PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वर्ष २०७८ : विदेशी फिल्मकै दबदबा हुँदा नेपाली फिल्मले तान्न सकेन दर्शक



लक्ष्मी बलायर

वर्ष २०७८ : विदेशी फिल्मकै दबदबा हुँदा नेपाली फिल्मले तान्न सकेन दर्शक

काठमाडौं : करिब दुई वर्ष नेपाली सिनेमा क्षेत्र ठप्प रह्यो। कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण विश्वभरकै मनोरञ्जन क्षेत्र प्रभावित हुँदा नेपाली सिने क्षेत्रको गति पनि रोकियो।

२०७७ सालको अन्त्यमा सिनेमा हल खुले। केही फिल्म रिलिज भए तर त्यसले दर्शक तान्न सकेन। २०७८ सालमा फेरि कोरोना संक्रमण बढेपछि सिनेमा घर बन्द भए र फेरि मनोरञ्जन क्षेत्रमा अन्योलको माहोल सिर्जना भयो। १ वर्षपछि बल्ल बामे सर्न लागेको फिल्म क्षेत्र वर्षको सुरूवातमै फेरि धरापमा पर्‍यो।

असार पहिलो साताबाट सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै संगीत क्षेत्र भने केही जुर्मराउन थाल्यो। गीत रेकर्डिङ तथा म्युजिक भिडियोको छायाँकन सुरु हुन थाले। निर्माताहरूले पनि म्युजिक भिडियोमा लगानी गर्न कन्जुसाई गरेनन्। फिल्म क्षेत्र ठप्प भएपनि सांगीतिक क्षेत्र भने चलायमान बन्यो। कलाकारहरू पनि म्युजिक भिडियोतिर व्यस्त हुन थाले। संगीत क्षेत्रको लागि यो वर्ष उत्साहजनक नै रह्यो।

उपत्यकाका फिल्म हलहरु भदौ १७ गतेबाट खोल्न सरकारले अनुमति दियो। निश्चित मापदण्ड अपनाएर। तर, फिल्म नहुँदा हलहरू भने खुल्न सकेनन्। वैशाखमा बन्द भएका हलहरू ५ महिनापछि अन्तत: असोज २१ गतेबाट खुले। हल खुलेको पहिलोदिन हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस ९’ र ‘नोबडी’ रिलिज भए।

डाँडाको वरपीपल र महानायक

हल खुलेपनि कोरोनाले डेढ वर्ष होल्डमा रहेका नेपाली फिल्मको मिति तोकिएन। तर, सोही समय निर्देशक शोभित बस्नेतले फिल्म रिलिज गर्न आँट देखाए। असोज २६ गते अर्थात फुलपातीको दिन फिल्म 'डाँडाको वरपीपल' प्रदर्शन भयो। यो फिल्म कोरोना कहरको निषेधाज्ञापछि रिलिज भएको पहिलो नेपाली फिल्म हो।

फिल्ममा कलाकारहरु शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल लगायत सलोन बस्नेत र रुवीना थापाको अभिनय थियो। तर, नाम चलेका कलाकार अटाएको यो फिल्म हेर्न सिनेमाहलमा भने दर्शक पुगेनन्। बरू यो फिल्मले 'महानायक' विवाद ब्युँताइदियो।

केही वर्षयतादेखि महानायक उपाधि बहसको नै विषय बनेको छ। यसअघि कलाकार दिपाश्री निरौला महानायक विवादमा फसेकी थिइन्। 'डाँडाको वरपीपल' फिल्म रिलिज अघि यो विवाद पुन: ब्युँतियो। फिल्मको कार्यक्रममा शोभितले अभिनेता भुवन केसीलाई नेपालको एकमात्र महानायक भनि सम्बोधन गरे। भुवन पनि खुसी नै देखिएका थिए। भुवन केसी नै नेपालको एकमात्र 'महानायक' भन्दा यता राजेश हमालका फ्यानहरु रिसाए। शोभित बस्नेतले साइबर बुलिङको सिकार हुनुपर्‍यो। फिल्म नै बहिष्कार गर्ने कुराहरू आए। फिल्ममा असर पुग्ने डरले अन्त्यमा शोभितले 'युटर्न'लिए। उनले कार्यक्रमबिच राजेश हमालको फोटो राखेर आफुले गल्ती गरेको भनि माफी माग्न मागे। राजेश नै महानायक भएको भनि स्वीकारे र राजेशलाई भेटेर समेत माफी माग्न समेत भ्याए। तर पनि उनको माफीले फिल्मलाई फाइदा भने पुर्‍याएन।

