
काठमाडौँः सत्ता गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडमा सहमति गरेको छ। गठबन्धनद्वारा गठित केन्द्रीय संयन्त्रले सिट बाँडफाँडका आधार तय गरेको हो। बाँडफाँडमा सात आधार तय भएका छन्।
संयन्त्रको बैठकले यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएका स्थान यथावत राख्ने भएका छन्। नवगठित एकीकृत समाजवादीको हकमा पनि यही व्यवस्था लागू हुनेछ।
यस्तै अघिल्लो निर्वाचनको उम्मेद्ववारहरुले पाएको मतभारलाई पनि सिट बाँडफाँडको आधार मानिएको छ।
बैठकले २०७४ को स्थानीय निर्वाचनमा जित हासिल नगरेको भए पनि गठबन्धनभित्रका अन्य दललाई पनि सहभागी गराउने सहमति गरेको छ। २०७४ को निर्वाचनमा गठबन्धनबाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलहरुले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँड गर्ने पनि संयन्त्रले आधार तय गरेको छ। सिट बाँडफाँडमा वर्तमान संगठनात्मक संरचनालाई पनि आधार मान्ने समझदारी गठबन्धनभित्र बनेको छ। चुनावी तालमेल गठबन्धनमा रहेका दलबीच मात्र गर्ने सहमति पनि संयन्त्रले गरेको छ।