PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

केजीएफको 'सुनामी'कै बिच ए मेरो हजुरलाई पनि दर्शकको साथ, दोस्रो दिन घटेन शो, हाउसफूल कायमै



लक्ष्मी बलायर

केजीएफको 'सुनामी'कै बिच ए मेरो हजुरलाई पनि दर्शकको साथ, दोस्रो दिन घटेन शो, हाउसफूल कायमै

काठमाडौं : दक्षिण भारतीय फिल्म केजीएफ २ को सुनामीकै बिच पनि झरना थापा निर्देशित 'ए मेरो हजुर ४' ले दर्शकको साथ पाइरहेको छ। केजीएफकै कारण शाहिद कपुरको लिड रोल रहेको बलिउड फिल्म 'जर्सी'को रिलिज ड्रप हुँदा पनि नेपाली फिल्म ए मेरो हजुर ४ का निर्माता/निर्देशकले जोखिम मोल्न तयार भए, रिलिजबाट पछि हटेनन्। केजीएफले नेपालमा पहिलो पटक मध्यरातसम्मको सो चलाउँदा पनि नेपाली फिल्ममा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ। 

रिलिजको एक हप्ता अगाडि देखि केजीएफसँगै ए मेरो हजाुर ४ को अग्रिम टिकट बिक्री खुलेको थियो। केजीएफ को सिक्वेलले नेपाली सिनेमा हलमा उच्च शो पाउँदा नेपाली फिल्मको सिक्वेल ए मेरो हजुर ले न्यून शो पायो। बुकिङ र टिकेट बिक्रीमा पनि नेपाली फिल्म पछाडि नै रहेको थियो।

'केजीएफ २' को मारमा परे पनि ए मेरो हजुरले जति शो पाएको छ तिनमा दर्शक हाउसफूल रहेका छन्। नेपाली फिल्ममा दर्शकको संख्या उत्साहजनक रहेको हल सञ्चालकहरूको भनाई छ।

बागदरबारस्थित सीटीसी मलमा रहेको ‘सीडीसी सिनेमाज' फिल्म 'ए मेरो हजुर ४' लाई पहिलो दिन २ शो दिएको थियो। दुवै शोमा दर्शकको राम्रो साथ पाएको सीडीसी सिनेमाजका व्यवस्थापक जीवन शाक्यले जानकारी दिए। उनका अनुसार आज पनि 'ए मेरो हजुर ४' लाई दिइएको शो घटाइएको छैन। 

देशकै ठूलो मल्टिप्लेक्स चेन 'क्यूएफएक्स' ले ए मेरो हजुरलाई हिजो देशैभरगरी २६ शो दिएको थियो। फिल्मले ती सबैजसो हलमा दर्शकको रामै साथ पाएको क्यूएफएक्स प्रणाली विभाग प्रमुख रानु विष्टले जानकारी दिइन्। 'हामीले क्यूएफएक्सका प्रत्येक हलमा 'ए मेरो हजुर ४' लाई तीनदेखि चार वटा शो दिएका थियौँ। हिजो सबै शोमा दर्शकको उपस्थिति बाक्लै रह्यो। आज पनि पुरानै शोहरू कायम राखेका छौँ,' उनले भनिन्। नेपाली फिल्ममा दर्शक नगएका भए आजैदेखि ए मेरो हजुरलाई दिएको शो क्यूएफएक्सले खोस्‍न सक्थ्यो। किनकि लामो समय कोभिड १९ का कारण बन्द रहेका थिएटर यतिखेर जबरजस्त जागेका छन्। लगानीकर्ताहरु यतिखेर कसैगरी कोभिड कालमा भोगेको क्षतिलाई पूर्ति गराउने मुडमा छन्। त्यसैले कतिपय सिनेमा हल सञ्चालकले नेपाली फिल्मलाई केजीएफसँग नजुधाउन सुझाएका पनि थिए।  

कमलपोखरीस्थित बिग मुभिजमा पनि ए मेरो हजुर ४ मा दर्शकको उपस्थिति उत्साहजनक छ। प्रदर्शनको पहिलो दिन फिल्मलाई ४ शो दिइएको र सम्पूर्ण शो हाउसफुल भएको बिग मुभिजका म्यानेजर दीपेश शर्माले जानकारी दिए। यसलाई नयाँ वर्षमा नेपाली फिल्म उद्योगका लागि राम्रो संकेत मिलेको टिप्पणी गरे। 

'नेपाली फिल्ममा पनि दर्शकहरूको उपस्थिति राम्रै छ। हिजो ४ शो दिएका थियौँ। सबै हाउसफुल भए। आज पनि फिल्मलाई चार शो नै दिएका छौँ। बिहानदेखि राम्रो भइरहेको छ,' उनले भने।

चाबहिल स्थित एफक्युब सिनेमाजमा पनि यस फिल्ममा दर्शकको उपस्थिति राम्रो रहेको व्यवस्थापक रामहरि कोइरालाले जानकारी दिए। एफक्युबले हिजो तीन शो उपलब्ध गराएको थियो जसलाई आज पनि निरन्तरता दिएको छ।

त्यसैगरि, नन-मल्टिप्लेक्स अष्टनारायण, गोपिकृष्ण, गुण सिनेमाजस्ता थियटरहरूमा पनि दर्शकहरूको संख्या राम्रै रहेको छ। ए मेरो हजुर ४ मा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell