PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सिन्दुरले रंगियो थिमि, दृश्यमा सुथ: सिया जात्राको रौनक

सिन्दुरले रंगियो थिमि, दृश्यमा सुथ: सिया जात्राको रौनक

समर्थ रञ्जित/पहिलोपोस्ट


भक्तपुर : मध्यपुर थिमिमा आज सिन्दुर जात्रा मनाइयो। स्थानीय भाषामा सुथ: सिया जात्रा समेत भनिने यो पर्वमा २८ देवी-देवताका मूर्तिलाई खटमा राखी नगर परिक्रमा गराइएको थियो।

नेवारहरूले सिन्दुरका रूपमा लिने भुइ सिन्ह एकआपसमा लगाएर सिन्दुर जात्रा मनाइएको हो। सौर्य मास अन्तर्गत नयाँ वर्षको स्वागत गर्दै वैशाख २ गते मध्यपुर थिमिको थिमि बोडे, नगदेश, तिगनी लगायतका स्थानमा समेत सिन्दुर जात्रा मनाइएको हो।

बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो।  आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो। बिहीबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो। बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो। यसैगरी विष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीको खट ल्याएर यो जात्रा मनाइएको छ।

थिमिमा ३२ खट सहभागी रथ बोकेर गराई परम्परागतरूपमा मनाउँदै आएकोमा हाल २८ देवी-देवताका मूर्तिलाई खटमा राखी नगर परिक्रमा गराउने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell