PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एसिया कप फुटसल छनोटमा आइतवारदेखि मैदानमा उत्रिँदै नेपाल, नतिजा सुधार्ने चुनौती



मुकुन्द घिमिरे

एसिया कप फुटसल छनोटमा आइतवारदेखि मैदानमा उत्रिँदै नेपाल, नतिजा सुधार्ने चुनौती

बिस्केक: नेपाली फुटसल राष्ट्रिय टोली अहिले कीर्गिस्तानको राजधानी बिस्केकमा छ। बुधबार बिस्केक ओर्लिएको नेपाली टोलीले आइतबार, सोमबार र मंगलबार लगातार तीन खेल खेल्दैछ एएफसी फुटसल एसिया कप छनोटका लागि।

कीर्गिस्तान आएर नेपालले यहाँका दुईवटा शीर्ष लिग खेल्ने क्लबसँग मैत्रीपूर्ण खेल समेत खेलेको थियो। पहिलो खेलमा डर्डोइ एफसी र दोस्रो खेलमा फरवाटर एफसीसँग खेलेको थियो। दुबै खेलमा जित निकाल्न असफल भए पनि पहिलो खेलको तुलनामा दोस्रो खेलमा धेरै सुधारिएको प्रदर्शन गरेको थियो। डर्डोइसँगको खेलपछि नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले यसपटक पहिलो पटक अट्याकिङको रणनीतिमा खेलेको बताए।

'यसअघि खेल खेल्दा हामी सधैँ डिफेन्सिभ मात्र खेल्थ्यौँ। यसपटक पूरा समय अट्याकिङमा प्रयास गर्‍यौँ। इरान, ब्राजिललगायतका देशका खेलाडी भएकाले टिम राम्रो रहेछ,' प्रशिक्षकले बस्नेतले भने, 'पहिलोपटक अट्याकिङ खेल्दा केही कमजोरी त भइहाल्छ। यस खेललाई विश्लेषण गरेर अब आउने म्याचमा कसरी सुधार्ने भन्ने यो म्याचले सहयोग गर्छ जस्तो लाग्छ।'

दोस्रो अभ्यास खेलमा नेपालले सामना गर्‍यो कीर्गिस्तानको लिग च्याम्पियन टोली फरवाटरसँग। उक्त खेलमा पनि पराजय ब्यहोरेको नेपालले दोस्रो हाफमा भने प्रदर्शन राम्रो गरेको थियो।

‘अघिल्लो खेलमा भन्दा राम्रो भएको छ। पहिलो हाफमा केही कमजोरी रहे पनि दोस्रो हाफमा राम्रो पकड बनाउन सक्यौँ। मौका धेरै बनायौँ। १३/१४ वटा टार्गेटमा सट प्रहार गरे पनि फिनिसिङ गर्न नसक्दा पराजय ब्यहोर्‍यौं,’ उक्त खेलपछि प्रशिक्षक बस्नेतले भनेका थिए, ‘आजको खेलमा हामीले ८ जना खेलाडीमात्र प्रयोग गरेका थियौँ। टिममा प्रयोगका हिसाबले यो खेल खेलाइएको थियो।’

आज अन्तिम अभ्यास गरेको नेपाली टोलीले आइतबारबाट मंगलबारसम्म लगातार तीन खेल खेल्नेछ।

ब्यवसायिक फुटसल नेपालमा नयाँ विधा हो। यसअघि सन् २०१७ र २०१९ मा पनि नेपाली टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो। आधारभूत पूर्वाधारसमेत बनिनसकेको अवस्थामा नेपाली टोली पहिलो अन्तर्राष्ट्रिय जितको खोजीमा छ। उसो त राष्ट्रिय फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी मध्येबाट खेलाडी छनोट गरिएकाले विगतको तुलनामा नेपाली टोली राम्रो रहेको प्रशिक्षक बस्नेत तर्क गर्छन्।

एएसफसी कपको छनोटमा खेल्न जाने खेलाडी बिदाइका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले राष्ट्रिय खेलकुद परिषदसँग जग्गाको बारे छलफल अघि बढाएको र जग्गा भेटिए फुटसलका लागि अन्तर्राष्ट्रिय कभर्ड हल बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए।

अन्तर्राष्ट्रिय मापदण्डको आफ्नै कभर्ड हल बनाउनेबारे एन्फाले सोच अघि बढाउँदै गर्दा नेपाली टोली भने पहिलो जितको खोजीमा हुनेछ।

तेस्रोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाली फुटसल टोलीका प्रशिक्षक बस्नेतले कम्तीमा एक खेलमा जितको लक्ष्य राखेको शनिबार प्रिम्याच कन्फ्रेन्समा बताए।

'हामीले राम्रो तयारी गरेका छौँ। महामारी र प्राविधिक समस्याले हामीले दुई महिनाको अभ्यास मात्र गरेका छौँ। हामीले ट्याक्टिकल पार्टमा फोकस गरेका छौँ। र प्रतिस्पर्धीको एनालाइज गरेका छौँ,' उनले भने, 'आफ्नो अभ्यासमा पनि कुनै कसर छोडेको छैन। तर प्रतिस्पर्धी जो भए पनि हामी तयार छौँ।'

बस्नेतले सन् २०१७ र २०१९ मा उज्बेकिस्तानसँग खेलेको बताउँदै उनीहरुको खेललाई नियालिरहेको बताए।

'हामीले उनीहरुको खेल हेरिरहेका छौँ। हामीले सुधार गर्दै आएका छौँ। पछिल्लो खेलमा भन्दा राम्रो नजिता निकाल्ने विश्वास छ,' उनले भने, 'हामीसँग युवा खेलाडी छन् र अनुभवी खेलाडीको कम्बो टोली छन्। उनीहरुसँग हामी जित निकाल्न चहान्छौँ। इनर्जी र मोटिभेसनले खेलाडी आत्मविश्वासी छन्।'

अरु टिमको तयारी कस्तो?

नेपाल रहेको समूहमा उज्बेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन्।

उज्ज्वेकिस्तानका प्रशिक्षक अख्मयदिर बयखिमले आफूहरु समूहका खेल जित्दै एसिया कपमा छनोट हुने लक्ष्यमा रहेको बताए।

'तयारी राम्रो भएको छ। तयारीका क्रममा हामीले दुईटा मैत्रीपूर्ण खेल पनि खेल्यौँ। जसले गर्दा खेलाडी प्रतियोगिताका लागि तयार पनि छन्,' उनले भने, 'प्रतियोगितामा कडा प्रतिस्पर्धा हुनेछ। किनभने विपक्षी टिम राम्रो टिम छन्। एसियामा फुटसलको विकास भइरहेकाले तीनवटै प्रतिस्पर्धी सहज छैनन्।'

नेपाललगायतका टिमहरुलाई कमजोर नआक्ने उनले बताए।

'यो क्वालिफायर्सबाट एसिया कपमा छनोट हुने हाम्रो पहिलो लक्ष्य हो। यो समूहमा कुनै प्रतिस्पर्धी सहज छैनन्। सबै टोलीले राम्रो तयारी गरेका छन्। सहज खेल हुने छैन' उनले भने, 'हाम्रो टिमको एकता हाम्रो सबैभन्दा बलियो पक्ष हो।'

त्यस्तै अफगानिस्तान प्रशिक्षक मजिद मुर्तजाई राम्रो अभ्यास भएको भन्दै एसिया कप छनोटको लक्ष्य लिएर कीर्गिस्तान आएको बताए। त्यसका लागि अफगानी टोलीले इरानमा तयारी गरेको थियो।

'हामीले दुई महिनाको राम्रो अभ्यास गर्‍यौँ। र, प्रतियोगिताको लागि तयार भएर आएका छौँ। हामीले यो छनोटअघि इरान र इराकको राष्ट्रिय टिमविरुद्ध मैत्रीपूर्ण खेलेका छौं,' उनले भने, 'त्यस्तै, हामीले आठ मैत्रीपूर्ण खेल्ने क्रममा इरानको राष्ट्रिय लिग खेल्ने क्लबविरुद्ध पनि खेलेका छौँ। भने कीर्गिस्तानसँग पनि खेलेका छौँ।'

उनले आफ्नो टिम छनोटका लागि तयार रहेको बताउँदै ताजकिस्तान र उज्बेकिस्तानलाई बढि अध्ययन गरेको बताए।

'हामी कुवेतको प्रतियोगितामा पुग्न चहान्छौँ। हामीले नेपालविरुद्ध २०१९ मा एकपटक खेलेका थियौँ। तर उसको टिम अहिले परिवर्तन भइसकेको छ,' उनले भने, 'पहिलो र दोस्रोल हाम्रो ताजकिस्तान र उज्ज्वेकिस्तानसँग रहेको छ। हामी त्यो खेलमा जित निकाल्न चहान्छौँ।'

त्यस्तै ताजिकिस्तानका प्रशिक्षक वाखिडोभ पइरोभले राम्रो तयारी गरेको भन्दै एसिया कपमा छनोट हुन भरपूर प्रयास गर्ने बताए।

'हामीले राम्रो तयारी गरेका छौँ। उज्बेकिस्तानको टोली राम्रो छ। अफगानिस्तान पनि राम्रो छ। एसिया कपमा छनोट हुनका लागि हामी हाम्रो तर्फबाट भरपूर प्रयास गर्नेछौँ,' उनले भने, 'पहिलो खेलमा अफगानिस्तानसँग खेल्दै छौँ। अफगानिस्तानविरुद्ध खासै विशेष तयारी छैन। हामीले नेपाल र अफगानिस्तानसँग अघिल्लो क्वालिफायर्समा जित निकालेका थियौँ। तर अहिले टिम फेरिएका छन्। हाम्रो एसिया कपमा छनोट हुने लक्ष्य छ।'

नेपालले पहिलो खेलमा उज्बेकिस्तान, दोस्रो खेलमा ताजकिस्तान र तेस्रो खेलमा अफगानिस्तानसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell