PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

नौ बजे नै निदाउने शहरलाई रातभर जगमगाउने बनाइदियो जसले…



लक्ष्मी बलायर

नौ बजे नै निदाउने शहरलाई रातभर जगमगाउने बनाइदियो जसले…

काठमाडौं : रातको ८:३० बजे। टिकट काउन्टरमा देखिए मनोज श्रेष्ठ र उनकी पत्नी गीता। ३ घन्टा लामो फिल्म हेर्न उनीहरुका साथमा छोराछोरी पनि थिए। मध्यरातमा फिल्म सकिँदा सिंगो शहर नै मस्त निन्द्रामा तर उनीहरु जाग्नै पर्छ – घर पुग्‍नु जो छ।

मनोज र गीता व्यस्त हुन्छन् दिनभर। त्यसैले मध्यरातसम्मै जागा रहेर फिल्मको रहर पूरा गर्छन् उनीहरु। 'दिउँसोभरि सबै आ-आफ्नो काममा बिजी। हामीहरू धेरैजसो नाइट शो नै हेर्ने गर्छौं। 'पुष्पा' पनि नाइट शो नै हेरेका थियौं,' गीताले सुनाइन्।

केही अघिसम्म पनि कोरोना भाइरसको संक्रमणका कारण प्यारलाइज थिए थिएटर। तर, तिनै सिनेमाघरले यतिखेर भने रातलाई समेत दिनमा परिणत गर्दैछन्। दक्षिण भारतीय फिल्म पुष्पाले संध्याकालीन शो भरिभराउ गरायो। त्यसपछि उतैबाट आएको फिल्म आरआरआरले शहरका थिएटरलाई मध्यरातसम्मै जागा गरायो। केजीएफ २ को रिलिजको पहिलो दिन त थिएटर निदाउनै पाएन। मध्यरातमा फिल्म सकिएन मात्र होइन, सुरु पनि भयो। राति १ बजेबाटै फिल्म लाग्यो।   

+++

दक्षिण भारतीय फिल्म पुष्पा होस् या 'आरआरआर' अथवा केजीएफ नै किन नहोस्, रिलिज भएदेखि नेपाली सिनेमा हलमा दबदबा कायमै रह्यो। बिहानदेखि मध्यरातसम्मका शो हाउसफुल चलिरहेका छन्। त्यसैले राति १ बजे नै फिल्म चलाइदियो चावहिलस्थित एफक्युब सिनेमाले। रात्रिकालीन शोमा दर्शक भरिभराउ रहेको हलका व्यवस्थापक रामहरि कोइरालाले जानकारी दिए।

'फिल्म 'आरआरआर' को रिलिज भएलगत्तै हामीले राति ९:४५ सम्मको शो राखेका थियौं। जसमा दर्शकहरूको संख्या उत्साहजनक थियो,' कोइरालाले भने। त्यो क्रेज केजीएफसम्म आइपुग्दा झन् बढ्यो। फिल्मको शो मात्र होइन, 'शो आवर' नै थपियो मध्यरातलाई उज्यालो बनाउनेगरी।

कमलादीमा रहेको राइजिङ मलमा रहेको क्युज सिनेमाजको कथा पनि  फरक छैन। आरआरआर फिल्म आएसँगै मध्यरातसम्मको शो हाउसफुल भयो। क्युज सिनेमाजका सञ्चालक सुमित मैनालीले केजीएफमा पनि त्यसभन्दा बढी प्रभाव रहेको जानकारी दिए।

सुन्धाराको सिभिल मलमा रहेको क्युएफएक्स सिनेमाजमा पनि ‘आरआरआर’मा जस्तै केजीएफ रिलज भएकै दिनदेखि रात्रिकालीन शो राख्यो। 'खासगरि राम्रो फिल्ममा नाइट शोहरू हुनेगर्छ। आरआरआर रिलिज भएको पहिलो दिनदेखि नै हामीले नाइट शोहरू राखेका हौं। राति १० बजेसम्मको शोसम्म पनि दर्शकहरू उपस्थिति उत्साहजनक हुने गर्छ,' हलका व्यवस्थापक सुशील मानन्धरले भने।

सिभिल मलबाट २ सय मिटर दुरीमा छ सीटीसी मल। त्यहाँ रहेको 'सीडीसी सिनेमाज'मा पनि रात जागै हुन थालेको छ। राम्रो फिल्ममा नाइट शो राखिने हलका व्यवस्थापक जीवन शाक्यले सुनाए। क्युएफएक्सका धेरैजसो हलहरूमा पनि रात्रिकालिन शोहरू भइरहेको छ। बिग मुभिज, वान सिनेमाज लगायतका हलहरूमा पनि नाइट शो सञ्चालन गरिरहेका छन्।

+++

विकसित देशहरूमा सधैँ रात्रिकालीन शो अनौठो नभए पनि नेपालका सन्दर्भमा भने नौलो सुनिन्छ। त्यसो त मध्यरातसम्मका सोमा व्यवसायिक घरानाका सदस्यमात्र देखिन्थे कुनै बेला। तर यसपाला भने फरक ट्रेन्ड देखिएको छ। कोभिड १९ ले थिएटर बन्द हुँदा रोकिएका फिल्महरु एकएक गरी रिलिज हुन थालेका छन्। जसले फिल्म उद्योगलाई एकाएक 'भाइब्रेन्ट' बनाइदिएको छ। त्यसको असर बहुप्रतिक्षित फिल्मका लागि मानिसहरु दिन या रात भनेर कुरिरहेका छैनन्। छिटो हेर्ने होडबाजीले राति १ बजेसमेत फिल्म चल्यो पहिलो पटक।

मेट्रोपोलिटिन सिटीको एउटा नेचर नै हो – रातभर जाग्नु। अर्थतन्त्रलाई चलायमान बनाउँछ यसले। कोभिड संक्रमण थामिँदै जाँदा सरकारले पनि लगाएका प्रतिबन्धहरु फुकाउँदै लग्यो। रात्रिकालीन रेष्टुराँहरुलाई पूर्ण रुपमा खुलाउन अनुमति मिल्यो। अनुमति मिले पनि रात्रिकालीन व्यवसायले खासै गति लिन सकेन। तर, रेष्टुराँ, पव र डिस्को थेकमा नदेखिएको प्रवृत्ति सिनेमाघरमा देखियो। यसपाला एकपछि अर्को बहुप्रतिक्षित फिल्म रिलिज हुँदा थिएटर गुलजार बन्यो अरु क्षेत्रको तुलनामा। त्यसो त नेपालमा यसरी मध्यरातलाई नै ब्युँझाउने गरी नाइट शो बेलाबेला हुने गरेको सुनाउँछन् सुमित मैनाली। ब्लकबस्टर मुभी आउँदा नाइट शो हुने गरेको सम्झन्छन् उनी। 'फिल्म 'पिके' को बेला पनि नाइट शोहरू हाउसफुल भएका थिए,' उनले सुनाए। उनीजस्तै सुनिन्छन् रामहरि कोइराला पनि। राम्रा सिनेमा रिलिज हुँदा रात्रि शो जगमगाउने कोइरालाले बताए।

'नाइट शो कल्चर नौलो होइन। यसअघि पनि सलमान खान, साहरूख खानका फिल्महरू र एभेन्जर्सका सिरिजहरूमा नाइट शो राखिन्थ्यो। हाउसफुल हुन्थ्यो पनि। पहिले विशेषगरि शनिवार बिदा हुने भएकाले धेरैजसो शुक्रवारको शो यसैगरी चल्थे,' कोइरालाले सुनाए।

आक्कल झुक्कल शुक्रवार र शनिवार मध्यरातसम्म जागा रहने थिएटर सञ्चालक र त्यसका कर्मचारी पछिल्ला तीन सातामा मध्यरातसम्मै जागा हुन बाध्य छन्। त्यो बाध्यतामा खुशी छ। रित्ता सिनेमाघर मध्‍यरातसम्मै जगमगाउनुको अर्थ – हल बन्द भएर तलब कटौती वा रोजगारी गुमाउने उनीहरु सबैले बुझ्न सक्छन्।

ठूलो शहर भए पनि काठमाडौंका लागि सक्सेस स्टोरी बन्न पाएन रात्रिकालीन जीवन। २४ घन्टे दुकान खुले पनि टिक्न सकेन यो शहरमा। शुक्रवार साँझदेखि रेस्टुराँहरु झुम्छन् तर भोलिपल्टको साँझ ती सुनसान बन्न पुग्छन्। रात्रिकालीन संस्कारबाट नेपालीहरु अझै टाढा छन्। तर, एकाएक रात जाग्न थालेको छ फिल्म हलमा। रात्रिकालीन सिनेमा हेर्ने दर्शक चाहिँ कस्ता हुन्छन् त?

'खासगरि नाइट शोमा उच्च वर्गीय दर्शक नै बढी हुन्छन्। दिउँसभरि व्यस्त हुने परिवार र साथीहरू नाइट शो हेर्न पुग्छन्। धेरैजसो सवारी साधन हुने नै हुन्छन,' कोइरालाले जे देखेका छन्, त्यही व्याख्या गरे।

स्वभाविक हो ९ बजेपछि मुलुकको सबैभन्दा सक्रिय र ठूलो शहर सुनसान हुन्छ। सडकमा सार्वजनिक गाडी अलप हुन्छन्। घरका बत्तीहरु निभ्न थाल्छन्। सडक बत्तीसमेत अस्ताउने शहरमा रात्रि जीवनमा सक्रिय हुन जो कसैको वसको विषय हुँदैन। त्यसैले मध्यमवर्ग भन्दा माथिका मानिसकै बाहुल्यता हुन्छ सिनेमा हलमा। पछिल्ला समयमा ठूला लगानी शहरमा खडा भएका मल्टिप्लेक्सको नम्बरले नै भन्छ – काठमाडौं अब जागै रहन चाहन्छ, नौ बजे नै निदाउने होइन।

सिनेमाबाट नै किन सुरुवात नहोस्, रात्रि जीवन बुलन्द हुँदा महानगरले महानगरको पहिचान पाउनसक्छ। साँझमै निदाउने शहरलाई मेट्रोपोलिटिन सिटी भन्नुपर्ने बाध्यता आफैँमा उदेकलाग्दो विषय हो जसबाट मुक्ति खोज्नु स्वभाविक हो शहरले। त्यसैले २४ घन्टा फिल्म चल्नुपर्ने ठान्छन् कोइराला। 'यसरी शो हुँदा अरु रात्रिकालीन व्यवसाय पनि खुल्छन्। देशको अर्थतन्त्र बलियो बनाउँछ त्यसले,' उनले भने। तर, रात्रिकालीन अरु व्यवसाय र थिएटरलाई नै २४ घन्टा खुल्न सक्ने बनाउन तयार छन् हाम्रा नियामक निकायहरु?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell