्रमुख राजनीतिक दलसँग परामर्श गर्न आवश्यक ठानेन,' ओलीले भने।
यसअघि पनि ओलीले निर्वाचन आयोग सत्तापक्षको इशारामा चलेको आरोप लगाउँदै आएका थिए।
