
पोखरा : पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वार छान्न नेकपा (एमाले) पोखरा नगर कमिटीले आज शुक्रवारका लागि तय गरेको आन्तरिक निर्वाचन स्थगित भएको छ।
प्रमुख र उपप्रमुखको लागि ३-३ जनाको नाम पठाउनुपर्नेमा प्रमुखमा १२ र उपप्रमुखमा ११ जना आकांक्षी भएपछि आज जिल्ला पार्टी कार्यालयमा निर्वाचनका लागि तालिका सार्वजनिक गरिएको थियो। तर, एमाले महानगर कमिटीले आन्तरिक निर्वाचन स्थगित गर्दै सबै आकांक्षीको नाम जिल्ला पार्टी कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए।
मंगलवार एमालेको महानगरपालिका कमिटीले पोखराको प्रमुख र उपप्रमुखमा आकांक्षी रहेकाहरुको नाम संकलन गरेको थियो। जसमा प्रमुखमा १२ र उपप्रमुख पदमा ११ जना आकांक्षीले बैठकमा नाम दर्ता गराएका थिए।
प्रमुख पदमा आवेदन दिने १२ जनामा प्रदेश सांसद राजिव पहारी, कृष्णबहादुर थापा, प्राडा विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मिनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा रहेका छन्।
यस्तै, तेजनारायण अधिकारी, सञ्जीव बहादुर कोइराला, देवका पहारी, सुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, जीवन प्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीले उपप्रमुख पदमा आकांक्षा देखाएका थिए।