PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

रसिया युक्रेन युद्धको ५० औं दिन : रसियालाई रोक्न सकेको भन्दै नागरिकलाई जेलेनस्कीको बधाई



पहिलोपोस्ट

रसिया युक्रेन युद्धको ५० औं दिन : रसियालाई रोक्न सकेको भन्दै नागरिकलाई जेलेनस्कीको बधाई
Photo : Getty Images

रसिया र युक्रने युद्धको आज ५० दिन पुगेको छ। युक्रेनका दुई विद्रोही क्षेत्रलाई रसियाले ‘स्वतन्त्र राज्य’ को मान्यता दिएसँगै सुरु भएको युद्धमा दुवैतर्फबाट हजारौं मानिसको मृत्यु भइसकेको छ। ४६ लाख भन्दा बढी मानिस युक्रेनबाट पलायन भइसकेका छन्।

पलायन हुनेहरुमा सबैभन्दा बढी पोल्याण्ड पुगेका छन्। यस्तै, रोमानिया, हंगेरी, मोलदोभा, रसिया, स्लोभाकिया र बेलारुसमा पनि धेरै संख्यामा युक्रेनी नागरिक शरण लिन पुगेका छन्। युक्रेन छाडेर जानेमा धेरैजसो महिला र बालबालिका छन्। १८ देखि ६० वर्षका पुरुषलाई युद्ध लड्न भन्दै देशबाहिर जान प्रतिबन्ध लगाइएको छ। यद्यपि, युद्धमा सयौं युक्रेनी महिलाहरुले पनि देश नछाडेर साथ दिइरहेका छन्।

सोचेको भन्दा लामो समय युद्ध जारी रहँदा रसियालाई धक्का लागेको छ। युक्रेनका कयौं शहरमा नागरिकहरुको हत्या भएको रिपोर्टहरु सार्वजनिक भएपछि अहिले रसियाली राष्ट्रपति भ्लादमीर पुटिनको आलोचना भइरहेको छ। युक्रेनी शहर मउरीपोलमा मात्रै २१ हजार नागरिकको मृत्यु भएको दाबी गरिएको छ।

रसियाले भने आरोपहरुको खण्डन गर्दै त्यसलाई ‘पोपागान्डा’को संज्ञा दिएको छ। मंगलवार भने पुटिनले रसियामा गरिएको कारवाहीको विकल्प नभएको बताएका थिए। उनले युक्रेनीहरुको जीवनमा ‘नाजीवाद’ हाबी भएको टिप्पणी समेत गरेका थिए।

युद्धमा ५० दिनसम्म रसियालाई रोक्न सकेकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले युक्रेनी नागरिक र सेनालाई धन्यवाद व्यक्त गरेका छन्। युक्रेनीहरुले बहादुरीपूर्ण रुपमा रसियाको सामना गरेको भए पनि युद्धका कारण देशमा खाद्यान्न संकट उत्पन्न भएको युक्रेनका उप वित्त मन्त्री तरास कचाले बताएका छन्। उनले रसियाले युक्रेनमा खाद्यान्न आयात गर्न रोकेको आरोप लगाएका छन्।

पुटिनविरुद्ध अहिले पश्चिमा देशहरु आक्रमक भएका छन्। अमेरिकाले पुटिनको परिवारका सदस्यहरुमाथि नै प्रतिबन्धको घोषणा गरेको छ भने अन्य पश्चिमा देशहरुले पनि रसियाली अधिकारीविरुद्ध प्रतिबन्ध लगाएका छन्।

केही दिन अघि मात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले युक्रेनमा ‘नरसंहार’ मच्चाएको आरोप लगाएका थिए। रसियाले युक्रेनमा नागरिकहरुको हत्या गरेर रसियाले ‘नरसंहार’ गरेको बताएका थिए। यसअघि बाइडेनले रसियाका राष्ट्रपति भ्लादमीर पुटिनलाई ‘युद्ध अपराधी’ को संज्ञा दिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell