PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

भक्तपुरमा बिहानै ठड्याइयो हात नभएको य:सिं



पहिलोपोस्ट

भक्तपुरमा बिहानै ठड्याइयो हात नभएको य:सिं
FILE PHOTO

काठमाडौं : भक्तपुरको बिस्का जात्राको चौथो दिन आज बिहान तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह य:सिंद्य: ठड्याइएको छ।

भक्तपुरको बिस्कामा ठड्याउने यःसिं भन्ने बित्तिकै धेरेले आज ल्योसिङखलमा उठाइने य: सिं भनेर मात्रै बुझ्छन्। तर भक्तपुरमा आज दुई वटा य:सिं उठाइन्छ। ल्योसिङखलमा बेलुकी य: सिं उठाइन्छ भने आज बिहानै तालाक्वमा हात नभएको य: सिं उठाइएको छ। खरीबोटलाई यःसिंको कपाल बनाइ भुइसिन्हले सजाउने गरिन्छ । यस यःसिंमा भुइसिन्ह रंगको नाक रहेको हुन्छ।

हात नभएको य:सिंलाई स्थानीयहरु मिलेर उठाउँदै आएका छन्। टोलटोलमा पैसा उठाएर य:सिं उठाउन रकम संकलन गरिँदै आएको छ। गुठी संस्थानले यो वर्ष यसलाई भनेर मात्र १५ हजार सहयोग गर्‍यो। तर खर्च भने १ लाख भन्दा बढी भएको स्थानीयहरु बताउँछन्।

यहाँ उठाउने य:सिं बाहिरका मानिसहरुले उठाउन पाउँदैनन्। स्थानीयहरू यस यःसिंलाई ल्योसिङखलमा उठाउने यःसिं भन्दा पुरानो परम्परा रहेको बताउँछन्।

सानो ठाउँमा यःसिं उठाउनु पर्ने भएकाले यहाँका मानिसहरू यसलाई बलपूर्वक भन्दा बुद्धीको प्रयोग गरेर उठाउने गरेको बताउँछन्। त्यसैले अन्य स्थानमा भन्दा यहाँ य:सिं उठाउने परम्परा भिन्न छ। डोरीले तान्दै काठहरुले अड्काउँदै यःसिंलाई ठड्याइएपछि स्थानीय युवाहरु यःसिंमा चढेर पैसा फाल्ने गर्छन्। यसो गरेमा शुभ हुने विश्वास छ।

बिहान ठड्याइएको य:सिंलाई जात्राको अन्तिम दिन मात्रै ढालिन्छ। ल्योसिङखलमा हुने हात भएको य:सिं भने बैशाख १ गते  ढालिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell