PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गठबन्धनमा भागबन्डाको सकस: अधिकांश जिल्लामा उम्मेदवारबारे मिलेन कुरा, शीर्ष नेतालाई टुङ्ग्याउन सुझाव



प्रकाश भण्डारी

गठबन्धनमा भागबन्डाको सकस: अधिकांश जिल्लामा उम्मेदवारबारे मिलेन कुरा, शीर्ष नेतालाई टुङ्ग्याउन सुझाव

काठमाडौँ: सत्ता गठबन्धनले गठन गरेको चुनाव तयारी तथा अनुगमन समितिको बैठकले चुनावी तालमेलबारे शीर्ष नेतालाई सुझाव दिने निष्कर्ष निकालेको छ।

बालुवाटारमा बसेको समितिको आइतबारको बैठक सत्ता गठबन्धनका नेताहरूलाई सुझाव दिने निष्कर्षमा पुगेको समितिका सदस्य तथा नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले जानकारी दिए।

'शीर्ष नेताहरूलाई सुझाव दिने कुरा भएको छ। भोलि शीर्ष नेताहरूले केही निर्णय गर्नुहोला,' उनले भने।

उम्मेदवारीबारे स्थानीय तह, जिल्ला र प्रदेशलाई चाँडै मिलाउन अनुरोध गरिएको गुरुङले बताए। अधिकांश जिल्लाबाट गठबन्धनको अवस्थाबारे रिपोर्ट आउन सकेको छैन।

चैत १७ गतेको सत्ता गठबन्धनको बैठकले चुनावी तालमेलका लागि सबै तहमा राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। उक्त संयन्त्रलाई गठबन्धनको अवस्थाबारे चैत २२ गतेसम्म रिपोर्टिङ गर्ने समय तोकिएको भए पनि सबै ठाउँबाट रिपोर्ट आउन नसकेपछि चैत २६ गते सम्मका लागि समय थप गरिएको थियो। थपिएको समयमा पनि सबै ठाउँबाट रिपोर्टिङ नभएको गठबन्धनका नेताहरूले बताएका छन्।

'अहिलेसम्मको रिपोर्टका आधारमा धेरैजसो जिल्लामा मिलाउन बाँकी छ। बाँकी रहेका जिल्लाहरूमा पनि छिट्टै मिलाउनुपर्‍यो भन्ने कुरा भएको छ,' गुरुङले भने।

गठबन्धनले महानगरको उम्मेदवार र चुनावी तालमेल केन्द्रबाट टुङ्ग्याउने र बाँकी स्थानीय तहको सम्बन्धित पालिकामा गठन भएको संयन्त्रको सिफारिसमा टुङ्गो लगाउने निर्णय गरेको थियो।

चैत अन्तिम सम्ममा उम्मेदवारी टुङ्ग्याउने गठबन्धनको गृहकार्य छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल भएको र उक्त छलफलका आधारमा शीर्ष नेतालाई सुझा दिने निर्णय भएको जानकारी दिए।

कार्कीले भने, 'स्थानीय तहबाट प्रतिवेदन आएका छन्। भोलि बैठक बस्छ त्यसले केही निर्णय गर्ला। कसरी गठबन्धनलाई प्रभावकारी बनाउने यिनै बारेमा सुझाव दिने हो,' कार्कीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell