काठमाडौं : संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावलाई असफल गराउने हतियारको रुपमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटनलाई लिए। यसअघि नै राष्ट्रियसभाका उपसभामुखले अविश्वासको प्रस्तावलाई खारेज गरिदिएका थिए। अविश्वासको प्रस्ताव खारेज भएसँगै खानले राष्ट्रियसभा विघटनका लागि सिफारिस गरेका थिए। सोही अनुसार राष्ट्रपतिले संसद पनि विघटन पनि गरिदिए।
संसद विघटनलाई त्यहाँको सर्वोच्च अदालतले उल्ट्याइदियो। खान विरुद्धको अविश्वासको प्रस्ताव पारित भयो। खानको बहिर्गमन भयो। ३४२ सदस्यीय सदनमा खानविरुद्ध अविश्वासको प्रस्ताव १७४ मतले पारित भयो। जुन बहुमत भन्दा २ मात्र बढी थियो। अनि शहवाज शरीफ पाकिस्तानका नयाँ प्रधानमन्त्री भए।
सभामुख असद क्विसरले राजीनामा दिए पछि सभाको अध्यक्षता पीएमएल-एन का ऐयाज सादिकले गरेका थिए। खान पाकिस्तानको इतिहासमा अविश्वासको प्रस्ताव मार्फत हटाइएका पहिला प्रधानमन्त्री हुन्। यसअघि सन २००६ मा सौकत अजिज र १९८९ मा बेनजिर भुट्टो विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भए पनि असफल भएका थिए।
राष्ट्रियसभाबाट सामुहिक राजीनामा
राष्ट्रियसभाबाट अविश्वासको प्रस्ताव पारित भएसँगै पीटीआईका अध्यक्षसमेत रहेका खानले राष्ट्रियसभाको सदस्यसमेत बाट राजीनामा दिएका छन्। सभाबाट पीएमएल-एन नेता शहवाज शरिफलाई प्रधानमन्त्री निर्वाचित गर्ने सभाको बैठकमा पीटीआईका कुनै पनि सदस्य उपस्थित भएनन्।
पीटीआईका सबै सदस्यले सामुहिक राजीनामाको निर्णय गरेको पार्टीका केन्द्रीय सूचना सचिव फारुख हबिबले जानकारी दिएका थिए।
लगत्तै पीटीआई सांसद मुराद सइदले राजीनामा दर्ता गराएको ट्रिबुनले जनाएको छ।
त्यसपछि लगातार रुपमा पीटीआईका सांसदहरुले प्रधानमन्त्री खानलाई विदेशीको इशारामा हटाएको भन्दै पाकिस्तानको सार्वभौमिकताको लडाइमा होमिन पदबाट राजीनामा दिएको घोषणा गरिरहेका छन्।
खानले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिँदै 'चोरहरु'सँग एकै स्थानमा नबस्ने घोषणा गरेको समाचारमा जनाइएको छ।
'जो व्यक्ति माथि १६ बिलियन र ८ बिलियन रुपैयाँको भ्रष्टाचारको मुद्दा छ त्यसलाई जसले प्रधानमन्त्री चुने पनि वा निर्वाचित गरे पनि त्यो भन्दा ठूलो राष्ट्रको बेइज्जत अरु केही हुँदैन। हामी राष्ट्रियसभाबाट राजीनामा दिँदै छौँ,' खानले भनेका छन्।
यसैबीच खानले तत्काल निर्वाचनको मागसमेत गरेका छन्। 'हामीले तत्काल निर्वाचनको माग गरिरहेका छौं। यो नै अगाडि बढ्ने एक मात्र विकल्प हो। स्वतन्त्र र निष्पक्ष निर्वाचनबाट जनतालाई निर्णय गर्न दिउँ उनीहरु कसलाई प्रधानमन्त्री चाहन्छन्,' खानले ट्वीटरमा लेखेका छन्।
We are demanding immediate elections as that is the only way forward -- to let the people decide, through fair & free elections, whom they want as their prime minister.
— Imran Khan (@ImranKhanPTI) April 11, 2022
त्यस्तै शरीफ प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सिन्धका गभर्नर इमरान इस्माइले पनि पदबाट राजीनामा दिएका छन्। 'भ्रष्टाचारको आरोपमा संघीय अनुसन्धान आयोगबाट अनुसन्धान चलिरहेकाहरुको लागि काम गर्न अस्वीकार गर्दछु,' उनले राजीनामा दिँदै भनेका छन्।
एक पछि अर्को गर्दै पाकिस्तानका विभिन्न प्रान्त र संघीय इकाइमा नियुक्ति पाएकाहरुले राजीनामा दिइरहेका छन्।