‘सूर्यवंशी’ ले फर्कायो दर्शक

तिहारको अवसरमा बलिउड फिल्म 'सूर्यवंशी' रिलिज भयो। रिलिज भएसँगै यस फिल्मले नेपाली सिनेमाहलमा कोरोनाअघिको माहोल फर्काउन सफल भयो। अक्षयकुमार अभिनित फिल्मले फर्काएको दर्शक देखेर नेपाली निर्माताहरुले पनि होल्डमा रहेका फिल्मको रिलिज मिति तोक्न कस्सिए। यस अवधिमा 'चपली हाइट ३', 'लप्पन छप्पन २', 'प्रेमगीत ३', 'म यस्तो गीत गाउँछु -२', 'सम्हालिन्छ कहिले मन' लगायत होल्डमा रहेका ठुला बजेटका फिल्महरुका रिलिज मिति तय भए।

'डाँडाको वरपीपल' पछि नेपाली फिल्म 'धुम ४', 'ओभरडोज', 'सकिन भुल्न तिमीलाई' रिलिज भए। तर दर्शकले ती फिल्म बारे थाहा नै पाएनन्।

पुसको पहिलो साता नेपाली सिनेमाहलमा दुई ठूला विदेशी फिल्महरू रिलिज भए। हलिउड फिल्म 'स्पाइडर म्यान- नो वे होम' र अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित तेलुग फिल्म 'पुष्पा- द राइज'।

यी दुवै विदेशी फिल्महरूले पनि नेपाली बक्सअफिसमा आक्रामक व्यापार गर्‍यो। सुर्यवंशीको लयलाई समात्न सफल भएका यी फिल्महरूले मोटो रकम उठाए। पुस ९ गते नेपाली फिल्म 'चुरीफुरी' रिलिज भएपनि व्यापार गर्न सकेन।

पुस १६ गतेदेखि नेपाली फिल्म 'कठपुतली' प्रदर्शनमा आयो। हरर जनरामा निर्माण भएको यस फिल्मले भने केही हदसम्म दर्शक तान्न सफल भयो। फिल्मलाई दर्शकको राम्रै साथ मिल्यो।

पुसको अन्तिम साता कोरोनाको ओम्रोक्रन भेरियन्टका कारण संक्रमण फैलिने दर बढ्दो थियो। तर, निर्माता अर्जुनकुमारले भने ‘चपली हाइट ३’ को रिलिज मिति सार्न चाहेनन्। खासमा यो फिल्म पुस २ गते रिलिज हुने भनिएको थियो। तर सोही समयमा 'पुष्पा' लागेपछि उनी पछाडि सर्न बाध्य भए। त्यसपछि पुस १५ गते रिलिज मिति तोकियो। तर एउटै समयमा दुई नेपाली फिल्म प्रदर्शन हुन नपाउने नियमले 'चपली हाइट ३'फेरि पछाडि सर्‍यो।

पटकपटक रिलिज डेट स्थगित हुँदा अर्जुनकुमारले अन्तत: पुस ३० गते 'चपली हाइट ३'रिलिज गरे। त्रासबिच दर्शकहरू हलमा आएनन्। रिलिज भएको तेस्रो दिनमै सरकारले हल बन्द निर्णय गरेसँगै प्रदर्शन रोकियो। सरकारको निर्णयसँगै केही महिनादेखि जुर्मुराउन थालेको सिनेमा क्षेत्र फेरि प्रभावित बन्यो।

फिल्म रिलिज भयो तर चलेन

फागुन १ गतेदेखि पुन: नेपाली सिनेमाहलका ढोका खुले। हलमा यसअघि प्रदर्शन भइसकेका फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’ लाई एकपटक फेरि मौका दिइयो। पुन: प्रदर्शनको अवसर पाउँदा समेत ‘चपली हाइट ३’ले बक्सअफिसमा व्यापर गर्न सकेन।

फागुन १३ गते फिल्म ‘म यस्तो गीत गाउँछु ‍२’ रिलिज हुँदै थियो। फागुन ११ गते फिल्म प्रिमियरकै दिन फिल्मका मुख्य अभिनेता पल शाहमाथि तनहुँमा एक नाबालिगले जबर्जस्ती करणी गरेको भन्दै उजुरी दर्ता गरिन्। फिल्मको व्यापारमा असर पर्ने डरले केहीदिन पल फरार रहे। तर फिल्म रिलिजपछि उनी आफै प्रहरीमा पुगे। पल पक्राउ परेपछि पूजा शर्माले ‘इमोस्नल कार्ड’ खेलिन्। जसकारण पनि फिल्म हेर्न दर्शक ओइरिए। फिल्म व्यवसायिक रूपमा सफल नै ठहरियो।

त्यसपछि भने निरन्तर रूपमा नेपाली फिल्महरू प्रदर्शन भए। 'लप्पन छप्पन २', 'आकाशे खेती', 'चिसो एस्ट्रे', 'हेल्लो जिन्दगी', 'मैले आइ लभ यू भन्नै सकिन’ प्रदर्शनमा आए। तर यी फिल्महरूले दर्शकहरूको साथ पाउन सकेन। फिल्म ‘चिसो एस्ट्रे’ समीक्षात्मक रूपमा भने सफल सिनेमा साबित भएको थियो।

आलिया भट्ट अभिनित बलिउड फिल्म गंगुबाई ‘काठियावाडी’ ले नेपाली सिनेमा हलमा दर्शक तानेको थियो। २५ मार्चदेखि रिलिज भएको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले हलमा दर्शकको ओइरो लगाइदियो। हालसम्म यस फिल्मले नेपालमा १० करोड बढी कलेक्सन गरिसकेको छ। यस फिल्मको दबदबा अहिले पनि कायम नै छ।

समग्रमा भन्नु पर्दा कोरोना पछि सिनेमा हलहरु खुले पनि नेपाली फिल्मले दर्शक तान्न सकेन। अपवादका केही फिल्मबाहेक दर्शकले नेपाली फ्लेबर भन्दा बलिउड र तमिल फिल्म रुचाए। यो वर्ष नेपालमा पनि दक्षिण भारतीय फिल्मकै कब्जा रह्यो। 'पुष्पा' र 'आरआरआर' ले नेपाली दर्शकलाई मनोरञ्जन दिनुका साथै ठूलो रकम लग्न सक्षम भए।

२०७८ साललाई फर्केर हेर्दा नेपाली फिल्मका लागि यो वर्ष उपलब्धिमुलक हुन सकेन। यसवर्ष जम्मा १३ वटा नेपाली फिल्महरू रिलिज भए। जसमध्ये ‘म यस्तो गीत गाउँछु २’ मात्रै व्यवसायिक रूपमा सफल भयो। दुईवटा दक्षिण भारतीय फिल्म र केही बलिउड फिल्मको प्रदर्शनले मात्रै नेपाली सिनेमा हल चल्न सक्यो।

भोलिबाट नयाँ वर्ष २०७९ सुरु हुँदैछ। नयाँ वर्षको पहिलो दिन नै बहुप्रतिक्षित भनिएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ रिलिज हुँदैछ। तर, सोही दिन दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ पनि रिलिज हुँदैछ। जसकारण अनमोल केसी र सुहाना थापाको फिल्म मारमा परेको छ। फिल्म रिलिज हुनु अघि नै नेपालमा 'केजीएफ २'कै बढि क्रेज देखिएको छ। अग्रिम टिकट बुकिङमा केजीएफले नेपाली फिल्‍मलाई पछि पारेको छ। यस्तो अवस्थामा झरना थापा निर्देशित 'ए मेरो हजुर ४' ले कसरी ‘पिकअप’ लिन भन्ने चाहिँ हेर्न बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell