PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

गठबन्धनले साझा उम्मेदवार नतोक्दा उकुसमुकुसमा वीरगंज, एमालेका सरावगीलाई कसले देला टक्कर?



राधेश्याम पटेल

गठबन्धनले साझा उम्मेदवार नतोक्दा उकुसमुकुसमा वीरगंज, एमालेका सरावगीलाई कसले देला टक्कर?

वीरगंज : वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मधेश प्रदेशको एकमात्र महानगर वीरगंजमा को उम्मेद्वार बन्ला? चासो बढ्न थालेको छ। मुलुककै मुख्य व्यापारिक प्रवेशद्वार, राज्यलाई सबैभन्दा बढी राजस्व उठाएर दिने शहरको रुपमा वीरगंज परिचित छ।

मधेश आन्दोलन र नाकाबन्दीको केन्द्रविन्दु वीरगंजमा अगामि चुनावमा पछिल्लो चुनावको भन्दा अवस्था फरक देखिएको छ। तत्कालिन जनता समाजवादी पार्टीबाटै मेयरमा निर्वाचित विजयकुमार सरावगी नै पार्टी परिवर्तन गरी नेकपा एमालेमा प्रवेश गरेपछि वीरगंजको राजनीतिक दलको अंक गणित डगमगाउन पुगेको छ।

गठबन्धनको साझा उम्मेदवार चयनमा ढिलाई हुनुले गठबन्धनको चुनावी प्रचारप्रसारमा असर गरिरहेको छ। गठबन्धनका नेता तथा उम्मेदवार अहिले पनि अन्यौलपूर्ण वातावरणमा समय काटिरहेका छन्। केही नेताहरु पार्टीगत चुनावी चहलपहल तिव्र पारे तापनि गठबन्धनको औपचारिक निर्णयलाई पर्खेर बसेको अवस्था रहेको गठबन्धनका नेताहरुको भनाई छ।

एमालेबाट सरावगीको टिकट पक्का!

नेकपा एमालेले अहिले वीरगंजको मेयरमा मेयर विजयकुमार सरावगीलाई नै उम्मेद्वार बनाउने लगभग पक्का भइसकेको छ। नेकपा एमाले पर्साका नेता तथा केन्द्रीय सदस्य राजकुमार गुप्ताले यसको पुष्टि गरे। ‘हाम्रो आजै पर्साको करिब ७५ प्रतिशत टिकटसम्बन्धी नाम पक्का भइसकेको छ, सोमवारसम्म शतप्रतिशत अर्थात कुन पालिका कुन वडामा कसलाई लडाउने बारेमा निर्देशन आउनेछ,’ उनले भने, ‘चैत २९, ३० को प्रदेश कमिटिको बैठक छ, अगामी वैशाख १,२ गतेसम्म सबै जनाको टिकट आउने आशा छ।’

उनले नेकपा एमालेसँग अहिले जुन पनि पार्टीको नेता लड्न डराइरहेको दाबी गर्दै गठबन्धन दलले मेयरको उम्मेदवार नै नभेटाएको तर्क गरे। उनले भने, ‘गठबन्धन होस् वा एक्लै चुनाव होस् तर प्रतिस्पर्धा बहुत रोचक हुन्छ। पर्सामा काँग्रेसकै जनप्रतिनिधिसँग एमालेको टक्कर बढि हुने देखिन्छ।’ गठबन्धन भए केही दलका असन्तुष्ट नेताहरुले नै गठबन्धनका साझा उम्मेदवारलाई हराउन लागि पर्ने उल्लेख गर्दै गठबन्धन हुनु एमालेको लागि फाइदाजनक विषय भएको उनको भनाई थियो।

जसपाले नछाड्ने, मेयरमा राजेशमान सिंह

जसपा पर्सा १ का सांसद प्रदिप यादवले गठबन्धनको पूर्व आन्तरिक सहमतिअनुसार वीरगंजको मेयरको भागबन्डा जसपाको पोल्टामा परेको दाबी गर्दै आफूहरुले उम्मेदवार अघि सारेर चुनावी गतिविधिमा लागेको बताए। उनले जसपाबाट राजेशमान सिंह नै मेयरमा चुनाव लड्ने निधो भएको जनाए। राजेशमान सिंह, लोसपा छाडेर मेयरकै टिकटको लागि नेकपा एमालेमा गएको केही सातामै मेयर सरावगी आएपछि उनी एमाले छाडेर जसपामा आएका नेता हुन्।

सांसद यादवका अनुसार गठबन्धनका केन्द्रीय नेताहरुको आन्तरिक सहमतिअनुसार विराटनगरमा मेयर कांग्रेस, वीरगंजमा जसपा, चितवनमा माओवादी, पोखरामा एकीकृत समाजवादी, काठमाडौंमा कांग्रेस मेयर, समाजवादी उपमेयर, ललितपुरमा कांग्रेस मेयर, उपमेयर माओवादीलगायतको सहमति भएको तर अहिले पनि अन्तिम टिकटको बारेमा खाका तयार भइरहेको बताए। उनले यदि गठबन्धनले वीरगंजको मेयरमा जसपालाई स्थान नदिए आफूहरु एक्लै उम्मेदवार लिएर चुनावमा जाने सोचमा पनि रहेको बताए। ‘हामीले पनि चाहेको छौं, गठबन्धनले हाम्रो पक्षमा सहमति गरोस्, तर यदि भएन भने वीरगंजको मेयर छाडदैनौं,’ उनले भने, ‘वीरगंज पहिले जसपाले जितेको हो।' उनले गठबन्धन नहुनु नै वीरगंज र जसपाको लागि ठिक हुने तर्क गर्छन्। उनले थपे, ‘गठबन्धन भयो भने गठबन्धनकै नेताहरुले अर्को दलका नेतालाई हराउँछन्, घात हुने सम्भावना बढी हुन्छ, एक्लै लडियो भने सहज हुन्छ।’

अलमलमा कांग्रेसका आधा दर्जन आकांक्षी

सत्तारुद्ध गठबन्धनले महानगरको मेयर उपमेयरको टिकटबारे आपसी सहमतिमा ढिलाई गरिराख्दा नेपाली कांग्रेस पर्साका नेताहरु भने अलमलमा परेका छन्। कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीका अनुसार अहिले 'पर्ख र हेर'को अवस्थामा आफूहरु रहेको बताए। उनले कांग्रेसले पनि वीरगंजको लागि दाबी गरिरहेको चर्चा गर्दै गठबन्धन भए वडास्तरको नेता कार्यकर्ताले अरु दलका नेतालाई भोट नदिने भनिरहेको बताए। ‘एकातिर जिल्लाका नेताहरुले एक्लै चुनावमा जानुपर्छ भनिरहनु भएको छ, अर्कोतिर केन्द्रीय पार्टी कार्यालयले दैनिक गठबन्धनका नेताहरुसँग छलफल गरी उम्मेदवार फाइनल गर्न ताकेता गरिरहेको छ,’ उनले भने, ‘मेयरमा वीरगंजमा राजेन्द्रबहादुर आमात्य, अनिल रुंगटा, ओमप्रकाश शर्मा, श्याम पोखरेल, कन्चन झा, नरेन्द्र साह, प्रकाश उपाध्याय, राकेश सिंहलगायतको नाम चर्चामा छ।’ उनले एमालेका मेयर सरावगीसँग टक्कर दिन हेभी वेट नै उम्मेदवार उभ्याउन कांग्रेसको केन्द्रीय कमिटिमा छलफल भइरहेको पनि चर्चा गरे।

लोसपाले पाएन हेभीवेट उम्मेदवार

महन्थ ठाकुर नेतृत्वको लोसपालाई वीरगंजको मेयरको लागि उपयुक्त उम्मेदवार नपाएको बताइएको छ। लोसपा पर्साका एक नेताका अनुसार अहिले पनि हेभीवेट उम्मेदवारको विषयमा पार्टीपंक्तिबीच छलफल भइरहेको तर सोचे अनुरुपको उम्मेदवार नपाएको बताइएको छ। लोसपाबाट वीरगंजको मेयरमा जिल्ला अध्यक्ष पुरुषोत्तम झा, अधिवक्ता सुरेन्द्र कुर्मी, ओमप्रकाश सर्राफलाई लडाउने छलफल भइरहेको बताइएको छ।

माओवादी र समाजवादी केन्द्रीय निर्णयको पर्खाइमा

गठबन्धनको दुई घटक दलहरु नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरुले गठबन्धनको औपचारिक धारणासहितको अन्तिम निर्णयलाई पर्खेर बसेका छन्। माओवादी केन्द्रका वीरगंजका मेयरका आकांक्षी रहबर अन्सारीले आफू चुनाव लड्नेबारे अहिले फाइनल नभएको बताए। तर आफू आन्तरिक तयारीमा जुटिसकेको उनको भनाई रह्यो। ‘अहिले वेट एण्ड वाचको अवस्था छ, केही दिनमा गठबन्धनको निर्णय आएपछि कुरा क्लियर हुन्छ,’ उनले भने, ‘तर हामीले आफ्नो तयारी तीव्र पारेका छौं।’

एकीकृत समाजवादीबाट वीरगंजको मेयरमा नगर अध्यक्ष मनोज चौधरीको चर्चा छ। मनोजको युवामाझ राम्रो पकड रहेको बताइन्छ। तर पर्सामा एकीकृत समाजावदीको जनाधार कमाजोर देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell