PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

युक्रेन रसिया युद्धको ४५ औं दिन : युद्धग्रस्त देशको राजधानी कीभमा किन पुगे बेलायती प्रधानमन्त्री?



पहिलोपोस्ट

युक्रेन रसिया युद्धको ४५ औं दिन : युद्धग्रस्त देशको राजधानी कीभमा किन पुगे बेलायती प्रधानमन्त्री?
Photo: REUTERS

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभमा वार्ता गरेका छन्। यो भ्रमण युक्रेनी जनतासँगको ‘ऐक्यबद्धताको प्रदर्शन’ भएको बेलायती प्रधानमन्त्रीको कार्यालयलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। रसिया र युक्रेनबिच युद्ध सुरु भएको ४५ औं दिनमा जोनसन कीभ पुगेका हुन्।

बैठकपछि युक्रेनलाई बेलायतले १२० वटा हतियारसहितको गाडी र ‘एन्टी-शिप मिसाइल’ प्रणाली पठाउने बेलायती प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ। जेलेन्स्कीको टोलीका वरिष्ठ अधिकारीहरूले रसियासँगको युद्धमा बेलायतले युक्रेनलाई गरेको समर्थनको प्रशंसा गरे।

जोनसनको कीभ भ्रमणको पूर्व जानकारी दिइएको थिएन। राष्ट्रपति जेलेन्स्कीसँगको भेटको तस्बिर लन्डनस्थित युक्रेनी दूतावासले ट्विटरमा राखेपछि जोनसन कीभमा रहेको पहिलो संकेत मिलेको थियो।

बेलायती प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले भने, ‘युक्रेनी जनतासँगको ऐक्यबद्धता प्रकट गर्न प्रधानमन्त्री जोनसन राष्ट्रपति जेलेन्स्कीलाई व्यक्तिगत रूपमा भेट्न युक्रेन जानुभएको हो।’

बैठकपछि एक विज्ञप्तिमा प्रधानमन्त्री जोनसनले ‘राष्ट्रपति जेलेन्स्कीको दृढ नेतृत्व र युक्रेनी जनताको अजेय वीरता र साहस’को प्रशंसा गरे। जोनसनले भने : युक्रेनले विविध अड्चनहरुका बावजुद रसियन सेनाहरूलाई कीभको ढोकाबाट फर्काएको छ।

उनले अगाडि भने, ‘मैले आज यो कुरा स्पष्ट गरेको छु कि यो जारी लडाइँमा बेलायत युक्रेनको पक्षमा अडिग रूपमा उभिएको छ, र हामी पछिसम्म पनि साथमा नै हुनेछौँ।’

‘हामी हाम्रो सैन्य र आर्थिक सहयोगलाई बढाउँदैछौँ, यो युद्धको अन्त्य गर्न र युक्रेनलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा बाँच्ने र फस्टाउने सुनिश्चित गर्न विश्वव्यापी गठबन्धनको लागि आह्वान गरिरहेका छौँ,’ उनले थपे।

सो क्रममा जोनसनले थप आर्थिक सहयोगको घोषणा गर्दै बेलायतको तर्फबाट कुल ऋण ७७० मिलियन पाउण्ड पुर्‍याइने पनि बताए।

भेटको केही समयपछि राष्ट्रपति जेलेन्स्कीसँगै भिडियो सम्बोधनमा बोल्दै जोनसनले भने : युक्रेनीहरूले ‘सिंहको साहस देखाए अनि भोलोडिमिरबाट त्यो सिंहको गर्जना सुनियो।’

जोनसनले युक्रेनलाई सहयोग गर्ने बेलायत र अन्य देशहरूले रसियाली हाइड्रोकार्बनको प्रयोग रोक्नेलगायत मस्कोमाथि आर्थिक प्रतिबन्धहरूमा कडाइ गर्ने कुरा दोहोर्‍याए।

प्रधानमन्त्री जोनसनले थपे, ‘पछिल्लो केही घण्टामा मैले तपाईँको सुन्दर देश हेर्ने मौका पाएँ र मलाई यो देश असाध्य राम्रो लाग्यो। मैले युद्धको दु:खद् प्रभावहरू पनि देखेँ, एक पूर्ण रूपमा अक्षम्य र अनावश्यक युद्ध।’

जेलेन्स्कीले आफ्नो देशको लागि बेलायतको ‘निर्णायक र महत्त्वपूर्ण समर्थन’को स्वागत गरे। उनले अन्य पश्चिमी देशहरूलाई पनि मस्कोमाथि दबाब बढाउन आग्रह समेत गरे।

‘हामीले प्रतिबन्धको रूपमा दबाब बढाउनु पर्छ। यो रसियन ऊर्जा स्रोतहरूमाथि पूर्ण रुपमा रोक लगाउनु पर्ने समय हो। आपूर्ति भइरहेको हतियारको मात्रा बढाइनु पर्छ,’ उनले भने।

बेलायतले युक्रेनलाई १०० मिलियन पाउण्ड बराबरको हतियार सहयोग गर्ने घोषणा गरेको एक दिन पछि जोनसनले कीभको भ्रमण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell