अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले युक्रेनमा ‘नरसंहार’ मच्चाएको आरोप लगाएका छन्। मंगलवार एक कार्यक्रममा उनले युक्रेनमा नागरिकहरुको हत्या गरेर रसियाले ‘नरसंहार’ गरेको बताएका हुन्।
यसअघि बाइडेनले रसियाका राष्ट्रपति भ्लादमीर पुटिनलाई ‘युद्ध अपराधी’ को संज्ञा दिएका थिए।
युक्रेनका कयौं शहरमा नागरिकहरुको हत्या भएको रिपोर्टहरु सार्वजनिक भएपछि अहिले पुटिनको आलोचना भइरहेको छ। युक्रेनी शहर मउरीपोलमा मात्रै २१ हजार नागरिकको मृत्यु भएको दखाबी गरिएको छ। पुटिनमाथि ‘नरसंहार’ को आरोप लगाएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेस्नेकीले बाइडेनको अभिव्यक्तिको स्वागत गरेका छन्।
रसियाले भने आरोपहरुको खण्डन गर्दै त्यसलाई ‘पोपागान्डा’को संज्ञा दिएको छ। मंगलवार भने पुटिनले रसियामा गरिएको कारवाहीको विकल्प नभएको बताएका थिए। उनले युक्रेनीहरुको जीवनमा ‘नाजीवाद’ हाबी भएको टिप्पणी समेत गरेका थिए।
युक्रेन र रसियाबिचको युद्ध सुरु भएको आज ४८ औं दिन पुगिसकेको छ। यसबिच दुवैतर्फबाट हजारौं मानिसको मृत्यु भएको दाबी गरिएको छ। मृतकहरुको संख्या आधिकारिक रुपमा पुष्टि भने हुन सकेको छैन। युद्धका कारण युक्रेनबाट हालसम्म ४५ लाख भन्दा मानिस पलायन भइसकेका छन्।