PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

खुल्न थाले ठमेलका सटर, दुई वर्षसम्म ठप्प व्यापार ब्युँतिएला ?



सरला सुवेदी

खुल्न थाले ठमेलका सटर, दुई वर्षसम्म ठप्प व्यापार ब्युँतिएला ?

काठमाडौं : धेरैजसो ब्रान्डेड फेसनका शोरुम र ट्रेकिङका सामान किन्नु परे ठमेल पुग्नै पर्छ। कोरोना भाइरस महामारीकाल पछि रेस्टुराँ र पब खुले पनि ती सामाग्री पाउने सटर भने बन्द नै रहे। अब भने बिस्तारै व्यवसायीले सटर उघार्न थालेका छन्। कोभिड १९ का कारण लामो समयदेखि बन्द ठमेलका व्यवसायिक सटरहरु खुल्न थालेका हुन्।

दुई वर्षदेखि कोभिड महामारीको प्रभावले कारोबार बन्द रहँदा महँगो भाडा तिर्न नसकेर ठमेलका ६ सयभन्दा बढी सटरहरु बन्द भएका थिए। बाह्य पर्यटकले धानेको ठमेल बजारमा पर्यटक नआएपछि व्यवसायीहरुले सटर छाडेका थिए। ठमेलको व्यापार ८० प्रतिशत बाह्य र ४० प्रतिशत आन्तरिक पर्यटक लक्षित छ। कोभिड १९ संक्रमण घट्दै गएपछि पर्यटकको आगमन दरमा सुधार आएको छ। यसले गर्दा व्यवसायी पुनः सटर खोलेर बस्न थालेका छन्।

होटल, रेष्टुराँ, क्लब लगायतका व्यवसायहरु आंशिक रुपमा संचालन हुँदै आए पनि व्यवसायिक सटरहरु ढिलो खुलेका हुन्। गृहमन्त्रालयले कोभिड १९ संक्रमणमा भिडभाड कम गर्नका लागि तोकिएको समय हटाएपछि अहिले ठमेल क्षेत्र पुरानै लयमा फर्कन थालेको व्यवसायीले बताएका छन्। कारोबार सुस्त भए पनि मुख्य बजारहरु खुल्न थालेको ठमेल विकास परिषद्ले जनाएको छ।

ठमेलमा पछिल्लो समय आन्तरिक पर्यटककै भीड हुने गरेको छ। बाह्य पर्यटकहरु आउने क्रम छन्। मुख्य सडकहरुमा रहेका सटरहरु खुलिसके भने भित्री गल्लीहरुका केही सटरहरु खुल्ने क्रम रहेको ठमेल विकास परिषदका महासचिव ध्रुव अधिकारीले बताए।

छोड्ने क्रममा रहेका सटरहरुमा फेरि भरिन थालेका छन्। 'ठमेलमा यति नै सटर खाली छन् भन्ने भन्न सकिँदैन, अब धेरैजसो खुले भन्न सकिन्छ,' उनले भने।

बाह्य मुलुकका पर्यटकमध्ये हिजोआज पदयात्रा र पर्वतारोहणका लागि आएकाहरु ठमेलमा देखिएका छन्। 'आन्तरिक पर्यटकले चल्ने ठाउँहरुमा चहलपहल छ, कारोबार पनि राम्रो हुन थालेको छ,' उनले भने, 'ठमेल पुरानो लयमा फर्कन्छ। अब सबै सटर खुल्छन भने कारोबार पहिलेभन्दा राम्रो हुने आशा राखेको छौं। व्यवसाय सधैं बन्द गरेर राख्न सकिदैन।'

उनका अनुसार ठमेलमा १७ सय घरधनीका भवन तथा सटर भाडामा लिएर विभिन्न प्रकारका व्यवसाय गर्दै आएका ८ हजारभन्दा बढी व्यवसायी छन्। २५ सय ३ हजार सटरहरु पसल राखिएका छन्।

अर्काको घर भाडामा लिएर व्यवसायीले होटल, रेष्टुरेन्ट, पसल र विभिन्न प्रकारका व्यवसाय गर्दैआएका हुन्। अहिले पहिलेभन्दा पनि ठमेलमा घर, भवन र व्यवसायिक सटरहरु थपिएका छन्।

हस्तकला पस्मिना लगायतका वस्तुहरुको बिक्री कम छ। पर्यटक कम हुँदा हस्तकलाका वस्तुहरुको बिक्री नभएको हो। त्यसबाहेक अन्य वस्तुहरुको कारोबारमा सुधार आएको परिषदले जनाएको छ। रात्रिकालीन व्यवसाय खुल्न थालेपछि ठमेलमा ग्राहको चहलपहल बढ्न थालेको परिषद्का पूर्व अध्यक्ष रामरण थपलियाले बताए। 'बन्द भएका सटरहरु ग्राहक नआए पनि खुल्न थालेका छन्। खाली भएका सटरमा नयाँ व्यवसायी आउने-जाने क्रम चलिरहेको छ,' उनले भने।

'ठमेल महँगो छ। त्यसैले आफ्नो घर हुनेले पसल खोल्दा भाडा तिर्नुपर्ने तनाव हुन्न। अन्य व्यवसायीले घर भाडामा लिँदा त्यही दिनबाट भाडा तिर्नुपर्छ। यसले गर्दा अझै केही व्यवसायी पर्ख र हेरौं भन्नेमा छन्,' उनले भने, 'ग्राउण्ड फ्लोरमा भएका धेरैजसो पसलहरु खुलेका छन्। पहिलो र तेस्रो तल्लाहरुमा केही खाली छन्। नयाँ व्यवसायीहरु आउन खोजिरहेका छन्।'

हाल ठमेलमा धेरैजसो सटर खुले पनि कारोबार लयमा फर्किसकेको छैन। 'कारोबार हुन पर्यटक आउनुपर्छ, उनीहरुको आगमन दर अझै पनि अपेक्षाअनुसारको भइसकेको छैन,' ब्याग व्यवसायी हरि श्रेष्ठले भने, 'ठमेलको व्यापार टुरिस्टमै भर गर्छ।'

पर्यटकलाई लक्षित गरेर खोलिएका पसलमा ग्राहक निकै कम छन्। 'अब व्यवसायले गति लिन्छ की भनेर पसल खोलेर बस्न थालेका छौं,' उनले भने, 'धेरैले चहलपहल बढेको देखेर सटर खोल्न थालेका छन्। पसलमा पुरानो सामानमात्र राखेर बसेका छौं। केही दिनको अवस्था हेरेर नयाँ सामान हाल्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell