PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

बिस्केकमा फुटसल : सुनौला अवसर बनाएर पनि चुक्यो नेपाल, अगाडिका खेल सहज हुने कप्तान श्रेष्ठको दाबी



पहिलोपोस्ट

बिस्केकमा फुटसल : सुनौला अवसर बनाएर पनि चुक्यो नेपाल, अगाडिका खेल सहज हुने कप्तान श्रेष्ठको दाबी
Photo : kyrgyzstan FC

बिस्केक : एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपाली टोली उज्बेकिस्तानसँग ५-१ गोलअन्तरले पराजित भएको छ। खेलपछि प्रतिक्रिया दिँदै नेपाली टोलीका कप्तान अनिस श्रेष्ठले आजको खेलबाट धेरै कुरा सिक्ने अवसर मिलेको बताए।

'खेललाई सकारात्मक रुपमा लिएको छु। पाएको अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोर्नुपर्‍यो। अवसरहरुचाहीँ धेरै सिर्जना गर्न सक्यौं। आगामी खेलमा भने त्यसलाई सदुपयोग गरेर जित्ने प्रयास गर्नेछौं,' कप्तान श्रेष्ठले भने, 'हामीले उनीहरुको मोमेन्ट क्याच गर्न सकेनौं। उज्बेकिस्तान भनेको विश्वकपमा अन्तिम १६ सम्म पुगिसकेको टोली हो। उनीहरुको मोमेन्टम हामीले ब्रेक गर्न नसक्दा हामी त्यसमा चुकेको जस्तो लाग्छ।'

नेपाली टोलीले अन्तिम समयमा खेलमा दवाब बनाएको भए पनि त्यसअघि पाएको सुनौला अवसरमा चुक्दा फराकिलो हार ब्यहोर्नुपरेको उनले बताए। नेपालले गोल फर्काउँदाको अनुभव उनी यसरी सुनाउँछन्।

'गोल गरेपछि टिममा बुस्ट भएको, भित्रबाटै जिरिङ्ग भएर आएजस्तो भएको थियो,' उनले भने, 'त्यसपछि पनि दुईवटा अवसरमा पोस्टमा गोल ठोक्किएर नलाग्दा र टू भर्सेस वानको अवसर सदुपयोग गर्न नसक्दा हामी चुक्यौं।'

समूहको बलियो टोलीसँगको खेलपछि अगाडिका खेलका लागि अब सहज हुने उनीको दाबी छ।

'अबको खेल भने सहज हुनेछ। यहाँ खेलेको दुईवटा मैत्रीपूर्ण खेलले नै यतिको खेल्न धेरै सहज बनाएको थियो,' उनले भने, 'तर उज्बेकिस्तानसँग यतिको खेलेपछि ताजकिस्तान र अफगानिस्तानसँग खेल्न टिमको मनोबल राम्रो भएको छ।'

त्यस्तै, नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले खेलपछि पोस्टम्याच प्रेजेन्टेसनमा पहिलो हाफमा कमजोरी रहे पनि दोस्रो हाफबाट पुनरागमन गरेको बताए।

'यसपटक हामीसँग युवा खेलाडी छन्। पहिलो हाफमा अर्गनाइज हुन नसके पनि दोस्रो हाफमा हामीले रणनीति फेर्दै राम्रो खेल्यौं। र, धेरैवटा अवसर पनि बनाउन सक्यौं। तर आज दुर्भाग्य रह्यो,' उनले भने, 'दोस्रो खेलमा ताजकिस्तान र अफगानिस्तानसँग फरक रणनीति रहनेछ। हामीले दुईवटा मैत्रीपूर्ण खेल कीर्गिस्तानसँग खेले पनि यो मैदानमा भने खेल्न पाएका थिएनौं। हामी रणनीति फेरेर बलियो चुनौती ताजकिस्तान र अफगानिस्तानसँग खेल्नेछौं। हामीले हाम्रो खेल खेल्छौं। हामी कुनै टिमसँग डराउँदैनौं।'

कीर्गिस्तान आएर नेपालले यहाँका दुईवटा शीर्ष लिग खेल्ने क्लबसँग मैत्रीपूर्ण खेल समेत खेलेको थियो। पहिलो खेलमा डर्डोइ एफसी र दोस्रो खेलमा फरवाटर एफसीसँग खेलेको थियो।

नेपालले सोमवार ताजकिस्तान र मंगलवार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell