PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'ह्याङ आउट' का लागि लोभलाग्दो माझीकुना जहाँ खरको कटेरोबाट सुरु भएको थियो रेस्टुरेन्ट



रिना थापा

'ह्याङ आउट' का लागि लोभलाग्दो माझीकुना जहाँ खरको कटेरोबाट सुरु भएको थियो रेस्टुरेन्ट

पोखरा : शान्त तालको आफ्नै सुन्दरता। ताल छेउमा डाँडाकाँडाको मनोरम दृश्य उस्तै। २०३९ सालमा बेलायती राजकुमार चार्ल्सले पदयात्रा गरेको मार्ग हो यो क्षेत्र। त्यसैले ‘रोयल ट्रेक’का रुपमा पनि परिचित छ बेगनास ताल वरपरको यो ठाउँ। त्यस समय राजकुमारले विजयपुरमा रहेको चौरबाट पदयात्रा थाल्दै चिन्ते डाँडा, कालिका, सौरे, राम्चे हुँदै स्याक्लुङको डाँडा र रुपाकोटको चिसापानी हुँदै अन्तिम रात बेगनासको जंगलमा बिताएर पदयात्रा टुंग्याएका थिए। राजकुमारले पदयात्रा गरेसँगै विदेशी पर्यटकमा ‘रोयल ट्रेक’बारे चासो स्वभाविक रुपमा हुने भयो नै। त्यसपछि फाट्फुट्ट पर्यटक आउन थाले बेगनास वरपर।

पर्यटकको आर्कषण पोखरा महानगर वडा ३१ मा पर्ने बेगनास तालको पुच्छरमा पर्ने माझीकुना पनि नपर्ने कुरै भएन। भिर र पाखा पखेरा। त्यसको छेउमा बेगनास। बेलायती राजकुमार आएपछि पर्यटकीय गन्तव्य बनेको माझीकुनाको पाखामा बसेर तालको पानीमा खुट्टा डुबाउँदै बस्थे विदेशी पर्यटक। यी सबै दृश्य नजिकैबाट नियालिरहेका हुन्थे स्थानीय सूर्यप्रसाद लामिछाने।

त्यस समय गाउँमा पूर्वाधार विकास भइसकेको थिएन। होटल र रेष्टुरेन्टको अवधारणा थिएन। आक्कल झुक्कल पुग्ने पर्यटकलाई गाउँलेले आतिथ्य सत्कार मनग्गे गर्थे। खुवाउँथे र बासको व्यवस्था मिलाउँथे। तर, यसरी यहाँ पुग्ने पर्यटकका लागि गाउँलेको आतिथ्यता र सत्कारभन्दा रमाइलो चाहिँ बेगनास किनार बन्यो। कति पर्यटकले माझीकुनामा टेन्ट लगाएर रात बिताए। कति पोखराको लेकसाइड नै फर्किए। पर्यटक त आए तर, तिनले बस्ने र खाने ठाउँ चाहिँ भएन। आफ्नो गाउँसम्म आएका पर्यटक बास बस्न फेरि लेकसाइडतिरै फर्किँदा नरमाइलो मान्थे सूर्यप्रसाद।

गाउँमै हुर्किएका हुन् उनी। होटल र रेष्टुरेन्टको बारे ज्ञान थिएन। न त आर्थिक स्थिति बलियो नै थियो। साथमा रकम नभए पनि केही गर्ने हुटहुटी भने थियो उनमा। त्यही हुटहुटीले माझीकुनाको डिलमा खरको सानो कटेरो बनाउन उक्सायो। २०६४ साल साउन १५ गते खरको कटेरो बनाएर सूर्यप्रसादले माझीकुनामा सुरुवात गरेका थिए व्यवसाय। भैंसी चराउने पाखामा सूर्यप्रसादको सानो कटेरोलाई त्यस समय गाउँलेले पागलपनकै रुपमा लिए। गाउँलेका कुरा सुनेर सूर्यप्रसादलाई बिचलित नबनाएको होइन।

‘खरको कटेरो बनाएर सुरु गर्दा यो बहुला भैंसी चराउने ठाउँमा रेष्टुरेन्ट सुरु गर्‍यो भने। एक दुई महिना त मलाई पनि नरमाइलो लाग्यो,’ विगतका दिन सम्झिँदै उनले भने।

