PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

शशांकपछि कुलमान र नेत्रनाथलाई निर्वाचन आयोगको स्पष्टीकरण, तपाईँलाई कारबाही किन नगर्ने?



प्रकाश भण्डारी

शशांकपछि कुलमान र नेत्रनाथलाई निर्वाचन आयोगको स्पष्टीकरण, तपाईँलाई कारबाही किन नगर्ने?

काठमाडौं: निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता पालना नगर्नेमाथि कडाइ थालेको छ। आसन्न निर्वाचनको आचारसंहिता पालना नगरेकोमा आयोगले स्पष्टीकरण सोध्नेदेखि आवश्यक कारबाही गर्ने जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उलङ्घन गरेको गुनासो आएकामाथि छलफल भइरहेको बताए। उनले आयोगको सम्बन्धित शाखाले आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिहमाथि निगरानी गरिरहेको जानकारी दिए। 

कुलमान र नेत्रनाथलाई स्पष्टीकरण

आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ। घिसिङलाई सात दिनभित्र जवाफ पेश गर्न निर्देशन दिइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकरी दिए।

'के भएको हो जानकारी दिनुहोला भनेर आयोगले भनेको छ,'अर्यालले भने।

आयोगले घिसिङको फोटो राखेर नेकपा (माओवादी केन्द्र) ले बुधबार चुनाव प्रचार सामाग्री प्रकाशन गरेको भन्दै स्पष्टीकरण सोधेको हो।

सहमतिमै फोटो राखिएको हो/होइन? असहमति भए हालसम्म किन सार्वजनिक रुपमा खण्डन नगरेको भन्दै आयोगले घिसिङलाई लिखित जवाफ माग गरेको छ। माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, घिसिङ र पार्टीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माको फोटो राखेर चुनावी पोस्टर प्रचण्डकै फेसबुक पेजबाट सार्वजनिक गरेको थियो। सार्वजनिक संस्थाको कर्मचारीलाई राखेर चुनाव प्रचार गरेको भन्दै आलोचना भएपछि माओवादी केन्द्र हटाउन बाध्य भएको थियो। 

यस्तै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता उल्लङ्घन गरेकोमा स्पष्टीकरण सोधेको छ। अर्यालले अधिकारीले सञ्चार माध्यममा निर्वाचनको खर्च आफूले झुटो बुझाएको अभिव्यक्ति दिएकोमा आयोगको ध्याकर्षण भएको बताए। अधिकारीले निर्वाचन खर्च आयोगले तोकेको भन्दा बढी भए पनि आयोगलाई गलत विवरण बुझाएको दाबी गरेको तर आयोगको निर्वाचन खर्चमा फरक मत नराखेको भन्दै ७ दिने स्पष्टीकरण सोधेको छ। 

आयोगले के आधारमा काट्यो पत्र?

घिसिङलाई आयोगले  निर्वाचन आचारसंहिता २०७८ को दफा ६ को खण्ड 'क' मा भएको सार्वजनिक संस्थानका कर्मचारिले पालना गर्नुपर्ने आचारसंहितालाई सम्झाउँदै पत्र लेखेको छ। घिसिङलाई स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ अनुसार कारबाही किन नगर्ने भनेर सोधेको छ। यस्तै गण्डकीका सभामुख अधिकारीलाई आयोगले ऐनको दफा २३ को व्यवस्थामा टेकेर प्रश्न गरेको हो।

शशांक र एकीकृत समाजवादीलाई पनि आचारसंहिता उल्लङ्घनको आरोप
आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइरालालाई पनि स्पष्टीकरण सोधेको थियो। ६ करोड रुपैयाँ खर्च गरेर चुनाव जितेको अभिव्यक्ति दिएको भन्दै  कोइरालाई सोमबार आयोगले ७ दिनभित्र जवाफ दिन निर्देशन दिएको थियो। यस्तै नेकपा एकीकृत समाजवादीको केही दिनअघि काठमाडौँमा भएको आम सभामा पनि आचारसंहिता उल्लङ्घन भएको भन्दै आयोगले जवाफ पेश गर्न पत्र काटेको थियो।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि चुनाव सर्न सक्ने अभिव्यक्ति दिएको भन्दै आयोगले सचेत गराएको छ।

वैशाख ३० का लागि तोकिएको चुनाव निर्धारित समयभन्दा पछि सार्न सकिने अभिव्यक्ति दिएको भन्दै आयोगले बिहीबार सचेत गराएको हो।

नेपालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी चुनावमा सहभागी हुने सर्तमा चुनावको मिति हेरफेर गर्न सकिने बताएका थिए। उनले त्यसअघि काठमाडौंमा आयोजित कार्यक्रममा सबै स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल असोजमा मात्रै पाँच वर्ष पुग्ने भन्दै अन्याय भएको बताएका थिए। उनका पछिल्ला अभिव्यक्तिबारे आयोगले ध्यानकर्षण भएको जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell