
काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले यसअघिका मतभेदलाई छोडर चुनावमा एकतावद्ध हुन अपिल जारी गरेको छ। अझै परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहनेले खेलबाड गरिरहेकाले गठबन्धनको आवश्यकता भएको अपिलमा उल्लेख छ।
‘कतिपय शक्तिहरु यो परिवर्तनको विरुद्ध अझै पनि षड्यन्त्र गरिरहेका छन् भन्ने कुराको उदाहरण देशको संविधानको उल्लंघन गर्दै संसद्माथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अंगहरुमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ,’ अपिलमा भनिएको छ।
अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयास भइरहेको गठबन्धनको ठहर छ।
‘प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलिय गठबन्धन बनेको हो,’ गठबन्धनले भनेको छ।
स्थानीय निर्वाचनमा यसअघिको तालमेल जस्तै गठबन्धन गरेर अगाडि बढ्ने घोषणा उक्त अपिलमा छ। पाँच दलका बिचमा चुनावमा सहकार्य गर्न कार्यकर्ताहरुलाई गठबन्धनले आग्रह गरेको हो।
‘हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौँ। त्यसका लागि देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौँ,’ गठबन्धनले भनेको छ।