PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गठबन्धनको गृहकार्य : मापदण्ड बनाएर टिकट, चुनावको परिणाम हेरेर भागबण्डा! 



प्रकाश भण्डारी

गठबन्धनको गृहकार्य : मापदण्ड बनाएर टिकट, चुनावको परिणाम हेरेर भागबण्डा! 

काठमाडौं : जनस्तरमा स्थानीय तहको उम्मेदवार चयन सकसपूर्ण बनिरहेको अवस्थामा सत्तारुढ दलको बालुवाटारमा सोमवार बसेको बैठकले मापदण्ड बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले बैठकपछि साझा अपिल नै जारी गर्न बाध्य भएको छ शीर्ष तह। अपिलमा ठाउँ र अवस्था अनुसार गठबन्धन गर्ने उल्लेख छ। विगतका मतभेदलाई पन्छाएर चुनावमा एक अर्कालाई सहयोग गर्न पनि भनिएको छ।

एकीकृत समाजवादीका नेता झलनाथ खनालले आजको बैठकले टिकट वितरण, भागबण्डा आदिका विषयमा मापदण्ड बनाएर अघि बढ्ने निर्णय भएको जानकरी दिए। मापदण्ड कस्तो बन्छ भन्नेबारे भने गठबन्धनका नेताहरुले खुलाएका छैनन्। त्यसैको मारमा छ गठबन्धन। नेकपा एमालेले स्थानीय तहका लागि उम्मेदवार तय गर्नेक्रम जारी रहँदा गठबन्धनको स्थानीय संयन्त्र भने अलमलमा छ। 

'मेरै गोरुको बाह्रै टक्का नभन्ने'

'एउटा मापदण्ड बनाउदै छौँ भोलिको बैठकमा। हामीले सबैलाई भनेका छौं 'मेरो गोरुको बाह्रै टक्का' कसैले नभन्ने। एक अर्का प्रति लचिलो हुने र एउटा मिलन बिन्दुमा पुग्ने। साझा आधारहरु तयार पारेर अगाडि बढ्ने भन्ने कुरा भएको छ,' खनालले बैठकबारे प्रष्ट्याए। गठबन्धनको बैठकमा नेपाली कांग्रेसले आफू सत्तारुढ दलहरुमध्ये ठूलो भएकाले धेरै ठाउँमा आफ्ना पार्टीका उम्मेदवार बनाउनपर्ने प्रस्ताव गरेपछि उक्त विषयलाई संकेत गर्दै खनालले मिलनबिन्दुमा पुग्नुपर्ने बताएका हुन्।

भागबण्डाका विषयमा अहिले गठबन्धनमा २०७४ सालको चुनावको परिणामलाई आधार मान्ने कि यसअघिको राष्ट्रिय सभाको चुनावी तालमेलको मोडल मान्ने भन्नेबारेमा छलफल भइरहेको छ। यसअघि भएको राष्ट्रिय सभाको चुनावमा एमालेले जितेका ठाउँलाई भागबण्डा गरेर अरु ठाउँका उम्मेदवारको बिचमा चुनावी तालमेल भएको थियो। चुनावमा जाँदा गठबन्धन दलहरुको चुनाव चिन्ह के कसरी लैजाने भन्नेबारेमा पनि सहमति भएको छैन।

'गठबन्धनका उम्मेदवारलाई जिताउन छलफल'

बैठकपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै नेपाली कांग्रेसका नेता तथा गठबन्धनको चुनाव तयारी तथा अनुगमन समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनका उम्मेदवारलाई चुनावमा कसरी जिताउने भन्नेबारेमा छलफल भएको बताए।

'स्थानीय निर्वाचनलाई कसरी सफलता पूर्वक सम्पन्न गर्ने, गठबन्धन समर्थित उम्मेदवारलाई कसरी निर्वाचित गराउने भन्ने विषयमा छलफल भएको छ,' कार्कीले भने।

आजको बैठकमा सबै दलहरुले चुनावी मोडालिटीबारे बैठकमा प्रस्ताव गरेका थिए। चुनावी भागबण्डा बारेमा स्थानीय तह, जिल्ला र पालिकामा सत्तारुढ दलका नेताहरु सम्मिलित गठबन्धनले गरिरहेको गृहकार्यलाई आधार मानेर उम्मेदवारी टुंगो लगाउने सत्तारुढ दलको तयारी छ। नेकपा माओवादी केन्द्रका नेता तथा चुनाव तयारी तथा अनुगमन समितिका सदस्य देव गुरुङले मापदण्ड बनाएर पनि सम्बन्धित
तहका कमिटिको निर्णयका आधारमा अघि बढ्ने निष्कर्षमा पुगेको बताए।

'सम्बन्धित कमिटीहरुको आधारमा मोडालिटी गर्ने। स्थानीय तह, जिल्ला र प्रदेशको कमिटीका आधारमा चुनावको गठबन्धन हुन्छ भन्ने कुरा भएको छ,' उनले भने। गठबन्धनको चैत १७ गतेको बैठकले औपचारिक रुपमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।

उक्त बैठकले नै सबै तहमा चुनाव तयारीका लागि संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। टिकट वितरणका लागि गृहकार्य गर्न भन्दै गठबन्धनले केन्द्रमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय चुनाव तयारी समिति गठन गरेको थियो। उक्त समितिको शनिवार बसेको बैठकले शीर्ष नेताहरुलाई चुनावी तालमेलबारे सुझाव दिएको र उक्त सुझावका आधारमा आइतवार साझा अपिल आएको सत्तारुढ दलका नेताहरुले बताएका छन्। 

किन जारी भयो अपिल?

सत्तारुढ दलका नेताहरुका अनुसार पछिल्लो समय गठबन्धनमा टिकट वितरणका विषयमा एकमत हुन सकेको छैन। फागुन १७ गतेको बैठकले गठबन्धन बाहिरका दलहरुसँग चुनावी तालमेल गर्न नपाइने निर्णय गरेको थियो। उक्त निर्णयपछि पनि नेपाली कांग्रेसका स्थानीय कमिटीहरुले गठबन्धनबारे प्रश्न उठाएका थिए। आफ्नो पार्टीको उम्मेदवारले पाउनुपर्ने भन्दै कांग्रेसका जिल्ला तथा पालिका कमिटीहरुले केन्द्रबाट बनेको चुनावी तालमेलबारे प्रश्न उठाउन थालेपछि गठबन्धनका नेताहरुले सबै दलका कार्यकर्तालाई सन्देश दिन भन्दै सोमवार अपिल जारी गरेका हुन्।

'अपिल जारी गरेर गठबन्धनको चुनावी तालेमलबारे सन्देश दिन खोजिएको हो,' माओवादी केन्द्रका नेता गुरुङले भने।

सोमवार अपिल जारी गर्नेबारेमा २२ गते बसेको गठबन्धनको बैठकमा छलफल भएको थियो। आइतवारको चुनाव तयारी तथा अनुगमन
समितिको बैठकले अपिल जारी गर्न सुझाव दिएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल,जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षरमा विज्ञप्ति जारी भएको हो।

यसअघि नेपाली कांग्रेसमा संस्थापन इतरका नेताहरुले गठबन्धन गर्न नहुने मत राखेका भए पनि कांग्रेसको केन्द्रीय समितिको बैठकले आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेपछि कांग्रेस पनि तालमेलकै पक्षमा उभिएको हो। 

भागबण्डामै अलमल

गठबन्धनलाई सबैभन्दा सकस चुनावमा भागबण्डा मिलाउन देखिएको छ। अझै पनि कुन मोडालिटीमा चुनावमा जाने भन्नेबारेमा टुंगो लागिनसकेको गठबन्धनका नेताहरु बताउँछन्। भागबण्डाको विवाद मिलाउन भन्दै गठबन्धन दलहरुको अवस्थाबारे रिपोर्टिङ गर्न चैत २६ गते सम्मका लागि समय तोकिएको थियो। उक्त समयभित्र सबै ठाउँको रिपोर्ट नआइसकेको माओवादी नेता गुरुङले बताए। तर, केही जिल्लाहरुमा भने गठबन्धनको अवस्थाबारे रिपोर्टिङ मिलेर चुनावी मोडालिटीको तयारी भइरहेको गुरुङको भनाइ छ।

गठबन्धनले चैत मसान्तसम्म उम्मेदवारी टुंग्याउन गृहकार्य गरेको भए पनि देशभरका स्थानीय तहको उम्मेदवार टुंग्याउन ढिलाइ हुने भएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आउन अब एक महिना मात्रै बाँकी छ। आयोगले स्थानीय तह निर्वाचनको मनोनयन वैशाख ११ र १२ गतेका लागि तोकेको छ। 

माधव नेपालको दाबी : चुनावी हैसियतका आधारमा भागण्डा

गठबन्धनमा विभिन्न तालमेलको विभिन्न मोडालिटीबारे छलफल भइरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने २०७४ सालको स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा चुनावी तालमेल हुने दाबी गरेका छन्। उनले स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले सोही अनुसार तालमेल हुने दाबी गरेका हुन्। तालमेल अहिले मात्रै नभएर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म रहने नेपालको दाबी छ।

पर्वतको कुश्मामा आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, 'गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिन्छ। उम्मेदवारबारे हामी छलफलमा रहेका छौँ। ११ गतेको मिति तोकिएकाले वैशाख १० गते राति १२ बजेसम्म भए पनि उम्मेदवार तय गरिन्छ।'

नेपालले उक्त दाबी गरे पनि गठबन्धनमै रहेका दलहरु स्थानीय तह २०७४ को नतिजाका आधारमा चुनावी मोडालिटी बनाउन भने तयार छैनन्। त्यसमा जसपाले विरोध जनाएको बताइएको छ। जसपा र नेकपा एकीकृत समाजवादी पार्टी २०७४ सालको स्थानीय तहको निर्वाचनताका गठन भएका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell