PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ऋषि धमला विमान प्रकरण : नेवानिसँग क्यानले माग्यो स्पष्टीकरण



पहिलोपोस्ट

ऋषि धमला विमान प्रकरण : नेवानिसँग क्यानले माग्यो स्पष्टीकरण

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासहित भीआइपी रहेको उडानमा पत्रकार ऋषि धमलाले गरेको ‘प्रोटोकल उल्लंघन’का विषयमा नेपाल वायुसेवा निगम (नेवानि)लाई नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्पष्टीकरण सोधेको छ।

विमानमा धमलाले जबरजस्ती गरेको प्रकरण छानबिनका लागि निगमले उपमहाप्रबन्धक केबी थापाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिले केही दिनमै प्राधिकरणलाई प्रतिवेदन दिने गरी अध्ययन भइरहेको निगमका एक अधिकारीले बताए।

प्रधानमन्त्री देउवा गत साता तीनदिने भ्रमणका लागि भारत भ्रमणमा गएका थिए। चैत २० गते नेपाल फर्कँदा नेपाल वायुसेवा निगमको दिल्ली-काठमाडौं उडानमा धमला जबर्जस्ती प्रधानमन्त्री देउवाको कक्षमा छिरेका थिए। विमानका कर्मचारीले रोक्दा रोक्दै धमला भिआइपी रहेको कक्षमा पुगेका थिए।

प्रधानमन्त्रीसहितको भीआईपी टोली सवार उक्त उडानमा धमलाले नियम उल्लंघन गर्दै निषेधित कक्षमा क्यामरासहित प्रवेश गरेपछि क्यानले नेवानिलाई कारबाही अगाडि बढाउन भनेको थियो।

धमलाले प्रधानमन्त्री देउवा बसेको बिजनेस क्लास 'सांग्रिला' तर्फ अनुमति नलिइ जबर्जस्ती भिडियो क्लिप लिँदै प्रवेश गरेका थिए। उडानकै क्रममा धमलाले देखाएको उक्त हर्कत उडानका साथै प्रधानमन्त्रीको व्यक्तिगत सुरक्षा प्रोटोकलको समेत उल्लंघन भएकाले उनलाई कारबाही अगाडि बढाइने अधिकारीहरुले बताएका छन्।

दिल्ली-काठमाडौं रुटको नेपाल वायुसेवा निगमको उडान नं. २१८ मा यो घटना भएको थियो।

'इकोनोमिक क्लासमा रहेका प्यासेन्जर बिजनेसमा र बिजनेसका इकोनोमिक क्लासमा जान नपाइने प्रावधान छ। त्यो दिन धमला क्यामरा अन गरेर बलजफ्ती बिजनेस क्लासमा प्रवेश गरेको' जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell