PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

एक पूर्व लाहुरेको वातावरण चेत 'ब्लु प्लानेट' : प्रकृतिको पक्षमा लेखिरहेछन् विजय हितान



भावना शर्मा

एक पूर्व लाहुरेको वातावरण चेत 'ब्लु प्लानेट' : प्रकृतिको पक्षमा लेखिरहेछन् विजय हितान

गुल्मीको पहाडबाट रुपन्देही झर्दा विजय हितान १० वर्षका मात्र थिए। विजयका बुवा जयबहादुर भूमिसुधारका सुब्बा। सरुवा भएर भैरहवा पोस्टिङ भएपछि उनी परिवारै लिएर तराई झरे। सन्तानलाई सुगम ठाउँमा त ल्याए तर गरिवीबाट माथि उकास्न भने सकेनन्। जब सुब्बा जयबहादुरले २०३६ सालमा भूमिसुधारको जागिर छोडेर नेपाली कांग्रेसको राजनीतिमा होमिए, स्कुल पढिरहेका तीन भाइ छोराहरुको स्कुलको शुल्कसमेत तिर्न हम्मेहम्मे हुनथाल्यो।

बुटवलमा बुवाले जोडेको एक टुक्रा जमीन पनि राजनीतिले सक्ला भन्ने त्रासमा हुर्कियो हितान परिवार। जयबहादुर कांग्रेसको राजनीतिमा जमे पनि छोराहरु टायरको चप्पल लगाएर स्कुल जान्थे। त्यही चप्पल पनि पटकपटक टाल्नुपर्थ्यो उनीहरुले। डेरामा बस्ने उनीहरुको आर्थिक अवस्था निकै नाजुक। गरिवीको राम्रै अनुभव गरेका विजयलाई लाहुरे हुनु थियो जसरी उनका हजुरबुवा भएका थिए। तर, बुवा जयबहादुर भने गोर्खा भर्ती बन्द गर्नुपर्छ भन्दै भाषण गर्दै हिँड्थे। १० कक्षा पास गरेपछि विजय साथीहरुसँग लुकीलुकी लाहुरेका लागि फिट हुन तालिममा जान थाले। भिजाएका काँचो चना चपाउँदै लाहुरे बन्न पसिना काढिरहेका विजयको सपना पूरा हुनु उनका बुवाको नाकमा मुक्का बजारिनुसरह थियो। तर, गरिवीले चेपिएको परिवारलाई उकास्न अरु कुनै बाटो देखेनन् उनले। आमालाई खुसुक्क भनेकै थिए; गल्लावालको साथ लागेर पोखरा पुगेको चाहिँ बुवाले चालै पाएनन्।

पोखरामा विजय लाहुरेमा छानिए। १८ वर्षमा हङकङको लाहुरे बनेका छोरालाई भेट्न आमा र भाइ पोखरा पुगे। भएको एउटा टुक्रो जमीन पनि जयबहादुरले राजनीतिमै सकाउलान् र आफ्नो भनेर टेक्ने ठाउँ कतै पनि नरहला भनेर सँधै चिन्तित हुने आमालाई छोरो लाहुरे हुनु संसारै जितेजस्तो खुशीको कुरो थियो।

तर, पोखरामा हङकङको लाहुरेमा भर्ती भएपछि बुवालाई खबर सुनाउन विजयले लेखेको चिठीको जवाफ भने कहिल्यै आएन। आओस् पनि कसरी? बुवाको सिद्धान्त लत्याउँदै उनले लाहुरे हुने बाटो जो रोजेका थिए।

‌+++

सानैदेखि कविता लेख्‍ने विजय हङकङ पुगेपछि लाहुरेको कडा ट्रेनिङमा परे। लाहुरे बन्ने काम कमलो मनको मान्छे नै रहिरहनु जस्तो सामान्य थिएन। शरीरले कठोर बन्न सिकिरहे पनि उनको मन भने उस्तै नै रहन चाहन्थ्यो। पहिले पहिले नोटबुकमा प्रेमका कविता कोर्ने उनले लाहुरे भएसँगै युद्धका कविता कोर्न थाले। जे होस् उनको मन लेख्‍न र प्रकृतिसँग नजिक रहिरहन चाहन्थ्यो तर हातमा भने बन्दुक। बडो बिरोधाभाषपूर्ण समय बिताइरहेका थिए उनी। हङकङका समुद्रहरु देख्दा विजय सोच्थे - किन यो समुद्रको पानी धमिलिँदै गएको होला? ठूला शहरहरुको चकाचौंध हेरिरहँदा पनि हावा किन यति तातो?

१० वर्ष हङकङको पल्टनमा बिताएपछि उनले सन् १९९७ मा स्वेच्छिक अवकाश लिए। हङकङ बेलायतले चीनलाई हस्तान्तरण गरेको समय थियो त्यो जसबेला धेरै लाहुरेहरु कटौतीमा परे। विजयले पनि त्यसै समय पल्टन छाडे। अबको बाटो के होला? सोच्न थाले उनी। थप काम गर्ने वा पढ्ने रहर पूरा गर्ने भन्ने दोबाटोमा उभिएका विजयलाई युनिभर्सिटीले तान्यो। उनी हङकङको ओपन युनिभर्सिटी भर्ना भए र मेकानिकल इन्जिनियरिङ ज्वाइन गरे। कलेज सकेपछि केही समय उनले सिभिल सर्भेन्टका रुपमा हङकङमै काम पनि गरे। सन् २००८ मा उनी बेलायत गए र त्यतै बसे। उनले बेलायतको युनिभर्सिटी अफ ग्रिनवीचबाट 'इन्भायरमेन्टल स्पेसलिस्ट प्रोग्राम'मा मास्टर्स गरेका छन्। खासमा विजयको रुची सँधै प्रकृति र वातावरण सन्निकट नै थियो। त्यसैले उच्च शिक्षामा वातावरण विषय रोजेर उनले आफूभित्रको कमलो मान्छेलाई पनि जोगाइराखे।

हङकङबाट बेलायत पुगेर वातावरण पढ्दै र वातावरणकै क्षेत्रमा काम गर्दा उनले नेपालमा भने नयाँ परिचय बनाएका छन्। विजय नेपालमा पर्यावरण साहित्यमा कलम चलाउने थोरै लेखकहरुमध्ये पर्छन् जो कथा कवितामार्फत् निरन्तर संरक्षणबारे चेतना जगाइरहेका छन्। हालै उनको ब्लु प्लानेट कथा संग्रह सार्वजनिक भएको छ जहाँ प्रकाशित १५ कथाहरुमा उनले विश्वको वातावरण असन्तुलन र प्रकृतिको दोहनबाट पर्यावरणमा गम्भीर असर पुगेको मुद्दालाई उठाएका छन्।

'छङछङ गर्ने झरना र चाँदी झैं टल्कने क्या राम्रा हिमाल भनेर धेरै गीत लेखिए। अब सुक्दै गरेका झरना, पग्लिँदै गरेका हिमाल, लोपोन्मुख हिउँ चितुवा, बासस्थान गुमाउँदै गरेको उत्तरी ध्रुवको भालु र एन्टार्टिकाको पेन्गुइनको गीत पनि लेख्‍न जरुरी छ,' विजयले बताए।

विजयलाई लाग्छ युद्धले बिस्थापित बनेका शरणार्थीको कहानी जति करुण हुन्छ उस्तै नै हुन्छ जथाभावी बस्ती बसाउँदा बासस्थान गुमाएका वन्यजन्तुका पनि। 'कसैले आगोले घर जलाएर घरवारबिहीन भएका मानिसको गाथा लेख्छ भने कसैले त वन डढेलो लागेर वासबिहीन बनेका पशुपंक्षीको बारेमा पनि लेखौं!' उनले अनुरोधको शैलीमा सुनाए।

+++

बेलायतको वातावरण विभागमा वातावरण संरक्षणका लागि "पुलिस"को जस्तो निगरानीमूलक भूमिकामा काम गरिरहेका विजय यतिबेला काठमाडौंका सडक नापिरहेका छन्। पर्यावरणबारे लेखिएका किताबहरु बोक्दै शहर डुलिरहेका उनी यो शहरलाई सफा राख्‍ने धेरै टिप्स सुनाउँछन्। उनको बुझाइमा - कम्तीमा एक व्यक्तिले आफ्नो तर्फबाट अनुशासनको पालना गर्ने हो भने शहर सफा देखिनसक्छ। हरेक घरबाट निस्किने फोहोरहरु प्रशोधन नगरी त बाहिर निकाल्नै हुन्न भन्छन् उनी।

'बेलायतमा पनि फोहोर हुन्छ तर त्यो फोहोरलाई कसरी बातावरण नबिगारी बिसर्जन गर्ने भन्नेमा सचेत प्रणाली बनिसकेको छ। यहाँ पनि हामी आफैं सचेत हुनुपर्छ। अहिले त हामी घरबाट निकालेर फोहोरका पोकाहरु कि सडकमा कि लगेर फ्यात्त खोलामा फाल्छौं। वाग्मतीमा सोझै ढल मिसाइन्छ। त्यो त वातावरणमाथिको गम्भीर अपराध हो,' उनले भने।

काठमाडौं सुन्दर बनाउन के गर्न सकिन्छ?

'सबैभन्दा पहिले त हामीले चलाउने सरसामानको प्रयोगलाई नै मिनिमाइज गर्नुपर्छ। हामीले कम्ती सामानबाटै दैनिकी चलाउन प्रयास गरौं। सामानहरु पनि यस्तो प्रयोग गरौं जसलाई फेरि प्रयोग गर्न सकियोस्,' विजयले सुझाए, 'व्यक्तिगत रुपमा एउटा मानिसले कम फोहोर उत्पादन गर्न सक्छ। हामी आफैंले घरभित्रको फोहोर घरको बाहिर ल्याएर वा नजिकै कुनै खोलामा लगेर फाल्न बन्द गरौं।'

ब्यक्तिपछि सरकारी निकायको कुरा गर्छन् उनी। उनका अनुसार एउटा घरबाट फोहोर फालेबापत लिने करले त्यो फोहोरको व्यवस्थापनको राम्रो संचरना बनाउनु सरकारको जिम्मेवारी हो। सिठी फुक्दै आउने र बाटोमा लगेर फोहोर थुपारिदिने गलत अभ्यास भइरहेको उनी बताउँछन्। उनका अनुसार नियामक निकाय र फोहोर उठाउने संयन्त्रले साताको एकपटक प्रत्येक घरमै पुगेर फोहोरबाट रिसाइकल मेटेरियल छुट्याउने अनि सुरक्षित बिसर्जनका लागि संरचना तयार पारिदिनुपर्छ।

'यहाँ त के भइरहेको छ भने फोहोरको पोका सडकभरी हप्तौं छरेर राखिन्छ। अनि हरेक घरका ट्वाइलेट पनि सिधै वाग्मतीमा। ढलको व्यवस्थापन पनि राम्रोसँग हुन सकेको छैन जब कि ढललाई नालाबाट खोलामा बगाउने हुँदै होइन,' उनले भने, 'ढललाई त जसरी घरमा पानी पठाइन्छ उसैगरी प्रशोधन गरी सही मात्रामा अक्सिजन लेभल र केमिकलरहित बनाएरमात्र खोला दुषित नहुनेगरी पानीकै रुपमा खोलामा फाल्नुपर्छ।'

विजयलाई लाग्छ काठमाडौं कुनै पनि स्वरुपले 'मेट्रोपोलिटन सिटी' होइन। किनभने विश्वका मेट्रोपोलिटन सिटीहरु काठमाडौं जस्तो हुँदैनन्।

'विदेशमा त मेट्रोपोलिटन शब्दको अर्कै इम्प्रेसन पर्छ। टोकियो, लण्डन, न्युयोर्क जस्तो परिकल्पना गर्न थाल्छन् मेट्रोपोलिटन सिटी भन्नासाथ। बरु अंग्रेजीमा पनि महानगर नै भनौं। तर मेट्रोपोलिटनमा हुने न्यूनतम मापदण्ड समेत नभएको शहरलाई मेट्रोपोलिटन नभनौं,' उनले सुझावसँगै प्रश्न राखे, 'सफाइको सामान्य काम र अनुशासन पनि पालना नभएको शहरलाई किन मेट्रोपोलिटन भनेर इज्जत फाल्ने?'

यस्तै विषय नै उनले साहित्यमार्फत् पोख्‍ने गर्छन्।

+++

विजय लाहुरे जीवन भाग्यवश पाएको भन्छन्। अनि कुनै लडाईमा नपरी लाहुरे जीवनबाट फर्किनु र बाँकी समय वातावरणसँग जोडिनुलाई सौभाग्यका रुपमा लिन्छन्। इराक युद्धका बेला लड्नका लागि तम्तयार भएर बसे पनि लडाईमा जान परेन। कठोर लाहुरेको जिन्दगीपछि अहिले आफ्नो जीवनलाई पिंजडाबाट निस्किएर आकाशमा उडिरहेको स्वतन्त्र चरासँग उनी तुलना गरिरहन्छन्।

१८ वर्षे उमेरमा लाहुरे, २८ वर्षमा लाहुरे जीवनबाट रिटायर्ड अनि ३० वर्षपछि उच्च शिक्षाको बाटो समाएका विजय बाँकी समय वातावरण संरक्षणकै लागि खर्च गर्न चाहिरहेका छन्।

'नेपालमा मेरो एक्सपर्टिज काम लाग्ला कि भनेर धेरै प्रयास गरेँ। वातावरण व्यवस्थापन गर्ने एप्स र सिस्टमहरु मैले यहाँ पनि बनाउन सक्छु भनेर वातावरण विभागमा गएँ। निर्देशकलाई भेटेर प्रपोजल पठाएँ। चिठी पनि लेखेँ,' उनले सुनाए, 'तर कतैबाट पनि चासो देखाउने जाँगर चलाएनन्। मेरो पत्र कता पुग्यो थाहा भएन।' नेपालमा वातावरण संरक्षणका लागि काम गर्ने उनको रहर अझै मरिसकेको चाहिँ छैन।

उनको उडान कहिले नेपाल त कहिले बेलायततिरै भइरहेको छ। दुई छोराप्रतिको जिम्मेवारी पूरा गरेपछि भने उनी पूरै नेपाली माटोमै भिजेर साहित्य सिर्जनामा बिताउन चाहन्छन्। अब लाहुरे जीवनका सम्झनाहरु समेटेर उनले लेख्‍ने किताब 'युद्ध उपन्यास' हुनेछ जसको तयारी गरिरहेका छन्।

उनले थालेको 'इको राइटिङ' नयाँ पुस्ताका लागि उपयोगी हुन्छ भन्ने ठानेका छन्। उनलाई सबैभन्दा मनपर्ने किताब साइलेन्ट स्प्रिङ उपन्यास हो। उपन्यास खेतबारीमा प्रयोग हुने विषादीले पर्यावरणलाई कसरी बिगारिरहेको छ भन्ने विषयमा आधारित छ। 'त्यस किताबको इको राइटिङ एण्ड क्रिटिसिज्म भन्ने च्याप्टरबाटै म इको राइटिङमा लागेको मान्छे। त्यही किताबलाई मैले गुरु मानेर पर्या लेखन अघि बढाएको हुँ,' उनले सुनाए। डा. गोविन्दराज भट्टराइको 'उत्तर आधुनिक विमर्श' भन्ने सिद्धान्तको ग्रन्थलाई त उनी गीताजस्तै मान्छन्।

बायो डाइभर्सिटीबारे युनिभर्सिटीमा पढेका विजयलाई आफ्नो जीवन पनि उस्तै जैविक विविधताले भरिएको जस्तो लाग्छ। पहाडमा जन्मिएर, मधेशमा हुर्किएर लाहुरे भएर फेरि बन्दुक बिसाएर कलम समाउनु अनि बेलायतको ठूलो शहरमा वातावरण संरक्षणका क्षेत्रमा काम गर्नु। कहिलेकाहीँ उनलाई लाग्छ जीवनका सबै आयामहरु भोगिसकेँ। तर पनि केही सपना र हुटहुटीले लखेटिरहेको छ विजयलाई। आफूलाई बेल्पाली अर्थात् बेलायतको नेपाली भन्न रुचाउँछन् उनी।

आफ्ना सपनाहरु सुनाउँदै गर्दा विजय भावुक हुन्छन्। 'मानिसको आयु जम्माजम्मी १०० वर्ष। हामीले भोगेको जिन्दगी र कमाएको सम्पत्ति त सबै नासिएरै जाने हो ढिलो वा चाँडो,' उनले सुनाए, 'तर, सिर्जना भने सँधै यही रहन्छ। हाम्रा विचारहरु, हाम्रा अक्षरहरु त कहिल्यै मर्दैन नि! किताबले मानिसलाई सँधैका लागि अमर बनाउँछ भन्छन्। म पनि प्रकृतिको पक्षमा मैले लेखेका कृतिहरुसँगै सयौं वर्ष बाँचिरहन चाहन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell