PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एसिया कपमा नेपाल छनोट नहुने अलमुताइरीको स्पष्टीकरण, ‘आशा राख्नु ठिक होइन, यथार्थमा रहनुपर्छ’



मुकुन्द घिमिरे

एसिया कपमा नेपाल छनोट नहुने अलमुताइरीको स्पष्टीकरण, ‘आशा राख्नु ठिक होइन, यथार्थमा रहनुपर्छ’

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटका लागि आजबाट दशरथ रंगशालामा अभ्यास सुरु गरेको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर अभ्यास सुरु गराएका हुन्।

नेपाली टोलीको प्रदर्शन र योजनालाई लिएर आक्रामक प्रतिक्रिया दिने प्रशिक्षक अलमुताइरी पहिलो दिनको अभ्यास पछि भने ‘यथार्थ केन्द्रित’ हुन रुचाए। उनले एएफसी कपमा छनोट हुने भनेर वाचा गर्न नसक्ने बताउँदै आफ्नो तर्फबाट राम्रो 'फाइट' गर्ने बताए।

'हाम्रो लक्ष्य भनेको यथार्थमा भन्ने हो भने हामी छनोट हुन सक्दैनौं। किनभने हामी धेरै टाढा छौं। तर, सपना देख्न सकिन्छ तर यथार्थमा धेरै गाह्रो छ। जर्सी, किट्स हुँदैमा एसिया कपमा छनोट हुन सकिँदैन,' अलमुताइरीले भने, 'यसका लागि धेरै काम गर्नुपर्छ। हामीले ट्रेनिङ क्याम्प सुरु गरेका छौं। तर हामीले कडा प्रतिस्पर्धा गर्नेछौं। हामी फाइट गर्नेछौं। तर धेरै आशा राख्नु ठिक हुँदैन। हामी यथार्थमा रहनु पर्छ।'

अलमुताइरीले मे महिनाको मध्यतिर कतार जाने र त्यहाँ दुई या तीन टिमसँग मैत्रीपूर्ण खेल खेलेर कुवेत जाने बताए। कतारमा मैत्रीपूर्ण खेलका लागि चारवटा टिमसँग कुरा भइरहेको भए पनि निर्णय भने भइसकेको छैन। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन्। कुवेत र जोर्डनसँग नेपालले यसअघिको चरणमा पनि प्रतिस्पर्धा गरिसकेको छ भने इन्डोनेसियाको टोली पनि बलियो रहेको अलमुताइरीको विश्लेषण छ। अझ उनी नेपाल रहेको समूहलाई प्रतियोगिताकै ‘ग्रुप अप डेथ’ मान्छन्।

'इन्डोनेसियाको राष्ट्रिय टोलीमा १३/१४ जना युरोपमा खेलिरहेका खेलाडी छन्। आयोजक कुवेतको वातावरण हाम्रो फेवरमा हुनेछैन। जोर्डन एसियाकै ठूलो टिममध्येको एक हो। हामी फाइट गर्नेछौं। तर, हामी यथार्थमा रहनुपर्छ,' उनले भने, 'मैले साफ कपको फाइनलमा पुग्छौं भनेर वाचा गरेको थिएँ किनभने मलाई साफ क्षेत्रबारे थाहा थियो। यहाँ हाम्रो स्तरबारे थाहा थियो। तर एसिया कपको सन्दर्भ फरक छ।'

नेपाल सुपर लिग (एनएसएल) निर्धारित समयमा भएको भए खेलाडी मैदानमै रहनाले सुखद नतिजा आउन सक्ने सम्भावना थियो। अब एनएसएल नभएपछि एसियन कपको स्तरमा खेल्नका लागि ट्रेनिङमात्र पर्याप्त नहुने उनले बताए।

घरेलु मैदानमा नेपालले यसअघि मरिसससँग मैत्रीपूर्ण दुई खेल खेलेको थियो। जसमा अलमुताइरीले दुईवटा टिम बनाएर खेलाएका थिए। तर यसपटक उनले २५ जनाको मात्र टिम बनाएका छन्। छोटो समयमा तयारी गर्नुपरेकाले कम खेलाडी बोलाएको उनले बताए।

'खेलाडीमाथि प्रयोग गर्न मसँग पर्याप्त समय छैन। हाम्रो समूह 'ग्रुप अफ डेथ' छ। हाम्रो पटमा रहेका अन्य टिमको कम्तिमा अवसर छ। तर हाम्रो लागि यो धेरै कठिन छ। जोर्डन र कुवेतसँग यसअघि पनि खेलिसकेका छौं। उनीहरुलाई हामीबारे थाहा छ र हामीबारे उनीहरुलाई थाहा छ,' उनले भने।

सँगैसँगै उनले जितको आश्वासन दिन नसके पनि नेपालीलाई गौरव भने गराउने उनले बताए।

'जब हामीले इराकसँग ६-२ गोलले हारेका थियौँ त्यतिबेला सबैजना प्राउड थिए। कहिले काहीँ हारको मतलब हार हुँदैन। महत्वपूर्ण भनेको उनीहरुले साच्चिँकै अर्थमा फुटबल खेलिरहेका छन्,' उनले भने, 'नेपालको एसिया कपमा छनोट हुने कुनै सम्भावना छैन। जोर्डन राष्ट्रिय टोलीमा १७ जना प्रोफेसनल खेलाडी छन् इन्डोनेसियाका १० खेलाडी युरोपमा खेलिरहेका छन्। एसियामा होइन, हामीसँग दुई व्यवसायिक खेलाडी छन्।'

उनले प्रतियोगिताको तयारी सुरु गरेकै दिन पटक पटक आफूहरु छनोट हुन सकिँदैन भनेर दोहोर्‍याइरहे। र, आफ्नो भनाइले खेलाडीको मनोविज्ञानलाई असर गर्दैन भनेर ‘कुटनीतिक’ जवाफ दिए। उनको तर्क छ : यथार्थमा कुरा गरेर खेलाडीमाथिको दवाब उनी घटाइरहेका छन्।

'हामीसँग दुईवटा पक्ष छन्। पहिलो राष्ट्रिय टोलीका खेलाडीसँग। दोस्रो भनेको मिडिया, सर्वसाधारण, अफिसियल्स आदि। जब मैले हामी छनोट हुन सक्दैनौं भनिरहेको छु यो दोस्रो पक्षलाई भनिरहेको छु। म चाहन्छु दोस्रो पक्षबाट खेलाडीलाई कुनै दबाब नबनोस्,' अलमुताइरीले भने, 'म र खेलाडीबिच जे हुन्छ त्यो हामीबिचमा हुन्छ। साफ कपमा मैले फाइनलमा पुग्छौं भनेर भनेको थिएँ। तर एसिया कपमा हामी छनोट हुँदैनौं तर मेरो काम केन्द्रीत भए हामीसँग अवसर हुनसक्छ। तर म वाचा गर्दिन।'

अरुबेला आक्रामक सुनिने अलमुताइरी आज ‘ग्रास रुट’देखिका कुरा सुधार्नुपर्ने पक्षमा देखिए। हाम्रो स्तर वृद्धिको गति र हाम्रो अपेक्षाको गतिमा तालेमेल नमिलेको उनको तर्क गरे।

'खेलाडीलाई दबाब दिइरहेका छन्। सबैले अर्जेन्टिनसँग मैत्रीपूर्ण खेल खेल्ने भनेर समेत भनिरहेका छन्। हामी साह्रै चाँडो जान चाहिरहेका छौं। अर्जेन्टिनासँगको कुरा फरक हो, यसकै एसिया कपसँग कुनै सम्बन्ध नै छैन। म यथार्थको कुरा गरिरहेको छु। म चाहन्न कसैले खेलाडीलाई दबाब दियोस्,' उनले भने।

केहीदिन अघि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले अर्जेन्टिनी राजदुत ह्युगो जेभियर गोब्बीलाई भेटेर मैत्रीपूर्ण फुटबलबारे प्रस्ताव गरेको समाचारहरु बाहिर आएको थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell