PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पनौती नगरपालिकामा एकल महिला र तेमाल गाउँपालिकामा एकल पुरुषलाई मासिक भत्ता



पहिलोपोस्ट

पनौती नगरपालिकामा एकल महिला र तेमाल गाउँपालिकामा एकल पुरुषलाई मासिक भत्ता

काठमाडौं : काभ्रेको पनौती नगरपालिकाले एकल महिलालाई मासिक भत्ता दिन सुरु गरेको छ। ३५ वर्ष नाघेका अविवाहित, सम्बन्ध विच्छेद भएका र पति बेपत्ता भएका महिलालाई मासिक दुई हजार रुपैयाँका दरले भत्ता प्रदान गर्न थालिएको नगर कार्यालयले जनाएको छ।

नगरबाट मासिकरुपमा विशेष सामाजिक सुरक्षा भत्ता व्यवस्थापन गरी एकल महिलालाई चैतदेखि भत्ता दिन थालिएको उपप्रमुख गीता बञ्जाराले बताइन्। उनका अनुसार विभिन्न कारण एकल महिलाका रुपमा रहेका नगरका १९३ महिलालाई वडास्तरबाटै भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको हो।

‘दैनिक गुजारा गर्न अप्ठ्यारोमा परेका एकल महिलालाई भत्ता दिन थालेका हौँ’, बञ्जाराले भनिन्।

नगरको तथ्यांक अनुसार भत्ता पाउनेमा नगरका अविवाहित महिला १४९ जना महिला छन् भने सम्बन्ध विच्छेद भएका २० जना र पति बेपत्ता भएका २४ जना महिला छन्।

यस्तै, तेमाल गाउँपालिकाले एकल पुरुष (विधुर)लाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। पालिकाको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेटअनुसार विधुर भत्ता कार्यक्रम कार्यान्वयन गर्न लागिएको गाउँपालिकाको सामाजिक शाखाले जनाएको छ।

यस कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा ११० पुरुषले मासिक दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउने भएका हुन्।

‘एकल पुरुषलाई पनि सहायता आवश्यक रहेको देखिएपछि यस्तो निर्णय गरेका थियौँ’, पालिका प्रमुख सलामसिंह तामाङले भने। उनका अनुसार चैतदेखि भत्ता वितरण गर्ने योजनाअनुसार यही हप्ता भत्ता दिने कार्यक्रम गरिनेछ।

उक्त गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी बनेको कार्यविधि - २०७८ को दफा ३ बमोजिम भत्ता पाउने भएका हुन्। पत्नी बितेका तथा अविवाहित ६० देखि ७० वर्षसम्मका पुरुषले विधुर एवं एकल पुरुष सामाजिक सुरक्षा भत्ता पाउने कार्यविधिमा उल्लेख गरिएको छ।

कार्यविधिअनुसार यसअघि सम्पूर्ण वडा कार्यालयमार्फत विधुरमा सूचीकृत पुरुषलाई भत्ता वितरण गर्न लागिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell