काठमाडौं : हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाडौं लगेबापत रोयल्टी र मुनाफा उपलब्ध गराउन माग गरेका छन्। आज मेलम्ची खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा उनले खानेपानीमन्त्री उमाकान्त चौधरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए।
एघार बुँदे ज्ञापनपत्र बुझाउँदै अध्यक्ष शेर्पाले हेलम्बुका बाढीपीडितलाई सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध गराउने रकम प्रतिपरिवार पाँच लाख तोकिएकामा उक्त रकम बढाएर प्रतिपरिवार कम्तीमा रु १५ देखि २० लाख रकम उपलब्ध गराउने व्यवस्था मिलाइदिन माग गरेका थिए। यस्तै, मेलम्चीको पानी काठमाडौँ लगेबापत रोयल्टीको र बिक्री मूल्यको प्रतिशतमा मुनाफा बाँडफाँटबापतको २५ प्रतिशत सम्बन्धित गाउँपालिकालाई उपलब्ध गराउने व्यवस्थाका लागि ठोस पहल गर्न पनि उनले माग गरेका छन्।
मन्त्री चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरेका थिए। गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री चौधरीले वैशाखसम्ममा काठमाडौँको धारामा पानी पुग्ने बताएका थिए। मन्त्री चौधरीले सरकारी लक्ष्यअनुसार चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न पाएकोमा खुसी लागेको समेत बताए। रासस