PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

संघकै सिको गर्दै प्रदेश सरकार : अध्यादेशबाट शासन मोह, वाग्मती सरकारले ल्यायो चार अध्यादेश



निशा गुरुङ

संघकै सिको गर्दै प्रदेश सरकार : अध्यादेशबाट शासन मोह, वाग्मती सरकारले ल्यायो चार अध्यादेश

हेटौंडाः वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलो संशोधन अध्यादेश, २०७८ जारी गरेका छन्। मंगलवार प्रतिष्ठानसहितका ४ अध्यादेश शर्माले जारी गरेका हुन्। संघीय सरकारको सिको गर्दै प्रदेशले पनि धमाधम अध्यादेश शासनलाई बढवा दिएका हुन्। वाग्मती प्रदेश सरकारले पनि हालै चार अध्यादेश सिफारिस गरेको हो। सिफारिस प्रदेश प्रमुखबाट कार्यान्वयन भइसकेको छ।

शर्माले स्थानीय तहको सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्थान गर्न बनेको अध्यादेश २०७८, प्रदेश निजामती सेवा गठन, सञ्चालन र सेवाका शर्तहरुका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८, विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, जारी गरेका हुन्।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलो संशोधन अध्यादेशले केही समयअघि राजनीतिक तरंग ल्याएको थियो। तर, अध्यादेश जारी भइसक्दा पनि एमाले पंक्ति मौन देखिएको छ।

वाग्मती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताल अलग गर्न लागेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गरेको छ। वर्तमान सरकारले अघिल्ला सरकारले ल्याएका योजना रोक्ने उद्धेश्यअनुसार राजनीतिक प्रतिशोध राखेर स्वास्थ्य क्षेत्रमा हस्तक्षेपकारी भूमिका सुरु गरेको भन्दै विरोध गरेको थियो।

प्रदेश सरकारले अध्यादेश ल्याएर हेटौंडा अस्पतालबाट प्रतिष्ठान अलग गराउने निर्णय गरेको थियो। उक्त निर्णयप्रति एमालेले आपत्ति जनाउँदै आएको छ।

तर, वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रतिष्ठान हेटौंडाबाट सार्न खोजिएको भन्दै फैलाइएको हल्ला गलत भएको जिकिर गरे।

राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिसँगको छलफलमा लामाले प्रतिष्ठानको संरचना निर्माण हेटौंडामा नै हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell