PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

भक्तपुरमा आजबाट सुरु हुँदै बिस्का जात्रा, आठदिनसम्म चल्ने पर्वमा के के हुन्छ ?



रासस

भक्तपुरमा आजबाट सुरु हुँदै बिस्का जात्रा, आठदिनसम्म चल्ने पर्वमा के के हुन्छ ?
FILE PHOTO

भक्तपुर : भक्तपुरमा आजबाट बिस्का जात्रा सुरु हुँदैछ। टौमढीस्थित पाँचतले (ङातापोल) मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्‍याएर भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरु गरिन्छ। जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ। रथ तान्नुअघि भैरवनाथको विधिवत पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ। रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ। जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने प्रयास गर्छन्। जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ।

जात्राको पहिलो दिन भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोलको टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोमारी, सोङ्गलो, दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पुर्‍याइ जात्रा सम्पन्न गरिन्छ। रथ तानेर लैजाँदा दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिर र बेतालको मुख जुधाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ।

जात्राको दोस्रो दिन शून्य भनिन्छ। तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ। उक्त बलिपूजाको मासु प्रसादका रूपमा ‘लाकुला छेवासी’लाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ।

बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) यसीं उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो यसीं उभ्याइन्छ।

यसीं उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको तान्त्रिक विधिपूर्वक पूजा गरी जात्रा गरिने परम्परा छ। त्यसपछि न्हेसटो (सात सय टोल)मा अवस्थित बाराहीको तिंप्वाः जात्रा र खौमाको इन्द्रायणी देवीको त्वारीवा जात्रा गरी शक्तिपीठमा लाने परम्परा छ।

वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते यसीं ढालिन्छ। यसीं ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ। ढालिसकेपछि भैरवनाथ र भद्रकालीको रथलाई गाहिटी पुर्‍याइ एकाआपसमा जुधाइन्छ। जसलाई स्थानीय भाषमा खःल्वाकिगु जात्रा भनिन्छ। यसै दिन राति तलेजुमा तान्त्रिक विधिपूर्वक दुमाजु देवीको पूजा गरी जात्रा गरिन्छ।

बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन  ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ। खलाँमा परदेशी भीमसेनको जात्रा गरिन्छ। यसै दिन बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रासमेत गरिन्छ  आठौँ दिनमा नगरका सबै देवीदेवतालाई बाहिर राखेर क्षमासहितको पूजा गरी सगुन जात्रा मनाइन्छ। जसलाई स्थानीय भाषामा द्यःस्वगं वियगु जात्रा भनिन्छ। यस दिन साँझ चोछेंमा छुमा गणेशको जात्रा गरिन्छ।

जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई टौमढीस्थित भैरवनाथको प्राङ्गणमा पुर्‍याई जात्रा सम्पन्न गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell