PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

भूमिहिन दलितले पाए लालपूर्जा, ‘पाउँछु भनेर सोचेकै थिइनँ’



निशा गुरुङ

भूमिहिन दलितले पाए लालपूर्जा, ‘पाउँछु भनेर सोचेकै थिइनँ’

हेटौँडाः मकवानपुर जिल्लाको सुदूरपूर्वमा पर्ने वाग्मती गाउँपालिकामा भूमिहीन दलितले लालपूर्जा पाएका छन्। शुक्रबार राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दुई घर परिवारलाई लालपूर्जा वितरण गरेकी हुन्।

भूमिहीनका रुपमा १० वर्ष बिताएका वाग्मती ४ का कृष्णबहादुर दर्नालले पहिलोपटक लालपूर्जा पाउँदा खुसी व्यक्त गरे।

'लालपूर्जा पाउँछु भनेर सोचेकै थिइनँ। अहिले पाएँ निकै खुसी छु', उनले भने।

लालपूर्जा पाउने अर्का तीर्थबहादुर विश्वकर्माले पनि खुसी व्यक्त गरेका छन्। उनी भन्छन्, 'हामीलाई कुन समयमा कहिले उठाउँछ र कता पठाउँछ भन्ने डर हुन्थ्यो। लालपूर्जा नहुँदा यहाँबाट हटाउँछन् भन्थे तर अहिले लालपूर्जा पायौँ।'

वर्षौँदेखि बनीबुतो र ज्याला मजदुरी गरेर जीवन गुजारा गर्दै आएका उनीहरु लालपूर्जा पाएपछि हर्षित् छन्।

लालपूर्जा वितरणपछि मन्त्री श्रेष्ठले संविधानको मौलिक हकअन्तर्गत रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताइन्।

श्रेष्ठले भनिन्, ‘संविधानमै लिपीवद्ध गरिएको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने यो गठबन्धन सरकारको राष्ट्रिय प्राथमिकताको काम हो। सोही अनुसार नै हामीले भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गरेका हौँ।'

वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले अघिल्लो सरकारले गर्न नसकेको काम गठबन्धन सरकारले गरेर देखाएको बताइन्।

वाग्मती गाउँपालिकामा लालपूर्जा वितरणको सुरुवात भएकोले पहिलोपटक दुई जनालाई दिइएको जनाइएको छ। अबको ७ दिनभित्र ३० जनालाई ४२ कित्ता जग्गा वितरण गर्ने प्रक्रियामा रहेको गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell