
काठमाडौं : सरकारले समयमै निर्णय गर्न नसक्दा सशस्त्र प्रहरी बल अहिले नेतृत्वविहीन बनेको छ। सोमवार राति १२ बजेबाट महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाइसकेका छन्। खनाल सोमवार दिउँसो नै सशस्त्र प्रहरी कार्यालय हलचोकबाट बिदा भइसक्दा पनि सरकारले अर्को आइजी नियुक्त गर्न सकेको छैन।
महानिरीक्षक खनालले २०७४ चैत २९ गते आइजीको कार्यभार सम्हालेका थिए। सरकारले नयाँ आइजी नियुक्त गर्न नसक्दा खनालले निमित्त महानिरीक्षको जिम्मेवारी वरिष्ठताको आधारमा एआइजी पुष्पराम केसीलाई थमाएका छन्।
संगठनमा राजनीति चलखेल हाबी हुँदा महानिरीक्षक नियुक्तिमा समस्या दखिएको बताइएको छ। सशस्त्र प्रहरीको नेतृत्व अब कसले गर्छ? टुङ्गो अझै लागिसकेको छैन। अहिले आइजीको लागि दुई एआइजी प्रतिस्पर्धामा देखिन्छन्। खनालका ब्याजीमध्येका पुष्पराम केसी र रामशरण पौडेलेमध्ये एक जना आइजी हुनेछन्। वरीयताको आधारमा केसी अगाडि छन्। तर, उनीहरूको आइजी रहने समय निकै कम छ।
उमेर हदको कारण दुवै जनाले २१ दिनपछि अवकाश पाउनेछन्। जसकारण दुईमध्ये जो महानिरीक्षक बने पनि उसको कार्यकाल २१ दिनको हुनेछ।
आसन्न निर्वाचनको मुखैमा दुईजना आइजी सशस्त्र प्रहरीमा परिवर्तन हुने पक्का छ। वैशाख १९ गते उनीहरू मध्ये बन्ने एक जना महानिरीक्षकले पनि अवकाश पाउने छन्।
निर्वाचनको मिति नजिकिँदै गर्दा सशस्त्र प्रहरी प्रमुख समयमा नै नियुक्त नहुँदा सुरक्षामा प्रभाव पर्ने देखिन्छ।