PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सहिद स्मारक हेटौंडामा यस वर्ष घटे पर्यटक



निशा गुरुङ

सहिद स्मारक हेटौंडामा यस वर्ष घटे पर्यटक

हेटौंडा : सहिद स्मारक हेटौंडामा यस वर्षको नयाँ वर्षमा पर्यटक ह्वात्तै घटेको छ । समुदायबाट स्थापित एवं सञ्चालित हेटौंडा उपमहानगरपालिका—११ नवलपुरस्थित सहिद स्मारकमा गत वर्षको तुलनामा १५ हजार पर्यटक घटेको स्मारक विकास समितिका कार्यालय प्रमुख आरसी न्यौपानेले बताए।

‘निर्वाचन नजिएर पनि होला गत वर्षको तुलनामा पर्यटक कम भएको छ,’ स्मारक विकास समितिका कार्यालय प्रमुख आरसी न्यौपानेले भने, ‘विभिन्न ठाउँमा नयाँ नयाँ पर्यटक स्थलहरु पनि निर्माण भइरहेको छ। त्यही कारणले गर्दा पनि कम भएको हो कि।’

वैशाख १ मा २ सय वटा समूह वनभोज गर्न आउने स्मारकमा यस वर्ष २५ वटा समूह मात्रै आएको कार्यालय प्रमुख न्यौपानेले बताए।

२०५१ माघ १७ गते तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको उक्त सहिद स्मारकको अवलोकन गर्न अहिले वार्षिक ५ लाखभन्दा बढी पर्यटक आउने गरेका छन् ।

२५ टनको एउटै ढुंगामा भक्ति थापा, सहिदहरू दशरथ चन्द, गंगालाल, धर्मभक्त, र शुक्रराज शास्त्री र २०१७ सालपछि पञ्चायती निरकुशताविरुद्ध छेडिएका विभिन्न जनसंघर्षका क्रममा वीरगति प्राप्त गर्ने रत्नकुमार बान्तवा, भीमदत्त पन्त, क्या.यज्ञबहादुर थापा, दुर्गानन्द झा, वीरेन्द्र राजवंशी, मुनेश्वरी यादव र प्रभारक पौडेलको आकृति कुँदिएका छन् ।

हेटौंडाबाट ७ किलोमिटर पश्चिममा रहेको सहिद स्मारक ३० बिघा जमिनमा फैलिएको छ।

पूर्व–पश्चिम राजमार्गको नवलपुरस्थित सडकबाट ३ किलोमिटरको दूरीमा रहेको उक्त स्मारकमा असोजदेखि माघ महिनाको अन्तिमसम्म वनभोज जानेको घुइँचो लाग्ने गर्छ । प्रवेश शुल्क नै सहिद स्मारकको मुख्य आर्थिक स्रोत रहेको समितिले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell