
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले सत्ता गठबन्धनले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन सार्न खोजेको ओलीले आरोप लगाएका हुन्।
‘शेरबहादुरजी चुनाव रोक्ने षड्यन्त्रमा लागि सक्नु भो। विप्लवजी के भन्न थाल्नुभएको छ भने दर्ता गर्न समय चाहियो। अस्ति दर्ता गर्ने समय दिँदा किन दर्ता गर्नु भएन? तपाईँ लोकतन्त्रविरुद्धको षड्यन्त्रमा नलाग्नुस,’ओलीले भने।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'लाई षड्यन्त्रकारी नेताका रुपमा जनताले नचिन्ने भए पनि उनले अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग साँठगाठ गर्न लागेको ओलीको आरोप छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि विप्लवलाई देखाएर चुनाव सर्न सकिने अभिव्यक्ति दिएको भन्दै ओलीले आक्रोश व्यक्त गरे। उनले कुनै पनि हालतमा चुनाव सार्न नमिल्ने बताए।
‘कुनै पनि हालतमा चुनाव सार्न मिल्दैन। हामीले पहिले पनि हेरेका छौँ माओवादीलाई देखाएर चुनाव नगर्ने निर्णय गरिएको थियो,’ उनले भने।