PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

कम उमेरमै नेतृत्त्व अनुभवले खारिएकी सृजनाको रणनीति : पाए गाउँपालिका हाँक्ने, नपाए प्रदेश सांसद



सविन ढकाल

कम उमेरमै नेतृत्त्व अनुभवले खारिएकी सृजनाको रणनीति : पाए गाउँपालिका हाँक्ने, नपाए प्रदेश सांसद

काठमाडौं : नयाँ व्यवस्थामा मुलुक प्रवेश गरिरहँदा उनी २४ वर्षकी थिइन्। त्यही उमेरमै गहन जिम्मेवारी मिल्यो उनलाई। चाबहिलको पशुपति बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्ष पढ्दै थिइन्, गाउँपालिका उपाध्यक्ष नै बन्न पुगिन्।

उनी हुन् सृजना तामाङ। गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित कम उमेरका उपाध्यक्ष मध्येकी एक। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ५ वर्ष उपाध्यक्षका रुपमा उनी स्थापित भइन्। पहिलो पटक निर्वाचित हुँदा उमेरले मात्र होइन व्यवहारमा समेत कच्चा अनुभव गरेकी सृजना अहिले भने खारिएकी छिन्। कम उमेरमा पनि इच्छा शक्ति भए गाउँपालिकामा काम गर्न सक्ने रहेछ भन्नेमा उनी ढुक्क भएकी छिन्।

'सुरुमा महिला र कम उमेरकाले गर्दा पनि केही मानिसले नपत्याउने अथवा समस्या नआएको होइन। तर काम गर्दै जाँदा सबै कुरा मिल्दै जाँदो रहेछ,' उपाध्यक्ष सृजनाले भनिन्। सरकारले आगामी ३० गतेको लागि स्थानीय तहको निर्वाचन तोकेको छ। त्यहीअनुसार निर्वाचन आयोग निर्वाचन कार्यतालिका बनाएर त्यसमा होमिसकेको छ। सृजना पनि आगामी निर्वाचनमा फेरि नेतृत्त्वका लागि प्रयासरत छिन्। अध्यक्ष पदमा पार्टीले टिकट दिए उनी तयार छिन् उम्मदवार बन्ने र फेरि आफूलाई स्थापित गर्ने।

'अहिलेकै पदमा चाहिँ उठ्दिन। अध्यक्ष पदमा सबैले विश्वास गरेर टिकट दिए भने उठेर फेरि यस ठाउँको लागि केही गरौला भन्ने छ,' सृजनाले भनिन्।

नेकपा एमालेबाट उम्मेद्वारी दिएकी उनले २७ सय ८६ मत ल्याएकी थिइन्। हिमाली गाउँपालिकामा उनको यो राम्रो जित थियो। तर यसपाला स्थानीय तहमा एमाले पार्टी पहिले जस्तो बलियो छैन। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी फुटाएर बाहिरिएकाले त्यसको असर उनको गाउँसम्मै परेको छ। यसपटक बिजय यात्रा पहिलेजस्तो सहज छैन। तर, सृजना विश्वस्त छिन् - चार वर्षको अवधिमा गरेका कामले उनलाई साथ मिल्नेछ।

तर, यसपटक उनको गाउँपालिकामा अध्यक्ष पदका लागि उम्मेद्वारी दिने आकांक्षीहरु धेरै छन्। चुनाव अघि टिकट पाउन नै संघर्ष सहज छैन उनका लागि।

'टिकट नपाए पनि दु:खी चाहिँ हुँदिन। पार्टीका अन्य साथीहरुलाई सहयोग गरेर अगाडि बढ्छु। पार्टीका अन्य काममा लाग्छु। त्यसपछि प्रदेश सांसदमा उठ्ने तयारीमा जुट्छु,' सृजनाले आफ्नो रणनीति सुनाइन्।

२४ वर्षको उमेर गाउँपालिकाको उपाध्यक्ष बनेकी सृजनामा अहिले प्रदेश सांसदसम्मको हिम्मत जुटेको छ। यही हिम्मत र साहस चार वर्षको गाउँपालिका उपाध्यक्षको पदमा काम गर्दा दिलाएको उनको अनुभव छ। देशका लागि नै संघीयता नविन प्रयोग नै हो। उनका लागि चार वर्षमा प्रत्येक काम नयाँ भए। संचारले नजोडिएको जुगल गाउँपालिकामा सृजनाकै पहलमा टेलिफोन सेवा पुग्यो। पानीदेखि शिक्षासम्म बलियो बनाइन् गाउँमा। अहिले पनि उनलाई शिक्षा र महिला सहभागिता विकासको मेरुदण्ड भएकाले त्यसलाई ध्यानमा राखेर काम गर्ने बताउँछिन् उनी।

'शिक्षा, लैंगिक समानता, बाल बिवाहजस्ता कुरामा ध्यान दिनुपर्छ। नेपालमा अहिले पनि उच्च तहमा महिलाको सहभागिता कम छ,' सृजनाले भनिन्, 'त्यसलाई उकास्न पनि शिक्षा र अन्य क्षेत्रमा महिलाको सहभागिता बढाउँदै जानुपर्ने रहेछ।'

चार वर्षअघि स्नातक तेस्रो वर्ष पढ्दै गरेकी सृजनाले आफ्नो गाउँ पालिकाको नेतृत्वपछि पनि पढाई भने रोकिनन्। अहिले त उनले स्नातकोत्तर नै पूरा गरिसकिन्। तर, शोधपत्र पनि तयार पार्न भ्याएकी छैनन्। गाउँपालिका उपाध्यक्ष भएकाले कानुनको ज्ञान हुनुपर्ने महसुस गरेकी थिइन्। त्यसैले कानुन पढ्ने रहर थियो। कामको चापले त्यो भने भ्याइनन्। गाउँपालिकामा टिकेट मिलेन भने उनी त्यो रहरको पढाइ पूरा गर्ने र प्रदेशमा चुनाव लड्ने तयारीमा जुट्ने योजनामा छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell