PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

देशलाई श्रीलंका बनाउन खोजियो भन्ने कुरा अफवाह हो : अर्थमन्त्री शर्मा



पहिलोपोस्ट

देशलाई श्रीलंका बनाउन खोजियो भन्ने कुरा अफवाह हो : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले देशलाई श्रीलंका जस्तो बनाउन खोजियो भन्ने कुरा अफवाह मात्र भएको दाबी गरेका छन्। आज अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अहिले देशको अवस्था श्रीलंकाको जस्तो नभएको दावी गरेका हुन्।

चुनावी रकमदेखि सामाजिक सुरक्षा भत्ता समेत दिन नसकेको भनेर हल्ला चलाएको समेत अर्थमन्त्रीले बताए। यिनै विषयलाई जोडेर देश श्रीलंकाको जस्तै आर्थिक संकट हुन लागेको अफवाह फैलाएको उनको भनाइ थियो। अहिलेको अर्थतन्त्र सकरात्मक दिशातिर गइरहेको दावी अर्थमन्त्रीको छ।

उनले गभर्नर हटाउनु परेको प्रमुख कारणका रुपमा अनियन्त्रित कर्जा विस्तारलाई आधार बनाएका छन्। मौद्रिक नीतिमा कर्जा प्रवाह लक्ष्य १९ प्रतिशत राखिएकोमा ३२ प्रतिशत पुग्दा पनि त्यसलाई समयमै नियन्त्रण गर्न गभर्नरले नसकेको आरोप उनले लगाएका छन्।

‘यो नियन्त्रण गर्नुपर्ने हो कि होइन? यो अर्थले गर्दैन राष्ट्र बैंकले गर्ने हो,’ उनले भने।

अर्थमन्त्रीले विस्तार भएको ऋण उत्पादन क्षेत्रमा नगएको बताए।

‘यस्तो पैसा कहाँ लगानी भएको छ त भनेर जान्ने प्रयत्न नगरेको होइन। तर, त्यो हामीले प्राप्त गर्न सकेनौँ,’ उनले यसमा गभर्नरले असहयोग गरेको संकेत गरे।

उनले मुद्राप्रदायमा अनियन्त्रित विस्तार हुँदा आयात वृद्धि हुँदै गएर विदेशी मुद्राको सञ्चिति निरन्तर घटेको बताए।

‘यसलाई नियन्त्रण गर्न मैले पहिलेदेखि भनेको हो। सल्लाहकार र विज्ञताको हिसाबले राष्ट्र बैंकलाई भनेको हो’, उनले भने, ‘तर, त्यसमा ध्यान दिइएन।‘

अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह भएको विषयमा आफूले गभर्नरलाई भनेको भन्दै गभर्नरले त्यसलाई नियन्त्रण गर्न नसकेको दाबी गरे।

‘व्यक्तिगत रुपमा आरोप प्रत्यारोप होइन। समितिले बाहिर रिपोर्ट ल्याउँछ', उनले भने। उनले आफूले कसैलाई पनि हस्तक्षेप नगरेको भन्दै सबैसँग सहकार्य गर्न खोजेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell