PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नयाँ वर्षमा नयाँ रेकर्ड : ‘केजीएफ २’ हेर्न सुतेनन् दर्शक, बिहान १ बजे नै खुल्यो नेपाली सिनेमा हल



लक्ष्मी बलायर

नयाँ वर्षमा नयाँ रेकर्ड : ‘केजीएफ २’ हेर्न सुतेनन् दर्शक, बिहान १ बजे नै खुल्यो नेपाली सिनेमा हल

काठमाडौं : यश अभिनित दक्षिण भारतीय फिल्म ‘केजीएफ-च्याप्टर २’ आजदेखि नेपाली सिनेमा हलहरुमा रिलिज भएको छ। नयाँ वर्ष २०७९ वैशाख १ गते प्रदर्शन भएको यो फिल्मको क्रेज नेपालको बक्स अफिसमा देख्न सकिन्छ। नेपालका मल्टिप्लेक्सल हलहरूमा आइतवारसम्मका टिकटहरू 'सोल्डआउट' भइसकेका छन्।

दर्शकहरूको मागलाई हेरेर हल संचालकहरूले बिहान ६ बजेदेखि राति १०: ४५ सम्मका शोहरू राखेका थिए। ती सबै शोहरू पनि हाउसफुल भइसकेका छन्। यसअघि राखिएका शोहरू हाउसफुल भएसँगै नेपाली सिनेमाहलले ‘केजीएफ २’ को शो बिहान १ बजेदेखि नै उपलब्ध गराएको छ।

चावहिलस्थित एफक्युब सिनेमाजले ‘केजीएफ २’ लाई बिहान १ बजेको शो दिएको हो। यसरी बिहान १ बजे शो चल्नु नेपाली इतिहासमै पहिलोपटक भएको बताउँछन् एफक्युब सिनेमाजका व्यवस्थापक रामहरी कोइराला।

‘नयाँ वर्षमा यो निकै शुभ संकेत हो। यसरी बिहान १ बजे पनि शो राखिएको नेपालमा पहिलोपटक हो। सुरूमा बिहान ४ बजेको शो राखेका थियौं। तर त्यो आधा घन्टामै हाउसफुल भयो। त्यसपछि ३ र ३:४५ बजेको शो राख्यौं। ती शोहरू पनि हाउसफुल भए। जसकारण बिहान १ बजेको शो राख्न समेत बाध्य भयौं,’ उनले भने।

दर्शकहरूको माग र चाहनालाई  मध्यनजर गर्दै मध्यरातमै सिनेमा घर खोलिएको उनले बताए। भन्छन्, ‘यो दर्शकहरूको माग हो। उहाँहरूलाई ‘केजीएफ २’ मा शो नै पुगेन। फेरि नयाँ वर्ष पनि भयो। केजीएफ २ का लागि दर्शकहरूबिच पहिलो दिन नै पहिलो शो हेर्न प्रतिस्पर्धा चलिरहेको छ। जुन निकै खुसीको कुरा हो।’

त्यसैगरि, बिग मुभिजले पनि ‘केजीएफ २’ लाई बिहान ३ बजेको शो दिएको छ। बिहान ३ बजेको शो पनि हाउसफुल हुन लागिसकेको बिग मुभिजका म्यानेजर दिपेश शर्माले जानकारी दिए।

‘नयाँ वर्षमा नयाँ इतिहास कायम भएको छ। यस्तो आजसम्म कुनै पनि फिल्ममा भएको थिएन्। दर्शकहरूबाट शो पुगेन भन्ने म्यासेज आउन आउन थाल्यो। दर्शकहरूको आग्रहलाई मानेर हामीले बिहान ३ बजेको शो राखेका हौं’ शर्माले भने।

‘केजीएफ २ ले बिहान १ बजेदेखि नै शो पाउँदा अनमोल केसी र सुहाना केसी अभिनित फिल्म ‘ए मेरो हजुर ४’ भने मर्कामा परेको छ। फिल्म ‘ए मेरो हजुर ४’ पनि आजबाटै देशभर रिलिज हुँदैछ। नेपाली सिनेमा हलहरुमा दक्षिण भारतीय फिल्मले कब्जा जमाउँदा नेपाली फिल्मले न्यून संख्यामा मात्रै शो पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell