काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणका लागि आवश्यक ऐनहरू बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गर्नुपर्ने बताएका छन्।
मंगलबार राजधानीमा शहरी विकास मन्त्रालयले आयोजित एक कार्यक्रममा उनले बढ्दो शहरीकरण र त्यसबाट उत्पन्न भएका विभिन्न समस्यालाई समाधान गरेर शहर व्यवस्थापनमा ध्यान दिनु अबको आवश्यक्ता भएको बताएका हुन्।
दाहालले अहिले विश्व नै ‘ग्लोबलाइज्ड’ र ‘डिजिटलाइज्ड’ भएको भन्दै यसको प्रभावले नेपालको विकास मोडेलमा पारेको नकारात्क र सकारात्मक प्रभावलाई गम्भीरताका साथ अध्ययन गर्नुपर्ने बताए। साथै, मौलिक किसिमको तरिकाबाट देशको विकास गर्न आवश्यक रहेको बताए।
सोही कार्यक्रममा उनले नेपाल विकासको गतिमा अघि बढिरहेको तर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने मानिसहरु सक्रिय रहेको आरोप लगाए।
‘एउटा प्रवृत्ति छ। संघीय लोकतान्त्रिक गणतन्त्र वा समावेशी समानुपातिक चरित्रको यो संविधानलाई त्यति रुचीकर ठान्दैन। त्यो प्रवृति अहिले पनि तपाई हामीले देखिरहेका छौँ। कुनै न कुनै रुपले यसलाई विघटन गर्ने, वा यसबाट अर्को दिशातर्फ लाद्ने कसरतहरु भइरहेका छन्,’ प्रचण्डले भने।