पोखरा : स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) बाट पोखरा महानगरपालिकाको प्रमुख पदका लागि १२ जनाले आकांक्षा देखाएका छन्। मंगलबार एमालेको महानगरपालिका कमिटीले पोखराको प्रमुख र उपप्रमुखमा आकांक्षी रहेकाहरुको नाम संकलन गरेको थियो। प्रमुख र उपप्रमुख पदमा आकांक्षी रहेकाले आज भएको बैठकमा नाम दर्ता गराएका थिए।
प्रमुख पदमा बहालवाला सांसददेखि पुर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सम्धिनी समेत आकांक्षी देखिएका छन्।
प्रमुख पदमा आवेदन दिने १२ जनामा प्रदेश सांसद राजिव पहारी, कृष्णबहादुर थापा, प्रा. डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मिनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा रहेका छन्।
कृष्ण थापा पोखराका पूर्वप्रमुख हुन्। २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरको प्रमुखमा उनी निर्वाचित भएका थिए। प्रदेशसभा सांसद समेत रहेका उनले प्रमुख पदका लागि केहि महिना अगाडिबाट नै दौडधुप गरिरहेका थिए। यस्तै, प्रमुखमा आकांक्षा राखेकी मिना पूर्व मुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङकी सम्धिनी हुन्।
यस्तै महानगर कमिटीका अध्यक्ष मानबहादुर गुरुङका अनुसार उपप्रमुख पदमा एघार जनाले नाम दिएका छन्।
तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी,सुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी,जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीले उपप्रमुख पदमा आकांक्षा देखाएका छन्।
बहालवाला प्रमुख मानबहादुर जिसि र उपप्रमुख मन्जुदेवी गुरुङले भने फेरि दोहोरिन आकांक्षा देखाएका छैनन्।
त्यस्तै, एमाले महानगर कमिटीले पोखरा महानगरपालिका वडाका उम्मेदवारको लागि पनि नाम टुंगो लगाउने अन्तिम तयारी गरेको छ। वडाका लागि उम्मेदवार पार्टीले सर्वसम्मत रुपमै चयन गर्न खोजेको छ।
'वडाको पनि लगभग टुंगो लाग्यो। एकदुईवटा वडामा सर्वसम्मत रुपमा नाम टुंगाउन सकेका छैनौं,' एमालेका एक नेताले भने,'हामी पुन: बैठक बसेर छिटै सबै नाम टुंगो लगाउछौं।'
एमाले पोखराको नेतृत्व हाक्न आकांक्षी बनेकाबिच सहमतिको प्रयास गरेर नाम सिफारिस गर्ने ती नेताले बताए। सहमति नभए मतदान मार्फत तीन जनाको नाम छनोट गरेर केन्द्रीय कमिटीलाई सिफारिस गर्नेछ।