हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चैत मसान्तभित्र अनिवार्य रुपमा बुझाउन आग्रह गरे पनि ४९ थान मध्ये ४ जनाले मात्र हतियार बुझाएका छन्।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मकवानपुर प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरेको थियो। तर, चारजनाले मात्र हतियार बुझाएका हुन्।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले चारजनाले मात्र प्रहरी कार्यलयमा हतियार बुझाएको बताए।
जिल्ला प्रशासन कार्यलय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले हतियार नबुझाउनेहरुको विषयमा सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिने बताए। उनले जिल्लामा ४९ थान हातहतियार दर्ता भएकोमा उक्त हतियारहरु ३८ जना व्यक्ति र संस्थाहरुको नाममा रहेको बताए।