जुन कटेरोले गर्दा गाउँलेले सूर्यप्रसादलाई पागलपनको ‘ट्याग’ भिराए त्यहीँ कटेरोले पहिलो दिन एक सय रुपैयाँको आम्दानी दियो। बिस्तारै आम्दानी बढ्न थाल्यो। सयबाट हजार हुँदै दश हजारसम्म एकै दिनमा व्यापार हुन थाल्यो। त्यसको असर कटेरोले खर छाडेर टिनको छत पायो।  

‘साधारण तरिकाले दोकान सुरु गरेको थिएँ। दुई चार दिनमा नै रेष्टुरेन्ट सुरु गरेँ, टुरिष्टहरु आउन थाले,’ उनले सम्झिए। 

रेष्टुरेन्ट त सुरु गरे। तर, त्यसका लागि पर्याप्त पूर्वाधार उनीसँग थिएन। पर्यटकको आगमन सन्तोषजनक थियो। रेष्टुरेन्टलाई स्तरोन्नति गर्नु थियो। तर, उनका सामुन्ने आर्थिक पाटो चुनौतिको पर्खाल नै बन्यो। अन्तत: उनले ऋण लिएरै भए पनि राम्रो रेष्टुरेन्टको कल्पना गरे। र, संचालनमा ल्याउने योजनाका साथ अघि बढे। तर, सोचेजस्तो हुन्थ्यो किन? उनका अघि समस्याको भार थपिइरहे। व्यवसाय लड्खडाउने अवस्थामा पुग्यो। त्यतिखेर ठूला छोराले हात समाइदिए बाबुको।

‘आर्थिक रुपमा पनि कमजोर थिएँ। तीन लाख खर्च गरेँ। रेष्टुरेन्टका लागि त्यति खर्च गर्दा ठूलो आर्थिक संकट आइलाग्यो मलाई। पछि छोराले व्यापार सुरु गर्न लागेपछि राम्रो भयो,’ उनले भावुक हुँदै सुनाए। माझीकुनामा सूर्यप्रसादले व्यवसायको जग बसाल्दै ‘प्रकाश रेष्टुरेन्ट’ संचालनमा ल्याए। त्यसलाई समाएर उनका छोरा विकास लामिछानेले त्यसैमा नयाँ आयाम थपे।

प्राकृतिक सुन्दरता बाहेक माझीकुनाको अर्को विशेषता हो पोलेको माछा। पोलेको माछा र माझीकुना पर्याय बन्दै गएको छ पछिल्लो समय। आन्तिरक पर्यटक माझीकुना पुग्नुको मुख्य कारण नै पोलेको माछा हो। जसलाई सुरुवात गरेको हुन् सूर्यप्रसादका ठूला छोरा विकासले नै।

वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेका विकासले उतै देखेका थिए पोलेको माछा। २०६७ सालमा नेपाल फर्किएपछि माझीकुनामा ‘ग्रिल फिस’को नयाँ स्वाद पस्किन थाले उनले। माझीकुनामा विकासले दिएको नयाँ स्वादले आन्तरिक पर्यटकलाई तान्न थालिहाल्यो।

‘२०६७ सालमा विकासले माछा पोल्न सुरु गर्‍यो। त्यतै जाँदा माछा पोल्ने आइटम सबैले देख्न थाले। एकचोटी खाने मान्छेले मनपराए। त्यसरी मार्केट लिएको हो। त्यसपछि प्रचार हुन लाग्यो। कसले चलायो कसरी चलायो भन्ने भयो,’ उनले बताए।

बिस्तारै माझीकुनाबारे त्यहाँ पुग्नेहरुले नै प्रचार गर्न थाले। पर्यटकको आगमनसँगै रेष्टुरेन्ट थपिनेक्रम बढ्यो। सूर्यप्रसादका दाजुभाइहरुले पनि त्यहीँ रेष्टुरेन्ट संचालनमा ल्याए। अहिले ठूला छोराले ‘एलेक्स रेष्टुरेन्ट’ र अर्का छोराले ‘प्रकाश रेष्टुरेन्ट’ चलाएर बसेका छन्।

सूर्यप्रसाद माझी कुनाको रेष्टुरेन्टको सम्पूर्ण जिम्मेवारी दुवै छोरालाई दिएर सुन्दर डाँडामा उक्लिएका छन्। डाँडामा पनि उनी ‘भ्यू पोइन्ट रेष्टुरेन्ट’ संचालन गर्छन्। ‘छोराछोरीलाई माझीकुनामा सेटिङ गरेर अहिले सुन्दर डाँडामा बस्छम् बुढाबुढी, उनी सन्तुष्ट सुनिए,' 'दुवै मिलेर भ्यू पोइन्ट रेष्टुरेन्ट सुन्दरी डाँडामा चलाउँछौं। हाम्रो वडालाई व्यवस्थित गर्ने  हो भने सबै छ। धेरैले रोजगारी पाउँछन्। पर्यटक पनि आउँछन्।’

तीनवटा कोठाबाट सुरु व्यवसाय

माझीकुनामा व्यवसाय संचालन गरेर बसेको दश वर्ष बित्यो विश्वराज पौडेलले। उनले व्यवसाय संचालन गर्दा माझीकुनामा जम्मा पाँचवटा रेष्टुरेन्ट थिए। होटल र रेष्टुरेन्ट संचालनमा आए पनि पर्यटकको लागि अपुग थियो। त्यहीँ देखेर विश्वराजले पनि तीनवटा कोठा बनाएर होटल संचालनमा ल्याए।

‘त्यतिबेला झोला बोक्ने 'खैरे'हरु ठाउँ नै नभएर पोखरा फर्किन्थे। अनि आफ्नै ठाउँमा केही बनाउँ भन्ने भयो। त्यतिबेला तीनवटा रुमबाट सुरु गरेको हुँ,’ उनले भने।

अहिलेको समयमा उनको बेगनास लेक फ्रन्ट रेष्टुरेन्ट र बेगनास गेष्ट हाउस संचालनमा छ। रेष्टुरेन्ट तालको छेउमै संचालनमा छ भने गेष्ट गाउस थोरै माथितिर।

सुरुवातदेखि नै शुक्रवार र शनिवारका दिन माझीकुनामा पोखरा आसपास क्षेत्रका घुम्न पुग्थे मानिस। लकडाउनको समयदेखि माझीकुनामा आन्तिरक पर्यटकको चहलपहल ह्वात्तै बढ्यो। ‘रेष्टुरेन्ट इर्मज भएको धेरै भएको छैन। आन्तिरक पर्यटक यो लकडाउन पछि आउन थाले। विदेशी नै आउँथे पहिले। अहिले ग्रिल फिसले फेमस भएछ। ओहो! माझीकुना जाने ग्रील फिस खाने भन्ने ट्रेन्ड नै भयो टिकटकमा पनि,’ उनले सुनाए।

साढे दुई करोड लगानीमा रेष्टुरेन्ट

विशेषत कोरोना पछि नै हो माझीकुनाले आन्तिरक पर्यटकको आगमन पाएको। अघिपछि पर्यटक नपुगेका भने होइन। तर पनि माझीकुनाको विशेषता रहेको माछाले कोरोना महामारीमा सामाजिक सञ्जालमा राम्रो प्रचार पायो। माझीकुनामा पर्यटकको चाप बढेसँगै रेष्टुरेन्ट खोल्नेको संख्या पनि बढेको छ। त्यसैमध्येका एक हुन् सम्राट शर्मा।

सूर्यप्रसाद लामिछाने, सम्राट शर्मा र विश्व राज


उनले कोरोना महामारीकै समयमा व्यवसाय संचालनमा ल्याएका थिए। साढे दुई करोड लगानीमा सुरु भएको ‘ह्याङ आउट रेष्टुरेन्ट’को सफ्ट ओपनिङ मात्र भएको छ। पर्यटकको आगमन उत्साहजनक रहेको सम्राट सुनाउँछन्।

‘सुरु गरेको एक वर्ष जति भयो। सफ्ट ओपनि मात्र गरेका हौं। माझीकुना बेस्ट प्लेस हो ह्याङआउटका लागि,’ उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell