PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

ऊर्जामन्त्री भुसाल र अष्ट्रियाका राजदूतबिच शिष्टाचार भेट



रासस

ऊर्जामन्त्री भुसाल र अष्ट्रियाका राजदूतबिच शिष्टाचार भेट
फोटो : ऊर्जामन्त्री पम्फा भुसालको सचिवालय।

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेकी छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूले दुई देशबिच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा विचारविमर्श गरे।

भेटमा ऊर्जामन्त्री भुसालले पाटन सङ्ग्रहालय र केशर महलस्थित बगैँचाको जीर्णोद्धारमा अष्ट्रियाले पुर्‍याएको सहयोगप्रति त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरिन्। उनले वातावरण र साँस्कृतिक सम्पदा संरक्षण, खानेपानी एवं पर्यटन विकासमा अष्ट्रियाले नेपाललाई सहयोग गरेको स्मरण गरिन्। उनले जलवायु परिवर्तन र वातावरणीय प्रभावका विषयमा पनि दुई देशबिच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।

मन्त्री भुसालले सन् २०३० सम्ममा दिगो विकासका लागि हासिल गर्नुपर्ने लक्ष्य भेट्टाउनका लागि अष्ट्रिया सरकारको साथ रहने विश्वास व्यक्त गरिन्। नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री भुसालले आगामी दिनमा दुई देशबिचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिन्।

सो अवसरमा राजदूत वाइजरले अष्ट्रिया र नेपालबिच भौगोलिक बनावट उस्तै रहेको उल्लेख गर्दै आगामी दिनमा जलविद्युत्को क्षेत्रमा सहकार्य गर्न सकिने बताइन्। उनले आफ्नो देशमा ६० प्रतिशत जलविद्युत् ऊर्जा प्रयोग भएको र बाँकी सौर्य एवं बायोमास प्रयोग हुँदै आएको जानकारी गराइन्।

भेटमा ऊर्जा सचिव देवेन्द्र कार्की तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो। नेपाल र अष्ट्रियाबिच सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell