PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

नयाँ वर्ष, नेपालसँगै यी देशमा पनि मनाइँदै धुमधामले



पहिलोपोस्ट

नयाँ वर्ष, नेपालसँगै यी देशमा पनि मनाइँदै धुमधामले

आज वैशाख १ गते। नेपालमा नयाँ वर्षको रुपमा यो दिनलाई मनाइदै छ। वैशाखको पहिलो दिन सामान्यतया अप्रिलको दोस्रो हप्तामा पर्छ।

नेपालमा मात्रै होइन एसियाका अन्य केही देशमा पनि आज नयाँ वर्ष मनाइदै छ। जनवरी १ मा वर्षको सुरु हुने ‘ग्रेगोरियन क्यालेन्डर’को विपरीत धेरै दक्षिण एसियाली देशहरूले वसन्तको सुरुमा वर्षको सुरु हुने ‘लुनिसोलर क्यालेन्डरहरू’ प्रयोग गर्छन्। यो प्रणाली प्रयोग गर्ने केही देशहरूमा नेपाल, श्रीलंका, बंगलादेश, थाइल्याण्ड र कम्बोडियालगायत रहेका छन्।

बंगलादेशमा पोहेला वैशाख

बंगलादेशमा पनि बंगाली नयाँ वर्ष वा ‘पोहेला वैशाख’ आज मनाइदैछ। पोहेला वैशाख बंगलादेश र भारतको पश्चिम बंगाल तथा आसाम र त्रिपुराका बंगाली समुदायहरूमा पनि मनाइन्छ।

बंगाल ४५५ वर्ष पहिले मुगल सम्राट अकबरको अधीनमा रहँदा यो क्यालेन्डर सुरु भएको थियो।

मुगलहरूको शासनकालमा हिजरी वा इस्लामिक पात्रोअनुसार कृषि करहरू संकलन गर्ने गरिन्थ्यो। तर, हिजरी पात्रो भने चन्द्र पात्रोमा आधारित छ। यो पात्रो बाली भित्राउने समयसँग मेल नखाने भएकाले किसानहरू बेसिजनमा कर तिर्न बाध्य थिए। कर संकलनलाई सहज बनाउन मुगल सम्राट अकबरले पात्रोमा सुधार गर्न आदेश दिएका थिए।

पोहेला वैशाखको उत्सवले बंगालादेशका सबै जातीय, धार्मिक र क्षेत्रीय भिन्नताहरूलाई जोड्ने गर्दछ। यो दिन बंगलादेश र छिमेकी भारतको पश्चिम बंगाल राज्यमा व्यापारिक गतिविधिहरूको सुरुवात पनि गरिन्छ। पसलहरूमा मिठाई र अन्य उपहारहरू किन्नेको भिड लाग्छ।

श्रीलंकामा सिंहला नयाँ वर्ष

श्रीलंकामा आज सिंहला नयाँ वर्ष अथवा ‘अलुथ अवरुडु’ मनाइदैछ। यसले बाली भित्र्याउने समयको अन्त्य भएको संकेत दिन्छ। र, यो दिनमा सूर्य श्रीलंकाको ठिक माथि हुने पनि बताइन्छ।

परम्परागत सिंहलीहरूको नयाँ वर्ष ज्योतिषीय गणनाबाट निर्धारण गरेको समयमा सुरु हुन्छ। पुरानो वर्षको अन्त्य र नयाँ वर्षको सुरुवात केही घण्टाको अन्तरालमा हुने बताइन्छ। यो अवधि सामान्यतया १२ घण्टा ४८ मिनेट हुन्छ। यस अवधिलाई ‘नोनागाथे’ वा ‘तटस्थ अवधि’ भनिन्छ। यस समयमा श्रीलंकालीहरूलाई भौतिक गतिविधिहरूबाट अलग रहन र धार्मिक गतिविधिहरू वा परम्परागत खेलहरूमा मात्र संलग्न हुन प्रोत्साहित गरिन्छ।

श्रीलंकामा घर सफा गरेर र दियो बालेपछि सिंहला नयाँ वर्षको उत्सव सुरु हुन्छ। घरपरिवारहरू सडकमा भेला हुन्छन्। बच्चाहरूलाई खेल्न बाहिर पठाइन्छ। चर्को आवाजमा पटाका बालेर पनि नयाँ वर्ष मनाइन्छ।

केही समुदायहरूमा महिलाहरूले साल परिवर्तनको घोषणा गर्न एकसाथ रावन (एक प्रकारको ढोल) बजाउँछन्। साथै भोजभतेर पनि गरिन्छ।

थाइल्याण्डमा सोङक्रान

थाइल्याण्डमा पनि आज परम्परागत नयाँ वर्ष मनाइदैछ, जसलाई स्थानीय भाषामा ‘सोङक्रान’ भन्ने गरिन्छ। सोङक्रान थाइल्याण्डमा वर्षको सबैभन्दा तातो समयमा पर्छ। यो समयमा तापक्रम १०० डिग्री फरेनहाइटमाथि बढ्न सक्छ। संस्कृत भाषाबाट आएको ‘सोङक्रान’ शब्दको अर्थ हो ‘अघि बढ्नु’ हो।

‘सोङक्रान’ परम्परागत रूपमा परिवारका सदस्यहरू, साथी, छिमेकी र भिक्षुहरूलगायत ठूला व्यक्तिहरूलाई भेट्ने र आदर गर्ने समय थियो। तर, ‘सोङक्रान’को सबैभन्दा प्रख्यात परम्परा भनेको पानी छ्याप्ने हो। थाई मानिसहरू एकअर्कालाई भिजाउन पानीका कन्टेनरहरू, पिचकारी लिएर सडकमा घुम्छन्। पानीले सबै अशुभ कुराहरू पखालिने मान्यता छ।

लाओसमा पाई माई

लाओसमा पनि आज नयाँ वर्ष मनाइदै छ। स्थानीय भाषामा नयाँ वर्षलाई ‘पाई माई’ भन्ने गरिन्छ।

हिजो बुधवारबाट सुरु भएको ‘पाई माई’ शुक्रवार (अप्रिल १५)सम्म मनाइन्छ।

लाओसमा नयाँ वर्षको समयमा पानीको ठूलो भूमिका हुन्छ। लाओहरूले आफ्नो स्थानीय मन्दिरहरूमा बुद्धका चित्रहरूलाई स्नान गराउने, मूर्तिहरूमा चमेलीको सुगन्ध भएको पानी र फूल छर्ने गर्छन्। धार्मिक अनुयायीहरूले बालुवाको स्तूपा वा प्यागोडाहरू बनाएर फूलले सजाउँछन्।

कम्बोडियामा खमेर नयाँ वर्ष

कम्बोडियामा आज खमेर नयाँ वर्ष वा ‘चाउल चनम थ्मे’ मनान्छ, जसको शाब्दिक अर्थ ‘नयाँ वर्षमा प्रवेश गर्नु’ हो। यहाँ नयाँ वर्षमा तीन दिनसम्म सार्वजनिक बिदा दिइन्छ। यो नयाँ वर्ष सामान्यतया अप्रिल १३ वा अप्रिल १४ मा पर्छ।

बाली भित्राउने समयको अन्त्यमा नयाँ वर्ष मनाइन्छ। यो वर्षायाम सुरु हुनुअघि किसानहरूले आफ्नो मेहनतको फलको आनन्द लिने समय पनि हो।

अधिकांश खमेरहरू किसान हुन्। किसानहरूले अप्रिल महिना बाहेक वर्षभरि आफ्नो धानबाली काट्ने र भित्राउने गर्छन्। अप्रिलमा पानीको अभाव हुने भएको र धेरै गर्मी हुने हुनाले पनि यसो गरिएको हो। किसानहरूले खेतीबालीको काम नगरी यो समय नयाँ वर्ष मनाउने गर्छन्।

कम्बोडियामा नयाँ वर्षको पहिलो दिनलाई ‘मोहा सङ्क्रान’ भनिन्छ। जसको अर्थ ‘नयाँ स्वर्गदूतहरूलाई स्वागत गर्नु’ हो। खमेरहरूले आफ्ना घरहरू सफा गरेर सजाउँछन् र आफ्ना नयाँ स्वर्गदूतहरूलाई स्वागत गर्न फलफूल र पेय पदार्थहरू तयार गर्छन्। घरमा आउने कुनै पनि स्वर्गदूत उनीहरूसँगै बस्ने र वर्षभर उनीहरूको परिवारको हेरचाह गर्ने विश्वासका साथ वृद्ध मानिसहरू ध्यान वा प्रार्थनामा समय बिताउँछन्।

म्यानमारमा थिङ्ग्यान

म्यानमारमा पनि आज नयाँ वर्ष हो। स्थानीय भाषामा नयाँ वर्षलाई ‘थिङ्ग्यान’ भनिन्छ। यो एक रमाइलो ‘पानी उत्सव’ पनि हो।

हिजो बुधवारबाट सुरु भएको ‘थिङ्ग्यान’ शनिवार (अप्रिल १६)सम्म मनाइन्छ।

बर्मेलीहरूले नयाँ वर्षमा पानी सम्बन्धि गतिविधिहरूमा भाग लिएर एकअर्कालाई पानी छ्याप्ने गर्छन्। चाँदीका जटिल भाँडाहरूबाट पानी खन्याएर नयाँ वर्ष मनाइन्छ। यो पानीको उन्माद तीन देखि चार दिनसम्म चल्छ।

यद्यपि, म्यानमार अहिले आन्तरिक द्वन्द्वमा छ। म्यानमारको सेना जुन्ताले सरकार कब्जा गरेपछि द्वन्द्व सुरु भएको हो।

तानाशाह विरोधी अभियन्ताहरूले जुन्ता सरकारले आयोजना गरेको ‘थिङ्ग्यान’ उत्सवहरूमा भाग नलिन मानिसहरूलाई आग्रह गरेका छन्। द्वन्द्व जारी रहँदा जुन्ता सरकारले ‘थिङ्ग्यान’ उत्सव मनाएर शान्ति फर्किएको गलत संदेश विश्वलाई दिन खोजेको अभियन्ताहरूको आरोप छ।

द्वन्द्वको अवधिमा सेनाले करिब १ हजार ७ सय बढी नागरिकहरूलाई मारेको राजनीतिक बन्दीहरूको सहायता संघले जनाएको छ। जन्ताका सेनाहरूले गाउँहरु जलाएको र जारी संकटका कारण लाखौँ मानिसहरू विस्थापित भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell