PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

को बन्ला काठमाडौं र ललितपुर महानगरको मेयर? गठबन्धन र एमालेबाट यी नेताको चर्चा



प्रकाश भण्डारी

को बन्ला काठमाडौं र ललितपुर महानगरको मेयर? गठबन्धन र एमालेबाट यी नेताको चर्चा

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनमा आकांक्षीहरुको व्यवस्थापन गर्न दलहरुलाई सकस परिरहेको छ। त्यसमध्य पनि ६ वटा महानगरको प्रमुख पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय पेचिलो बन्न थालेको छ। सत्ता गठबन्धनलाई उम्मेदवार चयन गर्नेदेखि ५ दलीय भागबण्डा मिलाउन सकस छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि आकांक्षी नेताहरुबाट उम्मेदवार छान्न चुनौति परिरहेको छ।

काठमाडौं उपत्यकाका दुई महानगरपालिकाको मेयर को होला? अहिले धेरैलाई चासोको विषय बनेको छ। २०७४ सालको निर्वाचनमा काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाबाट चिरिबाबु महर्जन निर्वाचित भएका थिए। वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा बहालवाला नगर प्रमुखदेखि पूर्व मन्त्री र बहालवाला सांसदहरुले प्रमुख पदको उम्मेदवारमा दाबी गरिरहेका छन्।

ललितपुर महानगरमा एमालेका व्यञ्जनकार सिफारिस, गठबन्धनबाट को?

ललितपुर महानगर प्रमुखका लागि एमालेबाट धेरै नेताको नाम चर्चामा आएको थियो। त्यसमध्य २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तथा हालका मेयर चिरिबाबु महर्जनसँग पराजित भएका हरिकृष्ण व्यञ्जनकारलाई नै महानगर कमिटीले मेयरको उम्मेदवारको रुपमा जिल्ला कमिटीलाई सिफारिस गरेको छ। यस्तै महानगरको उपप्रमुखमा आस्था शाक्य 'मञ्जली' को नाम महानगर कमिटीले सिफारिस गरेको छ। मञ्जली महानगर कमिटीकी अध्यक्ष समेत हुन्।

यस्तै, ललितपुर महानगरपालिका सत्तारुढ गठबन्धनको सहमति अनुसार नेपाली कांग्रेसको भागमा पर्ने सम्भावना छ। नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा भने ललितपुर र काठमाडौं महानगरपालिका पर्ने सम्भावना कम छ। दुई जिल्लाका केही नगरपालिकामा भागबन्डा मिलाएर महानगरमा कांग्रेसले नेतृत्व गर्ने बताइन्छ। ललितपुरमा कांग्रेसका तर्फबाट ७ जनाको नाम सिफारिस भएको छ।

सिफारिस हुनेमा बहालवाला महानगर प्रमुख महर्जन र उप्रप्रमुख गीता सत्याल छन्। यस्तै, नगर सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्यों, प्रेमकृष्ण महर्जन, अनन्तप्रकाश श्रेष्ठ र महानगरका पूर्वसभापति राजेश महर्जनको नाम पनि महानगर कार्यसमितिले सिफारिस गरेको छ। उपप्रमुख सत्यालले नगर कार्यसमितिबाट सिफारिस भएको जानकारी दिँदै यसपटक प्रमुख पदमा आफ्नो पनि दाबी रहने बताइन्।

‘यो क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रमा जान्छ। मेरो पनि दाबी रहन्छ। तर पार्टीको निर्णयमा मेरो सहमति रहन्छ’ उनले भनिन्।

ललितपुरको प्रमुख पदमा उम्मेदवार बन्न चिरिबाबुलाई भरतलाल न्याछ्योंले कडा टक्कर दिन सक्ने बताइन्छ। 

राजधानीमा मेयरदेखि पूर्व मन्त्रीसम्मको चुनौति गठबन्धनलाई

यता, काठमाडौं महानगरपालिकामा एमालेले ५ जनाको नाम प्रमुखका लागि सिफारिस गरेको छ। अहिलेका नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्व राज्यमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटी अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम एमालेबाट प्रमुख पदका लागि सिफारिस भएको हो।

महानगरका पूर्व प्रमुख समेत रहेका स्थापित प्रदेशसभा छाडेर फेरि महानगरमा नै आउने दाउमा छन्। जसका लागि उनले लबिङ पनि गरिरहेका छन्। यता, बहालवाला प्रमुख शाक्य आफूले टिकट पाए जित्नेमा ढुक्क भएको बताइन्छ। काठमाडौंको कोर बस्तीमा आफूले राम्रो छवी बनाएको दाबी शाक्यको छ। 

यता काठमाडौं महानगरपालिकामा भने नेपाली कांग्रेसले उम्मेदवारको नाम सिफारिस गर्न सकेको छैन।

नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिका सचिव सुसन वैद्यले महानगरका तर्फबाट हालसम्म उम्मेदवारको नाम सिफारिस नभएको जानकारी दिए। महानगरको प्रमुख पदका लागि मुख्यगरी चार जना आकांक्षी रहेका छन्। जसमा बहालवाला उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, तीर्थराम डंगोल, सिर्जना सिंह र सुसन वैद्यको नाम चर्चामा छ। हरिप्रभाले आफूले सम्पदा क्षेत्रमा राम्रो काम गरेको र मेयर शाक्यले गरेको नराम्रो कामलाई रोकेको भन्दै यसपटक आफूले प्रमुख पदमा लड्न पाउनुपर्ने दाबी गरिरहेकी छिन्। पूर्व राज्य मन्त्री तीर्थराम डंगोल भने कांग्रेसको कोर क्षेत्रमा स्थापित नेता हुन्। विद्यार्थीकाल देखि नै नेपाली कांग्रेसमा सक्रिय रहेकी सिर्जना सिंह प्रतिनिधि सभ क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि हुन्। कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जनालाई महानगरको प्रमुखमा उठाउन अहिले सामाजिक संजालदेखि राजनीतिक तहमै लबिङ भइरहेको छ। 

यस्तै, महानगर कार्यसमिति सभापति निलकाजी शाक्य र प्रगतिमान रञ्जितको नाम पनि चर्चामा छ। महानगर अधिवेशनमा रञ्जित शाक्यबाट पराजित भएका थिए।

सत्तारुढ गठबन्धनले देशव्यापी रुपमा चुनावी तालमेल गरेर जाने भए पनि काठमाडौंमा भने तालमेल नगर्ने मत बलियो रुपमा उठेको छ। यद्यपि, गठबन्धनमा आवद्ध दलको महानगर र जिल्ला कमिटीहरु अहिले पनि छलफलमा छन्। केन्द्रबाट गठबन्धनले कुनैपनि निर्णय नगरेकाले पनि अहिले सम्मे कांग्रेसले नाम सिफारिस हुन नसकेको हो। यहाँ नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका स्थानीय तहका नेताले पनि प्रमुखमा दाबी गरिरहेको छ। 

कांग्रेस काठमाडौंमा बलियो अवस्थामा रहेकाले अरुसँग तालमेल नहुने र तालमेल भएका नेता/कार्यकर्ता चिढिने भएकाले गठबन्धनकै बारेमा प्रश्न उठेकाले नाम सिफारिस हुन नसकेको एक नेताले बताए। एमालेको तल्ला कमिटीहरुले गरेको सिफारिसका आधारमा जिल्ला हुदैँ केन्द्रमा नाम पुगेर टुंगो लाग्नेछ भने गठबन्धनमा पनि महानगर र उपमहानगरको टुंगो स्थानीय संयन्त्रका आधारमा केन्द्रले लगाउने तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell