
काठमाडौं : नेकपा माओवादी केन्द्रको चुनावी अभियान पोस्टरमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो प्रयोग गरिएको छ।
'लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको' क्याप्सनसहित माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेरिफाइड पेजबाट पोस्टर बुधवार बिहान सार्वजनिक भएको हो।
'अँध्यारोबाट उज्यालोको यात्रा लेखिएको' पोस्टरमा अध्यक्ष प्रचण्डपछि अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको फोटो राखिएको छ। तीनै जनाको फोटोमाथि माओवादीको चुनाव चिन्ह हँसिया हथौडा राखिएको छ। सँगै 'ह्यासट्याग भोटफरसिपिएनमाओइस्ट' लेखिएको छ। यो पोस्टर प्रयोग गर्दै सामाजिक सञ्जालमा माओवादी कार्यकर्ताले प्रचार थालिसकेका छन्।
केही समयअघि प्राधिकरणका प्रमुख घिसिङले आफूलाई माओवादीकै अध्यक्ष प्रचण्ड र नेता शर्माले विद्युत प्राधिकरणमा ल्याएको भनी दिएको अभिव्यक्ति पनि अहिले सामाजिक सञ्जालमा माओवादी कार्यकर्ताले प्रचारमा प्रयोग गर्न थालेका छन्। इमेज टेलिभिजनमा केही समयअघि लिइएको वार्तामा कुलमानले भनेका छन्, 'कुलमान घिसिङलाई कसले ल्यायो भने त्यो प्रस्टै छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्थ्यो। जनार्दन शर्मा मन्त्री हुनुहुन्थ्यो। उहाँहरुले राम्रो व्यक्ति भनेर सेलेक्ट नगरेको भए म आइपुग्ने थिएन होला।'
विद्युत प्राधिकरण सरकारी संस्थान हो। निर्वाचन आयोगले हालै निर्वाचन आचारसंहिता जारी गर्दै सरकारी कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न बन्देज लगाएको छ। आचारसंहिताको अनुच्छेद ३ को ६ मा संवैधानिक निकाय तथा सोका पदाधिकारी, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको क मा यो विषय उल्लेख गरिएको छ। घिसिङ गत साउनको अन्तिममा दोस्रोपटक प्राधिकरण प्रमुखका रुपमा फर्किएका हुन्। उनलाई प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले प्रधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।