
वीरगंज : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा माओवादी बिग्रिएको कम्यूनिष्ट पार्टी भएको बताएका छन्।
मंगलवार वीरगंजमा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री गुरुङले भने, ‘जसरी बिग्रेका कम्यूनिष्ट कुहिएको माछा सरह नै हुन्छ, त्यसरी नै अहिलेको अवस्थामा माओवादी बिग्रेको कम्युनिस्ट र कुहिएको माछा हो।’
उनले गठबन्धनका नेताहरु नेता स्याल र एमालेका नेताहरु हात्ती भएको बताए। साथै स्थानीय तह निर्वाचनमा मधेशमा एमालेले जित हासिल गर्ने दाबी गरे।
मधेशमा पछिल्लो समय एमालेप्रति आकर्षण बढ्दै गएकोले एमालेले निर्वाचनमा अत्याधिक सिट जित्ने उनले बताए।
उनले आफूमन्त्री हुदाँ निजगढ एयरपोर्टको योजना प्रारम्भ गरेको बताउँदै मधेशलाई समृद्ध पार्ने योजना एमालेसँग मात्रै भएको बताए।
‘गत चुनावमा जस्तै मधेशी जनता भ्रममा नपर्नु होला। मधेश बनाउने एमाले हो’ उनले भने।
मधेश समृद्ध भयो भने देश समृद्ध हुने र एमालेले बोकेको समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा हुने विश्वास व्यक्त गरे।